+
+
Shares

निकिता आन्दोलन हेर्न घरको छतमा आइन्, प्रहरीको गोली लागेर अस्ताइन्

अस्पताल पुग्नु अगाडि नै निकिताले यो संसार छाडिसकेकी थिइन् । स्वास्थ्यकर्मीहरूले ३० मिनेटभन्दा बढी सीपीआर गरे, तर निकितालाई बचाउन सकेनन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ असोज २ गते २०:४७
प्रहरीको गोली लागेर ज्यान गुमाएकी निकिता गौतम ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौ बुधबार गौशला क्षेत्रमा प्रदर्शनकारी र प्रहरीले झडप गर्दा प्रहरीले गोली चलाउँदा १९ वर्षीया निकिता गौतमको मृत्यु भयो।
  • गोली लागेर घाइते ४५ वर्षीय कुमार उपाध्यायलाई अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधार हुँदैछ।

२ असोज, काठमाडौं । २४ भदौ मंगलबार दिँउसो १ बजे । प्रदर्शनकारीको भीडले गौशला चोकको मूल सडक भरिसकेको थियो । हो-हल्ला र कोलाहलको आवाजले वातावरण तनावग्रस्त बनेको थियो ।

त्यही दृश्य हेर्नलाई गौशला निवासी ४५ वर्षीय कुमार उपाध्याय घरको छतमा पुगे । त्यतिबेला जेनजी प्रर्दशनकारीले गौशला प्रहरी चौकीमा ढुंगामुढा गर्न थालिसकेका थिए । कतिपयले टायर बाल्न थालिसकेका थिए । चौकीमा आगोको लप्काले भेटिसकेको थियो । भीडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानिरहेको थियो । लाग्थ्यो गौशाला क्षेत्र  कुनै युद्धको रणभूमि जस्तो थियो ।

कुमारका परिवार र कोठामा बस्ने केही व्यक्तिले तल सडकमा भइरहेको दृश्य छतबाट हेरिरहेका थिए । तोडफोडको आवाज, टायर र अश्रुग्यासको गन्ध, आगोको मुस्लोले वरिपरिको वातावरण भयभीत बन्दै गएको थियो ।

छरछिमेकी उस्तै गरी छतबाट सडकको प्रर्दशनलाई एकोहोरो हेरिरहेका थिए । महानगरीय प्रहरीवृत्त गौशालाबाट कुमारको घर करिब ३०० मिटर मात्रै पारि छ ।

प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरे पनि त्यसको बेवास्ता गर्दै सडकमा भीड बढिरहेको थियो । नाराबाजीका बीच प्रदर्शनकारीको त्यो भीडले महानगरीय प्रहरी वृत्तमा आगजनी गर्न थाले । त्यसपछि भने प्रहरी पनि आक्रोशित हुँदै अश्रुग्याससँगै गोली पनि बर्साउन थाल्यो ।  घरको छतबाट यी सबै दृश्य नियालिरहेका कुमारको कानमा अकस्मात् एक डरलाग्दो ड्वाङ् आवाज गुञ्जियो । त्यो आवाजसँगै उनको सिधा अगाडि उभिएकी १९ वर्षीय निकिता गौतम एक्कासि ढल्न पुगिन् । निमेषमै कुमार पनि ढले ।

त्यसबेला के भयो, उनले कुनै भेउ पाउन सकेनन् । पाखुरामा चर्को पीडा महसुस गर्दै उनी ढले । उनको शरीरबाट ह्वालह्वाल रगत बग्न थाल्यो । मुटु फुट्ला जसरी धड्कन बढ्न थाल्यो ।

हतपत उनको छेउमै रहेकी श्रीमती (गायत्री) लाई कुमारले भने– मलाई सारै गाह्रो भयो ।

गायत्रीका हातहरू काँपिरहेका थिए, जब उनले श्रीमान्का आलो बगिरहेको घाउमा कपडा बाँधिन् ।

कुमारको मुख, ओठहरू सुकेका थिए । उनले श्रीमान्को मुखमा अलिकति पानी राखिदिइन् ।

प्रहरीको गोली लागेर ज्यान गुमाएकी निकिता गौतम ।

अर्को छेउमा निकिता भुइँमा मुर्छित अवस्थामा ढलेकी थिइन् । उनका आँखाहरू फुस्रा भइसकेका थिए । छाती छेडेर ढाडबाट गोली बाहिर निस्केको थियो ।

छत पूरै रगतम्य भएको थियो । छतमा भएका सबैजना आत्तिएका थिए । तलबाट प्रहरीले निरन्तर गोली चलाएको आवाज आइरहेको थियो । गोलीबाट बच्न सबैजना एकछिन् छतमा लमपसार परे ।

कुमार पीडाले छट्पटी रहेका थिए । उनले चिच्याउँदै छोरालाई भने– छिट्टो मलाई अस्पताल लैजा ।

त्यतिबेला निकितालाई घरमा बस्ने अन्य व्यक्तिले तल झार्न थालिसकेका थियो । तर अगाडिको मूल सडकबाट अस्पताल जान सक्ने सम्भावना थिएन । प्रदर्शनकारी र प्रहरीबीच झडप जारी थियो । निकिता र कुमार भने मृत्युसँग लडिरहेका थिए ।

कुमारकै घर छेउमा अर्को नयाँ घर बन्दै थियो । घरको पर्खाल नघाएर निकिता र कुमारलाई जसोतसो मूल सडकमा निकालियो ।

त्यो पल दुवै जनाका लागि जीवन र मृत्यु बीचको पुल थियो ।

त्यही समयमा केही व्यक्ति मोटरसाइलमा हुँकिएर आइपुगेका थिए । अन्जान व्यक्तिहरूले निकिता र कुमारलाई नजिकै रहेको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्‍याए ।

अस्पताल पुग्नु अगाडि नै निकिताले यो संसार छाडिसकेकी थिइन् । स्वास्थ्यकर्मीहरूले ३० मिनेटभन्दा बढी सीपीआर गरे, तर निकितालाई बचाउन सकेनन् ।

कुमारलाई स्वास्थ्यकर्मीले तुरुन्तै उपचार सुरु गरे । आईसीयूमा राखियो । दुई पटक शल्यक्रिया भइसकेको छ । चिकित्सकका अनुसार स्वास्थ्य अवस्था सुधार छ ।

हाल कुमारलाई वार्डमा सारिएको छ । उनलाई उठ बस गर्न सकस छ । चर्को स्वरमा बोल्न पनि सक्दैनन् ।

अस्पतालको बेडमा उपचाररत कुमार उपाध्याय ।

कुमार भन्छन्, ‘घरको छतमा बसिरहँदा सरकारले अमानवीय कार्य गर्‍यो । प्रहरीले निर्दोष व्यक्तिलाई गोली ताकीताकी हाने ।’

उनीहरू घरबाट प्रहरीलाई असर पर्ने कुनै काम गरेका थिएनन् । किन प्रहरीले गोली चलायो भन्ने कुरामा उनी अनविज्ञ छन् ।

कुमार घर नजिकको पेट्रोल पम्पमा काम गर्छन् । २४ भदौमा पनि बिहान काम गर्न गएका थिए । तर सडकमा प्रदर्शनकारी उत्रिसकेका थिए । पेट्रोल पम्प बन्द गरेर भीडलाई छिचोल्दै भित्री बाटो प्रयोग गरेर उनी घर पुगेका थिए ।

‘खाना खाएर छतमा उक्लिएका थियौं । तर जीवनभरको चोट पाइयो,’ अस्पतालको बेडमा भावुक हुँदै कुमारले भने, ‘मेरै आँखा अगाडि अवोध छोरीको ज्यान गयो ।’

निकितालाई लागेर छेडेको गोलीले आफूलाई लागेको उनी बताउँछन् ।

‘निकिताको पछाडि म थिएँ । उनको छाती छेडेर आएको गोलीले मेरो पाखुरामा लाग्यो,’ कुमारले त्यसबेलाको भयावह क्षण स्मरण गर्दै भने । उक्त गोली कुमारको पाखुराबाट ढाडको भित्री भागमा पुगेको थियो ।

कुमारले सोचेका थिएनन्, घरको छत उनका लागि जीवनभरको पीडाको साक्षी बन्नेछ । उनले कल्पना गरेका थिएनन् त्यही छतमा आफूले हुर्काएको छोरीको सपनाहरू रगतमा डुब्नेछन् ।

कुमारको आवाजमा पीडा मिसिएको छ, आँखामा प्रश्नहरू छन् । ‘हामीले कुनै गल्ती गरेका थिएनौं । किन प्रहरीले गोली चलायो ?,’ कुमार प्रश्न गर्छन् ।

बुबा–आमाको काख रितियो

निकिताले भर्खरै जेभियर कलेजबाट कम्प्युटर साइन्समा १२ कक्षा पास गरेकी थिइन् ।  उनका दाइ डेनमार्कमा छन् । उनी स्नातक अध्ययन सकेर डेनमार्क जाने सपना देखिरहेकी थिइन् – त्यो सपना अब कहिल्यै पूरा हुनेछैन  ।

चितवनको पदमपुर स्थायी घर भएका निकिताका परिवार २० वर्षदेखि कुमारकै घरमा बस्दै आएका थिए ।

निकिता र आफ्नो छोरी सँगसँगै जन्मिएर हुर्किएको कुमारकी श्रीमती गायित्री उपाध्याय पोखरेल बताउँछिन् ।

‘सँगै हुर्किएका, एउटै थालमा खाना खाने, बस्ने र सँगै स्कुल पढ्न जान्थे,’ गायत्रीले आँसु पुछ्दै भनिन्, ‘अन्टी मलाई के–ले लाग्यो, हेर्नु न भन्दाभन्दै फुस्रो आँखा लगाइन् ।’

पत्नीको साथमा कुमार उपाध्याय ।

त्यसबेला निकिताकी आमा भने तल कोठामै थिइन् ।

निकिताका बुबा भक्तपुरमा व्यवसाय गर्थे । उनीहरूको चितवनमा नयाँ घर बन्दै थियो । निकिता त्यहीँ गएर स्नातक पढ्ने तयारीमा थिइन् । तर अब त्यो घर खाली रहनेछ, ती कोठाहरूमा उनको हाँसोको गुञ्जन कहिल्यै सुनिने छैन ।

सोमबार पशुपति आर्यघाटमा निकिताको अन्तिम संस्कार भइसकेको छ । ‘आँखा अगाडि नै निकितालाई गुमाउनु पर्दा निन्द्रा परेको छैन,’ गायत्रीले भनिन्, ‘उनको बुबाआमा बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।’

मधुमेह रोगबाट ग्रसित निकिताकी आमा छोरी गुमाएपछि अहिले पनि बेलाबेलामा बेहोस हुने गर्छिन् ।

‘एउटा जन्म दिने आमालाई कस्तो भएको होला, कल्पना गर्न सकिने कुरा होइन,’ गायत्री भन्छिन् ।

घरमा बसेको अबोध व्यक्तिलाई गोली हान्नु प्रहरी प्रशासनको ज्यादती भएको गायत्री बताउँछिन् ।

‘प्रहरीले ताकेर हाने कि, बँच्नलाई हाने !  यो कुरा भगवानलाई थाहा छ,’ गायत्रीले आँखाभरी आँशु पाँदै भनिन्, ‘बुबआमाको काख रितियो, हातले काम गरेर खानुपर्ने मान्छे आज अपाङ्गग सरह हुनुभयो ।’

तस्वीर र भिडियो : चन्द्र आले ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?