News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई साना तथा मझौला व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको छ।
- महासंघले एमआरपी व्यवस्थापन, घरभाडा नीति, तरलता समस्या र भन्सार प्रक्रियामा सुधार गर्न अर्थमन्त्रीलाई सुझाव दिएको छ।
- अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र सहज वातावरण बनाउने आश्वासन दिनुभएको छ।
३ वैशाख, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको छ ।
मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले वर्तमान व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताए ।
उनकाअनुसार अहिले व्यापार व्यवसाय उक्सिने स्थितिमा छैन । यद्यपि नयाँ सरकार बनेपछि व्यवसायीहरूमा एउटा आशाको किरण भने जागेको छ ।
अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उनको भनाइ छ ।
कटुवालकाअनुसार देशभरका व्यवसायीहरूलाई खड्किएको एमआरपीको विषयमा अर्थमन्त्री वाग्लेसँग छलफल भएको छ ।
हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुहरूमा उपभोक्तालाई सहज हुनेगरी कसरी एमआरपी व्यवस्थापन गर्ने भन्नेमा महासंघले सुझाव दिएको कटुवालले जानकारी दिए ।
उनकाअनुसार महासंघले स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीति स्पष्ट नभएको भन्दै महासंघले शहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’ का आधारमा वैज्ञानिक घरभाडा लागु गर्न अर्थमन्त्रीलाई भनेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्याउन ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ भने भन्सार नाकाहरूमा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्याहरूलाई समाधान गरी आयात–निर्यातलाई सहज बनाउन ध्यानाकर्षण गराइएको छ ।
कटुवालले भने, ‘समग्रमा भन्नुपर्दा अहिले व्यापार–व्यवसायको अवस्था एकदमै नाजुक छ । अहिले नै व्यवसाय ह्वात्तै उक्सिने स्थिति नभए पनि हामी एउटा परिवर्तनको मोडमा छौँ । हामी व्यवसायीहरूमा एउटा आशाको किरण भने पलाएको छ । व्यापार उत्साहजनक नभए पनि सामान्य रूपमा जीविकोपार्जन भने अगाडि बढिरहेकै छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थापनाकालदेखि नै देशभरका उद्योगी, विशेष गरी सटर व्यवसायी र साना घरेलु उद्योगीहरूलाई समेटेर उनीहरूका समस्या सरकारका विभिन्न तहमा उठाउँदै आएको छ ।’
विगतका सरकारहरूले साना व्यवसायी र सटर व्यवसायीका मुद्दालाई उपेक्षा गरेको गुनासो गर्दै कटुवालले यसपटकको भेट सकारात्मक रहेको बताए ।
अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने आश्वासन दिएको कटुवालले बताए ।
प्रतिक्रिया 4