+
+
Shares

तमोर कोरिडोर कालोपत्र गरियो तर बनेनन् पुल, यात्रुलाई सास्ती

ठेकेदारको लापरबाही र बजेट अभाव मुख्य चुनौती

सरकारले पुल निर्माणका लागि भएको सम्झौता अनुसार बजेट नपठाउँदा र निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माणको गति सुस्त भएको हो ।

ईश्वर थापा ईश्वर थापा
२०८३ वैशाख ६ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी पहाडमा चीन र भारत जोड्ने तमोर कोरिडोरको ११० किलोमिटर सडकमा ७३ किलोमिटर कालोपत्र भइसकेको छ।
  • तमोर कोरिडोरका ८ वटा पुल निर्माणमा सुस्ती हुँदा यात्रुहरूले वर्षायाममा सवारीमा समस्या भोगिरहेका छन्।
  • पुल निर्माणका लागि आवश्यक बजेट नपठाउँदा र निर्माण व्यवसायीको लापरबाहीले काममा ढिलाइ भइरहेको छ।

६ वैशाख, धनकुटा । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरमा सवारी सञ्चालन हुन थालेको लामो समय भइसकेको छ ।

धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोक खण्डमा पर्ने ११० किलोमिटर सडकमध्ये हालसम्म ७३ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर, यस सडकमा पर्ने ८ वटा मोटररेबल पुल निर्माणमा सुस्त गतिमा हुँदा तमोर कोरिडोर सडकबाट यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

खोलाहरूमा  अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तव्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् । यस्तै पानी बगिरहेको ठाउँबाट सबारी चलाउँदा विशेष गरी मोटरसाइकलमा यात्रा गर्ने समस्यामा पर्ने गरेका छन् ।

सुनसरीबाट पाँचथरसम्मको मोटरसाइकलबाट यात्रामा आएका अनुप निरौलाले पानी बगिरहेको ठाउँबाट यात्रा गर्नु पर्दा एउटा जुत्ता खोलाले बगाएको र अर्को जुत्ता भिजेर तत्काललाई काम नदिने भएको गुनासो गरे ।

उनले सडक राम्रो छ भनेको सुनेर पहिलोपटक यात्रामा आएको भएपनि पुल नहुँदा निकै समस्या भोग्नु परेको बताए ।

तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डमा रहेका निर्माणाधिन ८ वटा पुलमध्ये हेवा, लारिप्पा र वगुवा खोलामा पुल निर्माण कार्य सुरु नै भएको छैन । यस्तै कम्बुवा खोलामा २५ प्रतिशत, लखुवा र रघुवा खोलामा २७/२७ प्रतिशत, नावा खोलामा ५० प्रतिशत र छरुवा खोलामा पुल निर्माणको ७५ प्रतिशत प्रगति भएको तमोर करिडोर पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीन शाहले जानकारी दिए ।

पुल निर्माणका लागि सम्झौता अनुसार बजेट सरकारले नपठाउँदा तथा निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माण सम्पन्न हुन समस्या रहेको शाहले बताए ।

एउटा पुल निर्माण गर्न करिब १० करोड रुपैयाँसम्म लागत लाग्ने अनुमान गरिएको छ । यद्यपि, हालसम्म सबै परियोजनामा आवश्यक बजेट उपलब्ध भइनसकेको अवस्था छ । तर यसको मार भने यात्रुले खेप्दै आएका छन् ।

निर्माण सुरु भएको पुलको काम सम्पन्न नहुँदा बाढीले निर्माणाधिक पुलका संरचना बगाउँदा सुरुबाटै काम गर्नुपर्ने अवस्था आएको स्थानीय महेन्द्र न्यौपानेले बताए ।

उनले खोलामा आउने बाढीले पुल निर्माणमा तथा यात्रुहरुलाई समस्या हुने गरेको बताए । न्यौपानेले निर्माण कम्पनीको लापरबाहीले समस्या भएको बताए ।

हालसम्म पुल निर्माणको प्रगती नहुँदा तराइबाट तमोर करिडोर हँदै ताप्लेजुङसम्म जाने यात्रु समस्यामा पर्ने गरेका छन् ।

विशेषत पाँचथर–धनकुटा सीमावती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गरेको र त्यसका कारणले सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको न्यौपानेले बताए ।

तमोर करिडोरका ८ वटा पुलको निर्माणका लागि ३ वटा प्यााकेजमा ठेक्का लागेको छ । जसमा छरुवा खोलाको पुल निर्माणका लागि लुम्विनी रौता खानी जेभीले भ्याट र पिएस सहित १७ करोड २३ लाख ७९ हजार ५४० रुपैयाँमा ठेक्का पाएको छ ।

२०७८ फागुन ६ गते भएको सम्झौताको आगामी असार मसान्तमा म्याद सकिने इन्जिनियर शाहले जानकारी दिए ।

यस्तै नावा, लखुवा, लारिप्पा र हेवा खोलाका पुल निर्माण एउटा प्याकेजमा ठेक्का लागेको छ । नावा, लखुवा, हेवा र लारिप्पा खोलामा पुल निर्माणका लागि शर्मा सगुन जेभीले भ्याट र पिएस सहित ३७ करोड २१ लाख ५३ हजार ६ सय ४० रुपैयाँमा ठेक्का पाएको छ ।

आगामी फागुन मसान्तसम्म रहेको निर्माणको सम्झौता २०७८ फागुन १३ गते भएको थियो । यता वगुवा, कम्बुवा र रघुवा खोलाका पुल निर्माणको लागि कुमार श्रेष्ठ स्वामीनारायण आशिर्वाद जेभीले २२ करोड ५२ लाख ७५ हजार ७ सय ८० रुपैयाँमा ठेक्का पाएको छ ।

आगामी वैैशाख १९ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको वगुवा, कम्बुवा र रघुवा खोलाका पुल निर्माणको सम्झौता २०७८ फागुन १६ गते सम्झौता भएको इन्जिनियर शाहले जानकारी दिए ।

छरुवा खोला पुल पुलको लम्बाइ १६५ मिटर रहेको छ । जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल हो । यस्तै नावा खोला र लखुवा खोलामा निर्माणाधीन पुलको लम्बाइ १ सय ५० मिटर लामो पुल बन्नेछन् ।

यता हेंवा खोला, बघुवा खोला र खम्बुवा खोलामा ४०/४० मिटर लामो पुल बन्ने भएका छन् भने लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहने भएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?