News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको छिन्तापु–ठुलीटार क्षेत्र वसन्त याममा रङ्गीचङ्गी गुराँसले भरिन्छ र वनक्षेत्रको रुप फेरिन्छ।
- छिन्तापु–ठुलीटार क्षेत्र जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण छ र रेडपाण्डा, चराचुरुङ्गी, जडीबुटी पाइन्छ।
- सडक, बसोबास र सूचना प्रणाली अभावले छिन्तापु–ठुलीटार क्षेत्रको पर्यटकीय सम्भावना सीमित भएको छ।
पाँचथर । पाँचथरको उकालो चढ्दै छिन्तापुको डाँडामा पुग्नेबित्तिकै अहिले लोभलाग्दो दृष्यावलोकन गर्न पाइन्छ– जंगलैभरी रङ्गीचङ्गी गुराँस । तलतिर हेर्दा हरियो वनभित्र रातो, सेतो, निलो र गुलाबी रंग छरेजस्तो । मध्यान्नको घामसँगै कहिलेकाहीँ चल्ने तेज हावाले गुराँसका बोट हल्लाउँदा त्यो दृश्य झनै मनमोहक लाग्छ ।
कहिले कुहिरोले डाँडालाई ढाक्छ, कहिले अचानक पन्छिन्छ । स्थानीय उक्ति छ, ‘इलामबाट आउने कुहिरो पाँचथरको हावाले उडाउँछ ।’ यो उक्ति यहाँ आइपुगेपछि मात्र पूर्ण अर्थमा महसुस हुन्छ ।
छिन्तापुको टाकुराबाट तलतिर आफ्नै पुरानो गोठतिर औंला देखाउँदै स्थानीय अनिल नेम्बाङ मुस्कुराउँछन्, ‘मेरो गोठलाई गुराँसले घेरेछ ।’ उनी थप्छन्, ‘गुराँस फुल्ने बेला त हाम्रो ठाउँ नै अर्कै देखिन्छ—रङ्गीचङ्गी, रमाइलो ।’
वास्तवमै, छिन्तापु–ठुलीटार क्षेत्र गुराँसको प्राकृतिक उद्यान हो । कति प्रजातिका गुराँस छन् भन्ने औपचारिक अध्ययन नभए पनि स्थानीयहरूका अनुसार यहाँ थुप्रै रङ् र आकारका गुराँस पाइन्छन् । वसन्त याम लागेसँगै यी गुराँस फुल्दा वनक्षेत्रको रुप फेरिन्छ ।
माझौलेमा होमस्टे सञ्चालन गरिरहेका नेम्बाङका अनुसार यो क्षेत्र हरेक मौसममा फरक–फरक देखिन्छ । उनी भन्छन्, ‘बर्खामा हरियाली वन, असोजपछि सेता हिमाल अनि अहिले रङ्गीचङ्गी गुराँस आकर्षक हुन्छ ।’

छिन्तापु–ठुलीटार केवल गुराँसका लागि मात्र होइन, जैविक विविधताका दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र हो । दुर्लभ वन्यजन्तु रेडपाण्डा यहाँ पाइन्छन् । चराचुरुङ्गी, जडीबुटी र वनस्पतिको विविधता यस क्षेत्रको अर्को आकर्षण हो ।
यस भेगका भुसपाते, मझौले, ठुलीटार, छिन्तापु, होमडाँडा, गोरुवाले, देउराली र परेवा ढुङ्गाजस्ता स्थलहरू घुमन्तेहरूका लागि विशेष गन्तव्य हुन् । पैवाभञ्ज्याङबाट पदयात्रा सुरु गरेर छिन्तापु हुँदै सन्दकपुर र चारराते तीन सिमानासम्म पुग्न सकिन्छ । यो मार्ग प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको संगम हो ।
यति धेरै सम्भावना हुँदाहुँदै पनि छिन्तापु–ठुलीटार अझै ओझेलमा छ । स्थानीय दिपक दुलाल भन्छन्, ‘धेरै पटक यो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रयास भए, तर ठोस परिणाम आएको छैन ।’ सडक, बसोबास र सूचना प्रणालीजस्ता आधारभूत पूर्वाधारको अभावले सम्भावना सीमित भएको उनी बताउँछन् ।
यातायातका हिसाबले भने यो क्षेत्र त्यति टाढा छैन । पाँचथरको सदरमुकाम फिदिमबाट करिब डेढ घण्टामा ठुलीटार पुग्न सकिन्छ भने इलाम बजारबाट गोरुवाले पुग्न झण्डै दुई घण्टा लाग्छ ।
प्रकृतिले उदार भएर दिएको सौन्दर्य, मौसमअनुसार बदलिने दृश्य र जैविक विविधताको धनी छिन्तापु–ठुलीटार क्षेत्र अझै बढी प्रचारप्रसारको प्रतीक्षामा छ ।

















प्रतिक्रिया 4