२७ चेत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ ।
मन्त्री सस्मित पोखरेलले एक सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफूमाथि भएको वा भइरहेको दुर्व्यवहारबारे जानकारी दिन अनुरोध गरेका छन् ।
सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले प्राप्त गुनासोहरूमाथि तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ।
शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध मन्त्रालयले शून्य सहनशीलताको नीति अंगीकार गरेको समेत उनले लेखेका छन् ।
कसरी उजुरी दिने ?
विद्यार्थीहरूले मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारममार्फत आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।
उजुरी दिँदा निम्न कुराहरू उल्लेख गर्नुपर्नेछ:
१. अध्ययनरत शैक्षिक संस्थाको नाम ।
२. दुर्व्यवहारको प्रकृति ।
३. घटनाको विस्तृत विवरण ।
यस संयन्त्रमार्फत जातीय तथा लैङ्गिक भेदभाव, शाब्दिक वा भौतिक दुर्व्यवहार, यौनजन्य हिंसा, मनोवैज्ञानिक दबाब, बुलिङ र अनलाइन दुर्व्यवहार
लगायतका विषयमा उजुरी दिन सकिने विकल्पहरू राखिएको छ।
फारामका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया 4