+
+
Shares

प्युठानमा सिकारीको गोली लागेर युवकको मृत्यु, किशोरी घाइते, चार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा सिकारीले चलाएको गोली लागेर १९ वर्षीय सुशील परियारको मृत्यु भएको छ।
  • सिकार खेल्न गएको समूहले जंगली जनावर ठानेर गोली चलाउँदा सुशील र १८ वर्षीया किशोरी घाइते भएका थिए।
  • पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको छ।

२ वैशाख, प्युठान । प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ ।

प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् ।

गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका उनको उपचारका क्रममा ३० चैतमा मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

घटनामा संलग्न मुख्य आरोपी गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीलाई ३० चैतमा नै पक्राउ गरिएको उनले बताए ।

उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद भएको भट्टराइले बताए ।

प्रहरीका अनुसार २९ चैतमा राति करिब पौने ११ बजे शिकार खेलेर फर्किने क्रममा जंगली जनावर भएको आशंकामा वीरेन्द्र केसीले गोली हानेका थिए ।

गोली लागेर सुशिल परियार र उनीसँगै रहेकी गौमुखी–४ की १८ वर्षीया किशोरी घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पठाइएकोमा परियारको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते किशोरीको अवस्था भने अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिहरूलाई प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?