News Summary
Generated by OK AI. Editorially reviewed.- लन्डनको अर्थ रिभोलुसरी ह्याक्नी हलमा नेपाली नयाँ वर्ष २०८३ मा नेपहप नाइट २०८३ कन्सर्ट सम्पन्न भयो।
- नेपाली हिपहप कलाकार भिटेन र साकारले एक हजारभन्दा बढी दर्शकसामु आफ्ना हिट गीत प्रस्तुत गरे।
- भिटेनको युट्युब च्यानलमा ३० लाख सब्सक्राइबर पुगेको अवसरमा लन्डन ब्रीज अगाडि सेलेब्रेसन गरिएको छ।
लन्डन । यसपालीको नयाँ वर्षमा लन्डनमा नेपाली हिपहप संगीत गुञ्जियो । विगतमा जस्तो शुभकामना कार्यक्रममा झुम्न नपाएपनि नेपहप संगीतले नेपाली डायस्पोरालाई झुमायो । उत्तरी लन्डनको डाल्स्टन ह्याकनीमा अवस्थित अर्थ रिभोलुसरी ह्याक्नी हलमा बेजोड ढंगले नेपाली र्याप गीत गुञ्जियो ।
विश्वभरका अग्रणी र उदीयमान कलाकारलाई स्वागत गरिसकेको उक्त अत्याधुनिक भेन्यूले नेपाली हिपहप संगीतका सेलिब्रेटीद्धय समीर घिसिङ (भिटेन) र साकार (लिल बुद्ध) लाई एउटै स्टेजमा उतार्यो ।
मिलानोयर इभेन्ट्सले ३ महिनाको गृहकार्यपछि आफ्नो पहिलो कार्यक्रममै निम्ताएको थियो भिटेन र साकारलाई ।
नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्न आयोजित ‘नेपहप नाइट २०८३’ कन्सर्टमा एकहजार बढी तन्नेरी सहभागी भए । प्रायः नेपाली लोकभाका र पञ्चेबाजामा झुम्न लालयित हुने यहाँको नेपाली डायस्पोरा हिपहप संगीतमा यतिविघ्न आकर्षित भएको सम्भवतः पहिलो हो ।
साँझ ६ देखि मध्यरात १२ बजेसम्म चलेको कन्सर्टमा भिटेनले ड्रग एडिक्ट, हालखबर, हामी यस्तै त हो नि ब्रो, चुरोट लगायत आफ्ना चलेका गीत सुनाए । साकारले ‘नो पिस इन लभ’ लगायत कयौं हिट गीत गाए । साकार र भिटेनले एकसाथ ‘ल ल ल.. ’ गीत गाउँदा दर्शक निकै उत्तेजित बनेका थिए । नेपालका ती दुई कलाकारलाई स्थानीय ‘अफलाइन’ ले पनि साथ दिए ।

कन्सर्टमा उपस्थित वीरेन्द्र नेपाल आफैं पनि इभेन्ट आयोजक हुन् । पहिलोपटक लन्डनमा हिप-हप संगीतमा दर्शक सहभागिता उल्लेख्य पाएको उनले अनुभूति गरे । उनले पछिल्लो समय नेपाली युवाको संगीत चाहना परिवर्तन हुँदै गएको समेत बताए ।
‘हिप-हप गीत संगीतलाई कुनै बेला तिरस्कार गरिन्थ्यो तर अहिले त्यही विधाप्रति मानिस आकर्षित छन्’, नेपालले भने । त्यसो त, हिप-हप संगीतबाट मेयर हुँदै केन्द्रिय राजनीतिमा होमिएका बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि अहिले नेपाली र्याप संगीतले धेरै फड्को मारेको विश्वास गरिन्छ ।
‘कार्यक्रम निकै सफल भएकामा हामी उत्साहित र कृतज्ञ छौं’, आयोजक मिलानोयर इभेन्ट्स लिमिटेडकी निर्देशक लुबिका रिमालले भनिन्, ‘हामीले हिप-हप संगीतप्रति बेलायतका नेपाली युवाको आकर्षण बढेको देखेर दंग पर्यौं ।’
आयोजकले यस कार्यक्रमलाई नेपाली संगीत र सांस्कृतिक उत्सवसँगै नयाँ वर्ष स्वागत गर्ने विशेष अवसरका रूपमा चित्रण गरेको छ । उच्च डिमान्ड भएका सेलिब्रेटी कलाकारलाई आमन्त्रण, महंगो भेन्यू र मानिसमा घट्दो क्रयशक्तिका कारण कार्यक्रम आफैंमा चुनौतिपूर्ण रहेको आयोजकको भनाइ छ ।
यसैबीच, भिटेनको आधिकारिक युट्युब च्यानलमा ३० लाख सब्सक्राइबर पुगेको अवसरमा लन्डन ब्रीज अगाडि सेलेब्रेसन गरिएको छ । मिलानोयर इभेन्ट्सले स्याम्पेनसहित केप काटेर खुसियाली साट्ने अवसर जुराएको हो । युट्युबमा ३० लाख सब्सक्राइबर पुग्ने भिटेन नेपालका पहिलो गायक हुन् । भिटेनले माया गर्ने आफ्ना दर्शक-श्रोताप्रति आभार व्यक्त गरेका छन् ।
गत ११ अप्रिलमा लन्डन उत्रिएका भिटेन बेलायत घुमफिरपछि २० अप्रिल नेपाल फर्कंदैछन् भने १० तारिख लन्डन आइपुगेका साकार १७ अप्रिल फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया 4