+
+
Shares

नेपालमा दूतावास स्थापनाको माग पोर्चुगिज संसदमा पेस हुँदै

पोर्चुगिज संसदको वेबसाइटमा दर्ज भएको ‘नेपालमा स्थायी प्रतिनिधित्व स्थापनाका लागि निवेदन’ शीर्षकमा २१६ जना नेपालीहरुले हस्ताक्षर गरेका छन् । ४००० हस्ताक्षरसहित आएको प्रस्तावउपर सीधै संसदमा छलफल हुन्छ । ७६०० हस्ताक्षर संकलन भए सीधै मन्त्रिपरिषद्‍मा पेस हुने कानूनी प्रावधान छ ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ चैत २६ गते ६:५९
पोर्चुगिज संसदको वेबसाइटमा नेपालमा स्थायी प्रतिनिधि मागको सार्वजनिक माग र पोर्चुगलको विदेश मन्त्रालयले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको नेपालमा कन्सुलर अफिस स्थापनाको प्रतिबद्धता ।

२६ चैत, पोर्चुगल । नेपालमा पोर्चुगिज दूतावास स्थापनाको मागलाई यहाँको संसदमा प्रस्तुत गर्ने गरी नेपाली अभियन्ताहरु सक्रिय भएका छन् ।

अनुमानित ६० हजारभन्दा बढी नेपाली (सरकारी तथ्याङ्कमा करिव ३० हजार) स्थायी र अस्थायी रुपमा बसोवास गर्दै आएको पोर्चुगलको सरकारी प्रतिनिधित्व नेपालमा समेत हुनुपर्ने आवश्यकताका आधारमा यो अभियान सञ्चालन भएको हो । हाल भारतमा रहेको पोर्चुगिज दूतावासबाट नेपालीहरुले झण्झटिलो र आर्थिक रुपमा महंगो सेवा लिनुपर्ने बाध्यता छ ।

नेपालमै पोर्चुगिज राजदूतावास स्थापनाको अभियानमा सक्रिय यहाँका रमेशराज वास्तोलाका अनुसार तीन साताको अवधिमा २१६ जनाको अनलाइन हस्ताक्षर पोर्चुगिज संसदको अधिकारिक वेभसाइटमा दर्ज भएको छ ।

हजारौको संख्यामा यहाँ रहेका नेपालीहरु र उनीहरुको नेपालमा रहेका परिवारले नेपालबाटै सेवा लिन पाउनका लागि अभियान सञ्चालन गरिएको बास्तोला बताउँछन् । यहाँ रहेका नेपालीहरुले आफ्ना परिवार ल्याउनका लागि तथा अन्य कागजपत्रहरु प्रमाणिकरण गर्नका लागि भारत नै जानुपर्ने बाध्यता रहेको छ । ‘नेपालमा राजदूतावास वा महावाणिज्यदूतको कार्यालय स्थापना भएमा नेपालीहरुलाई सतप्रतिशत राहत मिल्छ’, बास्तोला भन्छन्, ‘त्यसका लागि अहिलेसम्म भएको गतिविधि र कुराकानी अनौपचारिक मात्रै भएको पाइएकोले हामी यो मागलाई पोर्चुगिज सरकारसमक्ष औपचारिक रुपमा प्रस्तुत गर्ने अभियानमा छौं ।’

बास्तोलाले सुरु गरेको यो अभियानमा पोर्चुगलकै प्रतिष्ठित कानून व्यवसायी अधिवक्ता एन्जेला मारिया काब्राल आर्सेनियोलले कानूनी र संस्थागत स्वरुप दिएकी छिन् । यहाँको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको नेपालीहरुको कागजात प्रमाणीकरण र परिवार पुर्नमिलनको कार्यलाई सहज र सस्तो बनाउनका लागि पोर्चुगिज सरकारले आफ्नो प्रतिनिधि नेपालमै खटाउनु जरुरी रहेको उनको तर्क छ ।

यहाँको संसदको आधिकारिक वेबसाइटमा अभिवक्ता आर्सेनियोलले मागपत्र पेश गर्दै नेपालीहरुलाई समेत यसमा सहभागी हुन सार्वजनिक आह्वान गरेकी छिन् । अधिवक्ता आर्सेनियोललाई उद्धृत गर्दै अभियन्ता बास्तोलले दिएको जानकारी अनुसार एक हजार जनाको सहभागिता रहेपछि यो विषय पोर्चुगिज संसदको संसदिय समितिमा छलफलको लागि पेस हुने छ ।

चार हजार जनाको हस्ताक्षरसहित आएको माग वा प्रस्तावउपर सीधै संसदमा छलफल हुन्छ । सात हजार ६ सय जनाको हस्ताक्षर संकलन भएपछि त्यो विषय सीधै मन्त्रिपरिषद्‍मा पेस हुने यहाँको कानूनी प्रावधान छ ।

कुनै एकै जना व्यक्ति वा नागरिकले सार्वजनिक चासोको विषयमा यहाँको संसदको आधिकारिक वेबसाइटमा आफ्ना मागहरु राख्न पाउने र त्यसमा अन्य समर्थकहरुले अनलाइन हस्ताक्षर गर्न सकिने व्यवस्था रहेको छ । कत्ति नागरिक वा व्यक्तिहरुले त्यसलाई समर्थन गर्दै अनलाइन हस्ताक्षरमा सहभागी भए त्यसको आधारमा उक्त विषयलाई यहाँको संसद र सरकारले प्राथमकिता दिने छ ।

अहिले पोर्चुगिज संसदको वेबसाइटमा दर्ज भएको ‘नेपालमा स्थायी प्रतिनिधित्व स्थापनाका लागि निवेदन’ शीर्षकमा २१६ जना नेपालीहरुले अनलाइन हस्ताक्षर गरेका छन् ।

पोर्चुगिज संसदको वेबसाइटमा नेपालमा स्थायी प्रतिनिधि मागको सार्वजनिक मागको नेपाली रुपान्तरण ।

नेपालमै पोर्चुगिज दूतावास स्थापना हुँदा नागरिकको कागजात र परिवार पुर्नमिलनको कार्यमा मात्रै सहजता नभई दुई देशबीचको मित्रता, सांस्कृतिक र आर्थिक पक्षमा हुनसक्ने आदानप्रदानमा समेत टेवा पुग्ने अभियानमा सहभागिहरु बताउँछन् ।

पोर्चुगलमा भने नेपाल सरकारले एक वर्ष अघि नै नेपाली दूतावास स्थापना गरिसकेको छ । २०८० कात्तिकमा सलिन नेपाल राजदूत नियुक्त भएकोमा पोर्चुगलमा पाइलानै नटेकि फिर्ता भए । एक वर्षअघि नेपाल सरकारले राजदूत नियुक्त गरेका प्रकाशमणि पौडेल अहिले यहाँ आवासीय राजदूतका रुपमा कार्यरत छन् ।

नेपालमा ‘कन्सुलर अफिस’ स्थापानको संकेत

पोर्चुगल सरकारले नेपालमा आफ्नो आधिकारिक प्रतिनिधित्व गर्नका लागि महावाणिज्य दूतावास (कन्सुलर अफिस) स्थापना गर्ने संकेत दिएको छ । गत हप्ता (अप्रिल १) मा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र यहाँका विदेशमन्त्री पाउलो रान्जेलबीच भएको टेलिफोन वार्तालाई सार्वजनिक गर्दै पोर्चुगिज विदेश मन्त्रालयले नेपालमा कन्सुलर अफिस स्थापना गर्ने जनाएको छ ।

उक्त मन्त्रालयले आफ्नो फेसबुक पेजमा नेपालका परराष्ट्रमन्त्री खनाल र यहाँका विदेशमन्त्री पाउलोको तस्वीर राख्दै दुई देशबीचको पारस्पारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र नागरिकहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्न नेपालमै कार्यालय स्थापना गरिने उल्लेख गरेको छ ।

पोर्चुगलमा रहेको नेपालीहरुले अहिले भोगिरहेको समस्यामा सहयोग गर्नेदेखि विभिन्न समसामयिक विषयमा छलफल भएको उल्लेख गर्दै नेपालमा आफ्नो प्रतिनिधि कार्यालय स्थापनाको विषयलाई विदेश मन्त्रालयले प्राथमिकता दिएको छ ।

नेपाली दूतावासले भने यस विषयमा औपचारिक रुपमा जानकारी प्राप्त नभएको जनाएको छ । दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार यहाँका सरकार र विभिन्न पक्षसंग हुने छलफलको पहिलो एजेण्डा नै नेपालमा पोर्चुगिज दूतावास वा महावाणिज्यदूतावास स्थापनाको माग हुने गरेको छ । यस विषयमा यहाँका राष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका सांसदहरु सकारात्मक रहेको उनले बताएका छन् ।

‘अनौपचारिक रुपमा हामीले पनि नेपालमा यहाँको सरकारले कन्सुलर कार्यालय स्थापना गर्ने थाहा पाएका छौं, यो असाध्यै खुसीको विषय हो, तर औपचारिक रुपमा भने राजदूतावासको कार्यालयमा कुनै जानकारी अहिलेसम्म प्राप्त भएको छैन’, नेपालले भने ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?