२५ चैत, काठमाडौं । बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशसभाका सभामुख पद भुवनकुमार पाठकले जेनजी आन्दोलन लगत्तै गत असोज १ गते पदबाट राजीनामा दिएपछि रिक्त छ ।
रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दलले दाबी गरेका छन् । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठकमा सभामुखमा आ–आफ्नो दलले पाउनुपर्ने दाबी गरेका हुन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने दाबी गर्नु स्वाभाविक भएको कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए ।
‘नेकपा एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले सत्तारुढ दलको बीचमा सहमति कायम गरेर अघि बढ्न चाहिरहेका छौं’, उनले भने, ‘ठूलो दलको नाताले कांग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हाम्रो अडान छ ।’
तर सत्तारुढ दलबीच सहमति गरेर अघि बढ्ने कुरामा हामी एक ढिक्का रहेको उनले बताए ।
यता अर्को सत्तारुढ दल नेकपा एमालेले कांग्रेसको मुख्यमन्त्री भएकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै त्यसमा दुई दलबीच कुनै विवाद नरहेको बताए ।
सरकार र सदनबीच सन्तुलन कायम राख्न प्रमुख प्रतिपक्ष दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता शालिकराम जम्कट्टेलले बताए ।
सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै नेता जम्कट्टेलले सत्तापक्षबीच सहमति नभए आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने बताए ।
‘हामीले सत्तारुढ दललाई तपाईँहरू सरकार चलाउनुस्, सदनको नेतृत्व हामीलाई दिनुस् भनिरहेका छौं’, उनले भने ।
शक्ति सन्तुलनका लागि प्रतिपक्षको दाबी स्वाभाविक भएको उनले बताए । उनले अगाडि भने, ‘यसले एउटा राम्रो सन्देश जान्छ । सत्तारुढ दलबीच कुरा मिल्यो भन्ने ठिकै छ, नत्र हामीले उम्मेदवारी दिन्छौं ।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि सभामुखमा दाबी गरेको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्ना पार्टीबाट सभामुख हुनुभएका पाठकले राजीनामा दिएकाले पुन: सभामुख आफ्नो दलले पाउनुपर्ने बताए ।
हिजोदेखि सुरु भएको बागमती प्रदेशसभाको १७ औं अधिवेशनमा सभामुख चयन प्रक्रिया सुरु भएको छ । सभामुख चयन प्रक्रिया सुरु भएसँगै १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसको ३५, एमालेका २५, नेकपाको २६, राप्रपाको १३, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । –रासस
प्रतिक्रिया 4