News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी संस्थाबाट बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारीमा विभिन्न पक्षसँग छलफल गरेको छ।
- मन्त्री प्रतिभा रावलले चार्टर्ड एकाउन्टेन्ट, महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल र सीआईबी प्रमुख एआईजी मनोज केसीसँग निक्षेप फिर्ता प्रक्रियाको कानुनी र अनुसन्धान अवस्थाबारे छलफल गर्नुभएको छ।
- महान्यायाधिवक्ता र सीआईबी प्रमुखले निक्षेप फिर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न र रकम असुली तीव्र बनाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
९ वैशाख, काठमाडौँ । सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ ।
समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधबार बिहान मन्त्री प्रतिभा रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी हुन् ।
लगत्तै महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरिन् ।
समस्याग्रस्त सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाका विषयमा महान्यायाधिवक्ता डा.कँडेलले मन्त्रीलाई जानकारी गराउनु भएको थियो भने अनुसन्धानको अवस्थाबारे एआईजी केसीले ब्रिफिङ गरेका थिए ।
छलफलपछि महान्यायाधिवक्ता डा.कँडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
महान्यायाधिवक्ता डा.कँडेल बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले आवश्यक भूमिका खेल्ने बताए ।
‘समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क नै स्थापना भएको छ, यसले अझै प्रभावकारी भूमिका खेल्ने छ’ उनले भने ।
एआईजी केसीले सीआईबीले पनि आवश्यक समन्वय गर्ने बताए । एआईजी केसीले भने, ‘अनुसन्धानमा देखिएको केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ताका लागि सीआईबीले आवश्यक समन्वय गर्ने छ ।’
छलफलपछि मन्त्री रावलले सरकारले १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिनु पर्ने वातावरण सिर्जना नहोस् भन्ने ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया 4