+
+
Shares

बेल्जियमका नेपाली व्यवसायी किन संगठित हुने ? यस्ता छन् १० कारण

बेल्जियम आएका नेपालीहरूले क्रमशः एउटा इमानदार कामदारबाट सफल व्यवसायीका रूपमा पहिचान निर्माण गर्न सक्नु नेपाली समाजका लागि पनि गर्वको विषय हो।

कासी दनै कासी दनै
२०८३ वैशाख १ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली व्यवसायी संघ बेल्जियमले सन् २००६ मा स्थापना भई नेपाली व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यवसायिक हित बलियो बनाएको छ।
  • बेल्जियममा व्यवसाय गर्दा भ्याट र कर प्रणाली जटिल भएकोले व्यवसायीहरूले आर्थिक क्षति भोग्नुपरेको छ।
  • लेखापालको गल्ती, प्रशासनिक दर्ता र कर्मचारी लागतबारे जानकारी अभावले नेपाली व्यवसायीहरूलाई ठूलो जोखिममा पारिरहेको छ।

नेपाली व्यवसायी संघ बेल्जियमको समितिमा रहेर सन् २०१९ देखि आजसम्म काम गर्दा, साथै मेरो व्यक्तिगत १५ वर्षको व्यवसायिक अनुभवसहित मैले हाम्रा नेपाली व्यवसायी साथीहरूले भोग्नु परेका अनेक जटिल समस्याहरू नजिकबाट देखेको छु  र आफैंले पनि भोगेको छु। यी समस्याहरू केवल व्यक्तिगत असफलताको कारण होइनन्।

बरु जानकारीको अभाव, प्रशासनिक जटिलता र भाषिक समस्याहरूले गर्दा यसले हाम्रो समुदायमा गहिरो जरा गाडेको छ र वार्षिक रूपमा हाम्रा धेरै व्यवसायी साथीहरूलाई ठूलो आर्थिक क्षति पुगेको मात्र होइन, कहिलेकाहीँ व्यवसाय नै बन्द गर्नुपर्ने दुःखद स्थिति पनि मैले आफ्नै आँखाले देखेको छु।

यस लेखमा मैले आफ्नो अनुभव र मैले देखेका ती मुख्य समस्याहरू तथा तिनका व्यावहारिक समाधानहरू उजागर गर्ने कोशिस गरेको छु, जसले हाल व्यवसाय गर्ने साथीहरू र व्यवसाय गर्न चाहने साथीहरूलाई थोरै भए पनि सूचना मिलोस् र उक्त विषयमा सचेत बनाउन सकियोस् भन्ने सोचले यो लेख लेख्न गएको हुँ।

बेल्जियममा नेपाली समुदायको उपस्थिति विगत पाँच दशकभन्दा बढी समयदेखि रहँदै आएको छ। त्यस समयमा युरोपका राष्ट्रहरूमा आउन नेपालीहरूका लागि खुला आगमनको अवसर थियो। तथापि, त्यतिबेला धेरैजसो नेपालीहरू श्रमिकको रूपमा आएका थिए। प्रयत्न क्षेत्र, उद्योग–संघसँग सम्बन्धित वा यस क्षेत्रमा काम गर्ने नागरिकहरू मुख्यत त्यसै समयमा बेल्जियम लगायत युरोपका राष्ट्रहरूमा आएको देखिन्छ। केही सानो संख्यामा भारत हुँदै भारतीय नागरिकको व्यवसाय र घरमा सहयोगीको रूपमा पनि आएका पाइन्छन्।

तर अहिलेको नेपाली समुदाय बेल्जियममा केवल जनसंख्याको उपस्थितिमा सीमित छैन  यो क्रमश उद्यमशीलता, व्यवसायिक गतिविधि, राजनीतिक सहभागिता र सामाजिक पहिचानमा गहिरो रूपान्तरण भइसकेको छ।तर विदेशमा व्यवसाय गर्नु भनेको केवल पसल खोल्नु, रेस्टुरेन्ट चलाउनु वा सेवा सुरु गर्नु मात्र होइन। यो कानुनी जिम्मेवारी, कर–प्रणाली, श्रम व्यवस्थापन, बजार प्रतिस्पर्धा र प्रविधिगत परिवर्तनसँग दैनिक रूपमा जुझिरहनुपर्ने एउटा अनवरत यात्रा हो। यही कारणले व्यवसायीहरू संगठित हुनु र संस्थागत रूपमा एक–अर्काको अनुभव तथा जानकारी बाँड्नु आजको आवश्यकता बनेको छ।

बेल्जियम आएका नेपालीहरूले क्रमशः एउटा इमानदार कामदारबाट सफल व्यवसायीका रूपमा पहिचान निर्माण गर्न सक्नु नेपाली समाजका लागि पनि गर्वको विषय हो।

नेपाली व्यवसायी संघ बेल्जियम एउटा साझा छाता संगठनको रूपमा नेपाली मूलका व्यवसायीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना भएको हो। यस संस्थाको जग केही चार–छ जना व्यवसायीहरूको उपस्थितिबाट सुरु भएको हो। ती अग्रणी, आदर्णीय अग्रज व्यवसायीहरूले त्यसबेलै नेपाली नागरिकहरूको व्यवसायिक उपस्थिति देखेर भविष्यमा यस्तो संस्थाको आवश्यकता महसुस गरेका कारण, आज हामीले गर्व गर्न सकिने संस्थाको रूपमा बेल्जियममा नेपाली व्यवसायी संघलाई लिन सकिन्छ।

सन् २००६ मा आधिकारिक रूपमा स्थापना भई सन् २००९ मा बेल्जियन कानुनअनुसार औपचारिक दर्तासहित संस्था सक्रिय भयो। यसको मूल उद्देश्य बेल्जियममा नेपाली व्यवसायिक हित बलियो बनाउनु र बेल्जियन तथा नेपाली व्यवसायबीच सहकार्य तथा सम्बन्ध विस्तार गर्नु हो। लगभग दुई दशकको उमेर पार गरिसकेको यस संस्थासँगै नेपाली समुदायले व्यवसायिक क्षेत्रमा बेल्जियममा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। समाजमा एउटा अग्रणी संस्थाको रूपमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको यस संघले नेपाली व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायको क्षेत्रमा आइपर्ने समस्यासँग जुध्न सहयोग गरिरहेको छ।

त्यसो भए, ती कस्ता समस्याहरू हुन् जसलाई बिना ठूलो लगानी र आफ्नै साना प्रयासबाट पनि व्यवसायिक जीवनमा केही हदसम्म सफलता हासिल गर्न, आर्थिक नोक्सान घटाउन र व्यवसायिक असफलता टार्न सकिन्छ?

१. भ्याट र कर प्रणालीको जटिलता

बेल्जियममा व्यवसाय सञ्चालन गर्दा भ्याट (मूल्य अभिवृद्धि कर) र कर प्रणाली बुझ्नु अत्यन्तै महत्वपूर्ण छ, तर यो धेरैलाई जटिल र अलमल पार्ने खालको हुन्छ। यहाँ विभिन्न प्रकारका व्यवसाय र सेवाअनुसार फरक–फरक भ्याट दर लागू हुन्छ। उदाहरणका लागि, दैनिक उपभोग्य खाद्य वस्तुहरूमा सामान्यतया ६% भ्याट लाग्छ, रेस्टुरेन्ट वा खानपान सेवामा १२% भ्याट लाग्छ, भने अन्य मदिरा र धेरैजसो सामान तथा सेवामा २१% भ्याट लागू हुन्छ।

समस्या के हो भने, कहिलेकाहीँ सरकारले विशेष परिस्थितिमा (जस्तै ऊर्जा संकट, महामारी आदि) यी दरहरू अस्थायी रूपमा परिवर्तन गर्छ। यदि व्यवसायीलाई समयमै यस्तो परिवर्तनको जानकारी भएन भने गलत भ्याट दरमा बिल काट्न सकिन्छ। यसले विशेष गरी रेस्टुरेन्ट तथा खुद्रा व्यवसायमा प्रयोग हुने “कासा प्रणाली” (cash register system) मा समस्या ल्याउँछ, किनकि कासा प्रणालीमा देखिएको बिक्री र वास्तविक हिसाब (accounting) बीच फरक देखिन सक्छ। जब कर विभागले निरीक्षण गर्छ, त्यस्तो असमानता भेटिएमा ठूलो जरिवाना, थप कर तिर्नुपर्ने अवस्था, वा कहिलेकाहीँ कानुनी समस्यासमेत आउन सक्छ।यसका साथै भ्याट घोषणा (भ्याट return) पनि समयमै र सही रूपमा बुझाउनु अत्यन्त जरुरी छ।

लगभग दुई दशकको उमेर पार गरिसकेको यस संस्थासँगै नेपाली समुदायले व्यवसायिक क्षेत्रमा बेल्जियममा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ।

धेरैजसो साना तथा मध्यम व्यवसायले त्रैमासिक भ्याट घोषणा गर्छन्, जसमा प्रत्येक तीन महिनापछि आफ्नो बिक्री, खरिद र तिरेको भ्याट को विवरण सरकारलाई दिनुपर्छ। केही ठूला व्यवसायले भने मासिक रूपमा भ्याट घोषणा गर्नुपर्ने हुन्छ। यसका अतिरिक्त, प्रत्येक वर्ष आयकर सम्बन्धी वार्षिक घोषणा पनि निर्धारित समयभित्र बुझाउनुपर्छ। यदि यी समयसीमाहरू पालना गरिएन भने ढिलाइ शुल्क ,ब्याज वा जरिवाना लाग्न सक्छ।

धेरै नेपाली व्यवसायी साथीहरूले यी नियमहरू राम्ररी नबुझ्दा अनावश्यक आर्थिक क्षति भोग्नु परेका उदाहरणहरू प्रशस्त छन्। यस समस्याबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय भनेको सुरुमै आफ्नो व्यवसायको प्रकृति अनुसार कुन भ्याट दर लागू हुन्छ र कुन–कुन समयमा घोषणा गर्नुपर्छ भन्ने कुरा आफ्नो लेखापालसँग स्पष्ट रूपमा बुझ्नु हो।

२. व्यवसाय सुरु गर्ने प्रक्रिया, अनुमतिपत्र र प्रशासनिक दर्ता

बेल्जियममा व्यवसाय सुरु गर्दा केवल अनुमतिपत्र मात्र होइन, विभिन्न सरकारी डिजिटल प्लेटफर्म र कर प्रणालीमा सही रूपमा दर्ता हुनु पनि अनिवार्य हुन्छ। धेरैजसो व्यवसायीहरूलाई यी प्रशासनिक दर्ताको बारेमा जानकारी नहुँदा पछि कर, भ्याट वा अन्य कानुनी प्रक्रियामा समस्या आउँछ।

बेल्जियमको कर विभाग अन्तर्गत विभिन्न “Mandaattype” हरू हुन्छन्, जसले तपाईंको लेखापाल (boekhouder) वा प्रतिनिधिलाई तपाईंको तर्फबाट काम गर्न अधिकार दिन्छ। यी प्रत्येकको फरक–फरक भूमिका हुन्छ: BTW भ्याट सम्बन्धी सबै घोषणा, रिपोर्टिङ र कर प्रक्रिया यही अन्तर्गत पर्छ। यो प्रत्येक भ्याट दर्ता भएको व्यवसायका लागि अनिवार्य हो। BIZTAX  कम्पनी (BV, NV आदि) को कर्पोरेट कर घोषणा बुझाउन प्रयोग हुन्छ। UBO-REGISTER  वास्तविक लाभग्राही व्यक्ति दर्ता: जसमा कम्पनीका वास्तविक मालिक (shareholder) हरूको विवरण अनिवार्य रूपमा राख्नुपर्छ। e-DEPO कम्पनीको वार्षिक वित्तीय विवरण (jaarrekening) राष्ट्रिय बैंक अफ बेल्जियम मा जमा गर्न प्रयोग गरिन्छ। FISCALE WOONPLAATS  कर सम्बन्धी आधिकारिक ठेगानाको जानकारीका लागि प्रयोग हुन्छ। ROERENDE VOORHEFFING  लाभांश, ब्याज जस्ता आम्दानीमा लाग्ने कर कटौती सम्बन्धी प्रक्रियाका लागि प्रयोग हुन्छ। FINPROF वित्तीय प्रोफाइल र कर प्रशासनसँग सम्बन्धित अतिरिक्त विवरणहरू प्रकाशन गर्न प्रयोग हुन्छ। GESCHILLEN  कर विवाद (tax disputes) वा अपील प्रक्रियामा प्रयोग हुन्छ। DOUANE PRO आयात,निर्यात  सम्बन्धी काम गर्ने व्यवसायका लागि प्रयोग हुन्छ।

यदि यी अधिकारपत्रहरू सही रूपमा स्थापना गरिएको छैन भने तपाईंको लेखापालले तपाईंको भ्याट वा कर दाखिला गर्न सक्दैन, सरकारी पत्रहरू समयमै नपाउन सक्नुहुन्छ, समयसीमा छुट्न सक्छ र जरिवाना लाग्न सक्छ। यसका साथै, FAVV (खाद्य सुरक्षा एजेन्सी), पालिका अनुमति र अग्निसुरक्षा प्रमाणपत्र नभएमा व्यवसाय नै बन्द गरिन सक्छ। त्यसैले, प्रशासनिक दर्ता र अनुमतिपत्र दुवै बराबर महत्वपूर्ण छन्।

३. कर्मचारी राख्दाको लागत र सामाजिक सुरक्षा कोषको जटिलता

बेल्जियममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूका लागि कर्मचारी राख्नु एउटा महत्वपूर्ण तर जटिल निर्णय बनेको छ। धेरैजसो साना तथा नयाँ व्यवसायीहरूले केवल तलब मात्र हेरेर योजना बनाउने गर्छन्, तर वास्तविक लागत निकै उच्च हुन्छ। यहाँ कर्मचारी राख्नु भनेको तलब मात्र होइन, सामाजिक सुरक्षा कोष (RSZ), बीमा, कर र प्रशासनिक खर्चहरूको ठूलो जिम्मेवारी लिनु हो।

बेल्जियममा व्यवसाय सुरु गर्दा केवल अनुमतिपत्र मात्र होइन, विभिन्न सरकारी डिजिटल प्लेटफर्म र कर प्रणालीमा सही रूपमा दर्ता हुनु पनि अनिवार्य हुन्छ। धेरैजसो व्यवसायीहरूलाई यी प्रशासनिक दर्ताको बारेमा जानकारी नहुँदा पछि कर, भ्याट वा अन्य कानुनी प्रक्रियामा समस्या आउँछ।

बेल्जियमको सामाजिक सुरक्षा प्रणाली अन्तर्गत नियोक्ताले कर्मचारीको तलबमा आधारित करिब २५% अतिरिक्त RSZ योगदान तिर्नुपर्छ। उदाहरणका लागि, €२,५०० कुल तलब भएको कर्मचारीका लागि कुल खर्च €३,८०० देखि €४,१०० सम्म पुग्न सक्छ। यसका साथै नियोक्ताले वार्षिक बिदा भत्ता (vakantiegeld), १३औँ महिना तलब (eindejaarspremie), कामको दुर्घटना बीमा र बिरामी बिदाको प्रारम्भिक खर्च पनि व्यहोर्नुपर्छ। धेरै क्षेत्रमा यात्रा भत्ता, meal vouchers लगायतका अतिरिक्त सुविधाहरू पनि दिनुपर्ने हुन्छ, जसले गर्दा वास्तविक लागत अझै बढ्छ।

४. बेल्जियम सरकारद्वारा उपलब्ध अनुदानबारे पर्याप्त जानकारीको अभाव

बेल्जियममा व्यवसाय सञ्चालन गर्ने धेरै व्यवसायीहरू सरकारी छुट र सहुलियतहरूबारे पर्याप्त जानकारी नहुँदा ठूलो आर्थिक लाभबाट वञ्चित भइरहेका छन्। विशेषगरी कर्मचारी राख्दा सरकारले दिने RSZ छुटहरू अत्यन्त उपयोगी भए पनि जानकारीको अभावले धेरैले प्रयोग गर्न सकेका छैनन्।

बेल्जियम सरकारले नयाँ व्यवसायीहरूलाई पहिलो, दोस्रो र तेस्रो कर्मचारी राख्दा RSZ मा महत्वपूर्ण छुट प्रदान गर्छ, जुन प्रति पूर्ण समय (Full Time)कर्मचारी प्रति त्रैमासिक करिब €४,००० सम्म हुन सक्छ। यसैगरी, २५ वर्षमुनिका युवा तथा ५५ वर्षभन्दा माथिका कर्मचारीहरू राख्दा थप €५०० देखि €१,५०० सम्मको अतिरिक्त छुट पाइन्छ। यी सुविधाहरूले व्यवसायको प्रारम्भिक लागत उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छन्, तर धेरै व्यवसायीहरू यस्ता अवसरबारे अनभिज्ञ छन्।

५. लेखापालको गल्ती र कर प्रणालीमा हुने निरीक्षणको जोखिम

बेल्जियममा कर प्रणाली जटिल, डिजिटल र भाषिक दृष्टिले कठिन भएकाले धेरै व्यवसायीहरू लेखापाल (accountant) मा निर्भर रहने गर्छन्, तर केही अवस्थामा लेखापालका साना गल्तीहरूले पनि ठूलो आर्थिक नोक्सान निम्त्याउने गरेको देखिएको छ। कानुनी रूपमा व्यवसायी आफैंले पनि आफ्नो कर सम्बन्धी जिम्मेवारी बुझ्नुपर्ने अनिवार्य हुन्छ र अन्तिम रूपमा साहु नै जिम्मेवार हुन्छ, तर व्यवहारमा सबै कुरा लेखापाललाई जिम्मा दिँदा जोखिम बढ्ने गरेको छ।

सामान्य तर गम्भीर गल्तीहरूमा प्रत्येक खर्चको बिल नदेखाउनु प्रमुख हो, जसले गर्दा कम्पनीको खर्च कम देखिन्छ र अनावश्यक रूपमा बढी कर तिर्नुपर्छ। त्यस्तै, “te ontvangen” invoice गलत तरिकाले राख्दा कर विभागले शंकास्पद मानेर निरीक्षण (inspection) को सम्भावना बढ्छ। कम्पनीको गाडी, मोबाइल जस्ता सुविधाहरू “voordeel alle aard” मा नराख्दा पछि सामाजिक निरीक्षण बाट ठूलो जरिवाना आउन सक्छ।

अर्को ठूलो समस्या भनेको सञ्चालकको चालु खाता (Director Rekening-Courant — R/C 416000) को गलत बुकिङ हो। केही लेखापालहरूले कम्पनीका खर्चहरू सञ्चालकको व्यक्तिगत खातामा राख्ने गर्छन्, जसले गर्दा अन्ततः सञ्चालकले कम्पनीलाई पैसा फिर्ता गर्नुपर्ने अवस्था आउँछ। यो समस्या विशेषगरी धेरै नेपाली व्यवसायीहरूमा देखिएको छ।

यस जोखिमलाई कम गर्न विशेषज्ञहरूले सुझाव दिएका छन् कि वर्षको सुरुदेखि नै लेखापालसँग नियमित रूपमा सबै बिलहरू बुझाउने प्रणाली बनाउनु आवश्यक छ। साथै, वार्षिक कर घोषणा अघि 416000 र 444000 जस्ता महत्वपूर्ण लेखा कोडहरू जाँच गरेर मात्र अन्तिम हिसाब स्वीकृत गर्नु बुद्धिमानी मानिन्छ। सही निगरानी र जानकारीको अभावले व्यवसायलाई ठूलो आर्थिक र कानुनी जोखिममा पार्न सक्छ।

६. कम्पनी अधिग्रहण (Overname) मा लुकेका जोखिमहरू — नयाँ व्यवसायीहरूका लागि सतर्कता आवश्यक

बेल्जियममा अर्को मालिकबाट व्यवसाय किन्ने क्रममा धेरै व्यवसायीहरूले बाहिरी पक्षहरू जस्तै बिक्री, स्थान र भौतिक अवस्था मात्र ध्यान दिने गर्छन्। तर वास्तविक जोखिम भने कम्पनीको भित्री लेखा प्रणाली र वित्तीय विवरणमा लुकेको हुन्छ। यदि यी पक्षहरूको गहिरो जाँच नगरी व्यवसाय अधिग्रहण गरियो भने, नयाँ मालिकलाई पछि ठूलो आर्थिक र कानुनी समस्यामा पर्नुपर्ने अवस्था आउन सक्छ।व्यवसाय किन्नु अघि विशेष रूपमा केही महत्वपूर्ण लेखा कोडहरू र विवरणहरू जाँच्नु अत्यावश्यक हुन्छ:

    • ५७०००१ (Kas) — देखाइएको नगद मौज्दात वास्तविकसँग मिलेको छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ।
    • ५५०००१ (Openstaande Ontvangsten) — देखिएको बाँकी रकम वास्तवमै उठ्न सक्ने हो कि होइन भन्ने बुझ्नुपर्छ।
    • ४४४००० (Te Ontvangen Invoice) — अन्तर्गत रहेका बिलहरू विवादास्पद वा अपुष्ट छन् कि छैनन् भन्ने जाँच नगरेमा पछि कर सम्बन्धी समस्या आउन सक्छ।
    • ७००००० (Verkoop/Sales) — देखाइएको बिक्री तथ्यांक सही र वास्तविक हो कि होइन भन्ने पुष्टि गर्नु अत्यन्त आवश्यक हुन्छ।
    • ४१६००० (R/C Bestuurders) — सञ्चालकसँग सम्बन्धित कुनै ऋण वा व्यक्तिगत लेनदेन बाँकी छ कि छैन भन्ने जाँच गर्नुपर्छ। धेरै अवस्थामा यस्ता रकमहरू नयाँ मालिकको जिम्मामा आउन सक्छन्।

साथै, कम्पनीले सरकार (कर, सामाजिक सुरक्षा कोष) वा आपूर्तिकर्ताहरूलाई कुनै बाँकी ऋण राखेको छ कि छैन भन्ने स्पष्ट रूपमा बुझ्नु अनिवार्य हुन्छ। यी सबै पक्षहरूलाई बेवास्ता गर्दा व्यवसाय किनेपछि अनपेक्षित ऋण, कर समस्या वा कानुनी झन्झटहरू सामना गर्नुपर्ने जोखिम उच्च हुन्छ। किन्ने व्यवसायको लागि तपाईंले सधैं सरकारसँग कुनै समस्या र ऋण नभएको clearance certificate लिनु जरुरी हुन्छ।

७. व्यक्तिगत खर्च र व्यावसायिक निर्णयमा गल्ती — लुकेका आर्थिक जोखिमहरू

बेल्जियममा व्यवसाय सञ्चालन गर्ने क्रममा धेरै व्यवसायीहरूले व्यक्तिगत र व्यावसायिक खर्चलाई स्पष्ट रूपमा छुट्याउन नसक्दा ठूलो आर्थिक नोक्सान व्यहोर्नुपरेको देखिन्छ। व्यवसायका लागि किनेका सामानहरू र घरायसी प्रयोगका वस्तुहरू एउटै बिलमा राख्नु वा कम्पनीको खाताबाट व्यक्तिगत खर्च गर्नु कानुनी रूपमा गम्भीर गल्ती हो। यस्तो अवस्थामा ती सबै रकम “Rekening-Courant” मा बुक हुन्छ र अन्ततः व्यवसायीले त्यो पैसा कम्पनीलाई फिर्ता गर्नुपर्छ। यदि अघिल्लो वर्षको हिसाब बन्द भइसकेको छ भने थप जरिवाना र ब्याजसमेत तिर्नुपर्ने जोखिम हुन्छ। यसैले, व्यवसाय र व्यक्तिगत खर्चका लागि सधैं छुट्टाछुट्टै भुक्तानी माध्यम प्रयोग गर्नु अत्यावश्यक मानिन्छ।

त्यसैगरी, कम्पनीको गाडी खरिद गर्दा पनि धेरै व्यवसायीहरूले सस्तो देखिने व्यक्तिगत कार रोज्ने गर्छन्, जुन दीर्घकालीन रूपमा महँगो साबित हुन्छ। उदाहरणका लागि, €११,००० को व्यक्तिगत कार सस्तो देखिए पनि यसमा भ्याट फिर्ता, कर कटौती र इन्धन तथा मर्मत खर्चमा सीमित वा शून्य सुविधा पाइन्छ। अर्कोतर्फ, €१६,००० को हल्का भान (व्यावसायिक गाडी) मा भ्याट फिर्ता, कर कटौती र इन्धन तथा मर्मत खर्चको १००% सम्म कटौती सुविधा पाइन्छ। यसरी हेर्दा सुरुमा €५,००० महँगो देखिने गाडी वास्तवमा पहिलो वर्षमै €५,००० भन्दा बढी बचत गराउने विकल्प बन्न सक्छ। र यसको ४ वर्षको हिसाब हेर्ने हो भने कम्पनीले वार्षिक रूपमा ठूलो लाभ लिन सक्छ।

८. सामूहिक खरिदमा एकरूपताको अभाव र विश्वासको कमी

बेल्जियममा व्यवसाय सञ्चालन गर्ने नेपाली व्यवसायीहरूबीच एकरूपताको अभाव र आपसी विश्वासको कमीका कारण सामूहिक खरिद (bulk purchasing) जस्तो प्रभावकारी उपायको पूर्ण लाभ लिन सकिएको छैन। वास्तवमा, सामूहिक खरिद लागत घटाउने सबैभन्दा प्रभावकारी माध्यममध्ये एक मानिन्छ, विशेषगरी कासा प्रणाली, भुक्तानी सेवा प्रदायक (payment provider), बिजुली–ग्यास वितरक, लेखापाल, सामाजिक सचिवालय (Social Secretariat), स्वरोजगार सामाजिक योगदान, सामाजिक बीमा सेवा, तथा Takeaway.com र बीमा (insurance) जस्ता अनिवार्य सेवा र सामग्रीहरूमा।

समाजमा एउटा अग्रणी संस्थाको रूपमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको यस संघले नेपाली व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायको क्षेत्रमा आइपर्ने समस्यासँग जुध्न सहयोग गरिरहेको छ।

यदि व्यवसायीहरू एकजुट भएर एउटै सेवा प्रदायक वा आपूर्तिकर्तासँग सहकार्य गर्छन् भने मूल्यमा एकरूपता ल्याउन सकिन्छ र ठूलो आर्थिक छुट प्राप्त गर्न सकिन्छ। उदाहरणका लागि, सामाजिक सचिवालय (sociaal secretariaat) एक अनिवार्य सेवा हो, जसले तलब भुक्तानी र RSZ सम्बन्धी सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्छ। तर, विभिन्न कम्पनीहरूले एउटै सेवाका लागि फरक फरक शुल्क लिने गरेका छन्  कसैले प्रति तलब पत्र €२२ तिर्ने गरेको छ भने अर्काले सोही सेवाका लागि €६० भन्दा बढी तिर्नुपरेको देखिन्छ। यस्तो अन्तरका कारण यदि सामूहिक रूपमा सम्झौता नगर्ने हो भने एउटै सेवाका लागि केही व्यवसायीहरूले वर्षमा €४,५०० देखि €५,००० सम्म अतिरिक्त खर्च गर्नुपरेको अवस्था देखिन्छ।

९. व्यवसायलाई समय, परिस्थिति र आवश्यकता अनुसार अनुकूल बनाउन नसक्नु

धेरै व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा समय, परिस्थिति र बजारको आवश्यकता अनुसार आफूलाई परिवर्तन गर्न नसक्दा दीर्घकालीन रूपमा ठूलो जोखिम व्यहोर्नुपरेको देखिन्छ। अझै पनि धेरैले उचित योजना (planning), स्थान छनोट र लगानीको स्पष्ट खाका बिना नै व्यवसाय सुरु गर्ने प्रवृत्ति देखिन्छ, जसले पछि आर्थिक घाटा निम्त्याउने गरेको छ।

हालको व्यवसायिक वातावरण परम्परागत मोडेलबाट डिजिटल र स्वचालन तर्फ तीव्र रूपमा सरेको छ। तर हाम्रो समुदायमा यसबारे पर्याप्त जानकारी र प्रविधिको प्रयोगको कमी हुँदा धेरै व्यवसायीहरूले हरेक वर्ष ठूलो अवसर गुमाइरहेका छन्। उदाहरणका लागि, आफ्नो व्यवसायलाई डिजिटल रूपमा प्रस्तुत गर्ने (online showcase), स्वचालन प्रविधि प्रयोग गर्ने तथा नयाँ प्रविधिमार्फत नयाँ ग्राहक खोज्ने अभ्यास अझै व्यापक रूपमा अपनाइएको छैन।

आजको समयमा एउटा साधारण वेबसाइट वा अनलाइन प्लेटफर्ममार्फत घरमै बसेर ठूलो परिमाणमा बिक्री–वितरण गर्न सकिन्छ। तर अझै पनि धेरै व्यवसायीहरू पुरानै शैलीमा ठूलो लगानी गरेर भौतिक (physical) स्थानमा मात्र निर्भर रहने गर्छन्, जसले दीर्घकालीन रूपमा व्यवसायलाई जोखिममा पार्न सक्छ। यसका साथै, कहाँ व्यवसाय गर्ने, कस्ता ग्राहकहरूलाई लक्षित गर्ने र बजारको माग अनुसार रणनीति बनाउने जस्ता आधारभूत निर्णयहरूमा स्पष्टता नहुँदा पनि धेरै व्यवसायहरू असफल हुने गरेको देखिन्छ।

१०. अनुभवी कर्मचारीको छनोट र सेवा तथा वस्तुको मूल्य समायोजन सही रूपमा नगर्नु

व्यवसाय सञ्चालनका अनेक महत्वपूर्ण पक्षहरूमध्ये कर्मचारीको छनोट प्रक्रिया एउटा यस्तो क्षेत्र हो जहाँ हामी बारम्बार ठूलो गल्ती गरिरहेका हुन्छौं। कर्मचारीको अभाव र खर्च कम होस् भन्ने सोचले गर्दा हामी प्रायः सही कर्मचारीको पहिचान गर्न सक्दैनौं, जसले गर्दा व्यवसायमा पहिलो गाँसमै ढुंगा भनेजस्तै हुन्छ।

एक दक्ष र अनुभवी कर्मचारीले जुन काम २ घण्टामा सही तरिकाले सम्पन्न गर्न सक्छ, त्यही काम अनुभव नभएको व्यक्तिले ४–५ घण्टा लगाउँछ। यसले समय मात्र होइन, आर्थिक बोझ पनि दोब्बर बनाउँछ। छोटो समयमा बचाएको केही पैसाले दीर्घकालमा धेरै गुणा बढी खर्च गराउने गर्छ। कर्मचारी छनोट गर्दा केवल तलब सस्तो पर्छ कि भनेर मात्र नहेरी, त्यो व्यक्तिले व्यवसायमा दिन सक्ने performance, उत्पादकता, गुणस्तर र ग्राहक सन्तुष्टिको मूल्यांकन गर्नु अत्यन्त आवश्यक हुन्छ। एक राम्रो कर्मचारीलाई दिइने अतिरिक्त तलबभन्दा कहीं बढी खर्च हुने गर्दछ एउटा बिना अनुभवको कर्मचारी राख्दा।

अर्को त्यत्तिकै महत्वपूर्ण विषय भनेको सेवा र वस्तुको मूल्य समयमा समायोजन नगर्नु हो। हामी प्रायः नजिकको अर्को उस्तै प्रकृतिको व्यवसाय वा आफ्ना साथीहरूसँग मिल्दोजुल्दो मूल्य राख्दा कहिलेकाहीँ उसको खर्च र आफ्नो खर्चमा विभिन्न कारणले ठूलो भिन्नता हुन सक्छ — जस्तै घरभाडा, स्थान, ग्राहकको प्रकार, आफूले दिने सुविधा आदि। यस्ता कारण हुँदाहुँदै पनि हामी प्रायः एउटै मूल्यमा वर्षौंसम्म व्यवसाय चलाइरहन्छौं — बजारमा कच्चा पदार्थको मूल्य बढे पनि, ऊर्जा खर्च बढे पनि वा RSZ तथा अन्य शुल्क बढे पनि।

यस्तो स्थिरताले ग्राहकलाई खुसी पार्छ भन्ने सोच गलत हो। वास्तवमा यसले व्यवसायको नाफाको मार्जिन क्रमशः घटाउँदै लैजान्छ र अन्ततः घाटाको अवस्थामा पुर्‍याउँछ। सही मूल्य समायोजन भनेको ग्राहकलाई ठग्नु होइन — यो व्यवसायलाई दिगो र स्वस्थ राख्नका लागि अनिवार्य कदम हो। बजार दर, प्रतिस्पर्धी मूल्य र आफ्नो लागत संरचनाको नियमित समीक्षा गरेर समयमा सानो–सानो मूल्य समायोजन गर्नु, एकपटकमा ठूलो मूल्यवृद्धि गर्नुभन्दा धेरै व्यावहारिक र ग्राहकमैत्री हुन्छ।

समग्रमा:बेल्जियमको सन्दर्भमा नेपाली समाज अत्यन्त तीव्र रूपमा बढ्दो छ, जसको मुख्य कारण बेल्जियममा सामाजिक सुरक्षा संसारकै उत्कृष्टमध्ये एक मानिनु हो। यहाँ आफ्नो निजी निवास खरिद गरेर बस्न हालसम्म पनि अन्य युरोपेली देशहरूको तुलनामा केही सहज छ। त्यसको फलस्वरूप बेल्जियमलाई अन्तिम स्थायी थलो बनाएर आउने क्रम तीव्र रूपमा बढ्दै गएको छ, र त्यससँगै व्यवसाय गर्ने क्रम पनि ह्वात्तै बढेर आएको छ।

भाषिक समस्या भए पनि देखासिकीमा व्यवसायमा हाम फाल्ने र उचित सूचनाको अभावले कैयौँ नेपाली व्यवसायीहरूले सोचेभन्दा नकारात्मक नतिजा भोग्नुपरेको छ, भने प्रतिशतमा हेर्ने हो भने राम्रो गर्ने समुदाय पनि धेरै छन्। त्यसैले नेपालीहरू एउटा क्रमशः इमानदार कामदारबाट सफल व्यवसायीका रूपमा पनि आफ्नो पहिचान निर्माण गर्न सक्नु आफैंमा नेपाली समाजका लागि गर्वको विषय हो।

त्यसैले माथि उल्लेख भएका विषयहरूका बारेमा विगत लामो समयदेखि नेपाली व्यवसायी संघ बेल्जियमले समय र परिस्थितिअनुरूप विभिन्न कार्यक्रम, गोष्ठी र तालिमको व्यवस्था गर्नुका साथै सामूहिक खरिद प्रक्रियामा पनि काम गर्दै आएको छ। आउने कार्यसमितिले पनि कम्तीमा माथि उल्लेखित प्रत्येक क्षेत्रमा आधारित भएर कार्यक्रम गर्न सके, नेपाली व्यवसायीहरूले गरेको व्यवसायलाई ठूलो आर्थिक राहत दिनुका साथै उनीहरूको सपना साकार गरी उनीहरूलाई बेल्जियममा उत्कृष्ट व्यवसायीका रूपमा स्थापित गर्न सकिन्छ भन्ने लाग्दछ।

(१५ वर्षदेखि बेल्जियममा  रहेर व्यवसाय गर्दै आएका दनै नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष हुन्।)

लेखक
कासी दनै

(१५ वर्षदेखि बेल्जियममा  रहेर व्यवसाय गर्दै आएका दनै नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?