११ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढेका कारण तातो लहर चल्ने पूर्वानुमान गरेको छ ।
आज मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने पूर्वानुमान छ । ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ,’ विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
विभागका अनुसार लुम्बिनीका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज, दाङ लगायतका क्षेत्रमा दिउँसोमा अत्यधिक गर्मी हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने छ ।
कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ ।
आज राति भने हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।
प्रतिक्रिया 4