News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभा सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका ६ मध्ये दुई जना मात्र निर्वाचित भएका छन्।
- नेकपाका युवराज दुलाल सिन्धुपाल्चोक–२ र रास्वपाका सुनिल केसी काठमाडौं–२ बाट प्रतिनिधिसभा निर्वाचन जितेका छन्।
- एमालेका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र नेकपाका वसन्तप्रसाद मानन्धर पराजित भएका छन्।
२५ फागुन, हेटौँडा । बागमती प्रदेशसभा सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका दुई जनाले मात्रै जितेका छन् । यस पटकको निर्वाचनमा बागमतीकाे प्रदेश सांसदबाट राजीनामा दिए ६ जना प्रतिनिधिसभा निर्वाचनमा लडेका थिए ।
जसमध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनिल केसी निर्वाचित भएका छन् । दुलाल सिन्धुपाल्चोक–२ र केसी काठमाडौं–२ बाट निर्वाचित भएका हुन् ।
दुलालले यस पटक २१ हजार ६९९ मत ल्याएका प्रतिनिधिसभा निर्वाचन जितेका छन् । उनी २०७४ र २०७९ मा सिन्धुपाल्चोक २ (१)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्री भइसकेका छन् ।
केसीले २०७९ को प्रदेशसभा निर्वाचनमा काठमाडौं–२(१)मा राप्रपाबाट प्रदेश सांसद जितेका थिए । यस पटक राजीनामा दिँदै दल बदलेर रास्वपाबाट चुनाव लडेका केसीले ३४ हजार २३८ मत पाएर जित निकाले ।
बागमतीको प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका अन्य तीन जना पराजित हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले टिकट नै पाएनन् ।
पराजित हुनेमा नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ तथा नेकपाका वसन्तप्रसाद मानन्धर छन् । यी तीनै जना बागमती प्रदेश सरकारमा मन्त्री भइसकेका नेता हुन् ।
मास्के एमालेबाट काठमाडौं–६ मा उम्मेदवार थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भए । खनालले २७ हजार ९१६ मतसहित जित निकाल्दा मास्के ४ हजार ५१८ मतसहित तेस्रो भए ।
यस्तै काठमाडौं–७ मा एमालेबाटै चुनाव लडेका अर्का पूर्व प्रदेश सांसद श्रेष्ठ र नेकपाबाट चुनाव लडेका मानन्धर रास्वपाका गणेश पराजुलीसँग पराजित भए । पराजुलीले २७ हजार ८०५ मतसहित जित निकाल्दा तीन हजार ६६७ मतसहित मानन्धर हुँदा तीन हजार ५४४ मत श्रेष्ठ चौथोमा खुम्चिए ।
प्रतिक्रिया 4