+
+
Shares

हलिउड स्टारले दिए काठमाडौंमा मञ्चन हुन लागेको नाटकलाई शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थापागाउँस्थित मण्डला थिएटरमा २४ अप्रिलदेखि १७ मेसम्म 'ग्रान्ड रिहर्सल' नामक व्यंग्यप्रधान नाटक मञ्चन हुने भएको छ।
  • नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा लगायत कलाकारको अभिनय छ र कथा 'नाटकभित्र नाटक' संरचनामा आधारित छ।
  • हलिउड अभिनेता विलियम डाफोले भिडियो सन्देशमार्फत नाटकका लागि शुभकामना दिएका छन् र दर्शकलाई मञ्चन हेर्न आग्रह गरेका छन्।

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा ‘ग्रान्ड रिहर्सल’ नामक नयाँ नाटक मञ्चन हुने भएको छ । २४ अप्रिलदेखि सुरु हुने यो नाटक १७ मेसम्म प्रदर्शन हुनेछ । उमेश तामाङको निर्देशनमा तयार भएको यो नाटक व्यंग्यप्रधान नाटक हो । अनुप न्यौपाने र उमेश तामाङले यसको अनुवाद गरेका छन् भने बुद्धि तामाङ निर्माता हुन् ।

नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, अमिर ताम्राकार, सुजन घिमिरे, श्रीशेष श्रेष्ठ, बलबहादुर राई र राजाबाबु कार्कीको अभिनय छ ।

नाटकको कथा ‘नाटकभित्र नाटक’ संरचनामा आधारित छ । कलाकारले हत्या रहस्यमा आधारित नाटक मञ्चन गर्ने प्रयास गर्छन्, तर मञ्चन सुरु भएलगत्तै सामग्री बिग्रिने, अभिनय संकेत नमिल्ने जस्ता समस्याले परिस्थिति नियन्त्रणबाहिर जान थाल्छ । यिनै हास्यास्पद घटनामार्फत नाटकले जीवित रंगमञ्चको यथार्थ देखाउँछ ।

मण्डला थिएटरका सह-संस्थापक सोमनाथ खनालका अनुसार यो नाटक चर्चित ब्रडवे प्रस्तुति ‘द प्ले द्याट गोज रङ’ प्रेरित भए पनि नेपाली परिवेश र यहाँका कलाकारको अनुभवलाई समेटेर तयार गरिएको हो । उनले भने, ‘हामीले यस्तो समयमा यो नाटक ल्याएका छौं, जहाँ दर्शकले निःसंकोच हाँस्न पाउने र कला निर्माणको प्रक्रियालाई पनि महसुस गर्न सक्नेछन् ।’

नाटकभित्रको एक दृश्यमा कलाकार ।

यसैबीच, हलिउड अभिनेता विलियम डाफोले पनि यस नाटकका लागि शुभकामना दिएका छन् । ४ पटक अस्कर अवार्डमा मनोनयन भइसकेका डाफो स्पाइडर-म्यान, प्लाटुन र पुअर थिङ्सजस्ता फिल्ममार्फत विश्वभर परिचित छन् ।

डाफो गत वर्ष नेपाल आएका थिए, जहाँ उनले सगरमाथा आरोही तेन्जिङ नोर्गेको जीवनमा आधारित ‘तेन्जिङ’ फिल्मको छायांकन गरेका थिए । यो फिल्मलाई उनले हलमै पुगेर हेर्ने जानकारी भिडियो सन्देशमार्फत दिएका छन् ।

भिडियोमा उनले गतवर्ष छायांकनका लागि काठमाडौं आउँदा खुसी लागेको बताउँदै आफूले अमेरिकामै हेरिसकेको नाटक नेपालमा मञ्चन हुन लागेको कुराप्रति उत्साह जनाएका छन् । उनले दर्शकलाई मण्डला थिएटरमा गएर नाटक हेर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?