News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार लगानीकर्ता संघले नयाँ नीतिगत व्यवस्था खारेजीको माग गर्दै सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ।
- नयाँ व्यवस्थाअनुसार नेप्से परिसूचकको सर्किट ब्रेक सीमा ६ प्रतिशतबाट ८ प्रतिशतमा र सेयर मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट १५ प्रतिशतमा बढाइएको छ।
- संघले पर्याप्त अध्ययनविना नयाँ व्यवस्था लागू गरिएको र यसले सर्वसाधारण लगानीकर्ताको पूँजीमा गम्भीर असर पार्नसक्ने आरोप लगाएको छ।
७ वैशाख, काठमाडौं । नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्था खारेजीको माग गर्दै सार्वजनिक लेखा समितिमा निवेदन परेको छ ।
सेयर बजार लगानीकर्ता संघले षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा नयाँ व्यवस्था गरिएको आरोप लगाउँदै खारेजीको माग गर्दै निवेदन दिएको हो । नयाँ नीतिगत व्यवस्था सोमबारदेखि नै लागु भइसकेको छ । संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
संघका अध्यक्ष हरिबहादुर केसीद्वारा हस्ताक्षरित निवेदनमा नयाँ व्यवस्था खारेजीको माग गरिएको हो । नयाँ व्यवस्थाअनुसार नेप्से परिसूचक एक दिनमा ८ प्रतिशत घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार स्थगित हुनेछ । यसअघि ६ प्रतिशत रहेको सीमालाई आजदेखि बढाइएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य उतारचढाव सीमा दैनिक १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।
संघले पर्याप्त अध्ययनविना यी व्यवस्था लागु गरिएको आरोप लगाएको छ । ‘नयाँ व्यवस्थाले एकल कम्पनीको शेयर मूल्यमा एकैदिन ३० प्रतिशतसम्म उतारचढाव हुँदा जोखिम बढाउनेछ, जसले सर्वसाधारण लगानीकर्ताको पूँजीमा गम्भीर असर पार्नसक्छ’ संघले भनेको छ ।
त्यस्तै, विदेशमा रहेका लगानीकर्ताले चौबिसै घण्टा खरिद–बिक्री आदेश दिनसक्ने सुविधा सकारात्मक भएपनि आवश्यक कानुनी प्रक्रिया पूरा नगरी लागु गरिएको संघको जिकिर छ ।
प्रतिक्रिया 4