News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिक सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ।
- सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका क्रममा गोली चलाएको दाबी गरे पनि स्थानीयले लेनदेन विवादमा एकतर्फी गोली प्रहार भएको आरोप लगाएका छन्।
- घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सशस्त्र प्रहरीको कारबाही र क्षतिपूर्ति माग गरेका छन्।
१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि सुनसरीको लौकही क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति तनावग्रस्त भएपछि अश्रुग्यास र हवाइ फायर पनि गरेको छ ।
बुधबार राति १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार घटनास्थल मृतकको घर नजिकै पर्छ । भारतबाट सामान लिएर आउँदै गर्दा सडकमा सशस्त्र प्रहरीको टोलीसँग उनको जम्काभेट भयो । सोही स्थानमा विवादपछि सशस्त्रले चलाएको गोली साहको छातीमा लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो । साहले चलाएको सिटी सफारीमा ६–७ बोरा चिनी, सरफ, चकलेट लगायतका सामग्री फेला परेका छन् ।
स्थानीयको दाबी अनुसार अनुसार मृतक बेलाबेला भारतबाट सामान ल्याएर बिक्री गर्थे । बुधबार राति करिब सवा १ बजे सिटी सफारीमा सामान लिएर आउँदै गर्दा लेनदेनको विवादपछि उनीमाथि गोली प्रहार भयो ।
घटनालाई सशस्त्र प्रहरीले ’दोहोरो भिडन्त’ दाबी गरे पनि स्थानीयले भने लेनदेनको विवादमा प्रहरीले एकतर्फी गोली चलाएको आरोप लगाएका छन् ।
‘मुठभेड’ कि लेनदेन विवाद ?
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करी नियन्त्रणका क्रममा तस्करको समूहले सशस्त्रमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको दाबी गरे । मान चोरी पैठारी गरेर ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा गोली चलाएपछि एपीएफले पनि गोली चलाएको उनले बताए । ‘सामान चोरी गरेर आए, हामीले रोक्न खोज्दा रोकिएन, अगाडि भागेको गाडीबाट फायर गर्यो, एपीएफले पनि फायर गर्यो,’ उनले भने,‘ सुरुमा तस्करको समूहले फायरिङ गरेको हो ।’
स्थानीय बासिन्दाहरू सशस्त्र प्रहरीले रकम माग गरेको र साहले मागेजति दिन अस्वीकार गरेपछि गोली प्रहार गरिएको दाबी गर्छन् । ‘उनीहरूले पैसा मागेका थिए, मागेजति नपाएपछि सिधै गोली हानियो,’ एक आक्रोशित स्थानीयले भने, ‘त्यहाँ कुनै दोहोरो झडप भएको छैन ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले घटनास्थलबाट दुई राउन्ड गोलीका खोका फेला परेको पुष्टि गरे । उनका अनुसार मृतकको शरीरमा पनि दुईवटा गोली लागेको जस्तो चोट देखिएको छ । ‘दोहोरो भिडन्त भयो–भएन अनुसन्धानकै क्रममा छ,’ उनले भने,‘ दुई राउन्ड खोका भेटेका छौं ।’
प्रारम्भिक अनुसन्धानमा सशस्त्रको दाबीलाई पुष्टि गर्ने बलियो आधार फेला नपरेको प्रहरी स्रोतले जनाएको छ ।
घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध पारेका छन् । उनीहरूले मृतकले प्रयोग गरेको सिटी सफारी र शवलाई सडकमै राखेर चर्को नाराबाजी गरिरहेका छन् ।
प्रदर्शनकारीले घटनामा संलग्न सशस्त्र प्रहरीलाई तत्काल कारबाही गरी पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आन्दोलित पक्षसँग वार्ताको प्रयास भइरहेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4