+
+
Shares

गुल्मी महोत्सव सुरु

महोत्सवमा झन्डै ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा तम्घासमा पाँचौँ गुल्मी महोत्सव ११ वैशाखदेखि २३ वैशाखसम्म सञ्चालन हुने भएको छ।
  • महोत्सवमा करिब २५० वटा व्यापारिक स्टल रहनेछन् जसमा घरेलु उत्पादन, कृषि सामग्री, हस्तकला र लघु उद्योगका वस्तुहरू समावेश छन्।
  • महोत्सवमा झन्डै १ लाख दर्शक आउने र ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

११ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पाँचौँ गुल्मी महोत्सव आजदेखि सुरु भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा २३ वैशाखसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गरेका हुन् ।

महोत्सवको उद्घाटनसँगै तम्घास बजारमा आकर्षक शोभायात्रा निकालिएको थियो ।

शोभायात्रामा विभिन्न संघसंस्था, क्लब, आमा समूह, विद्यार्थी तथा समुदायहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले आ–आफ्ना भेषभूषा, कला र संस्कृतिको झल्को दिने प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख पन्थीले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यस्ता महोत्सवले स्थानीय व्यवसायीलाई बजार उपलब्ध गराउनुका साथै जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने धारणा राखे ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठका अनुसार यस वर्षको महोत्सवलाई अघिल्ला संस्करणभन्दा अझ व्यवस्थित, आकर्षक र उपलब्धिमूलक बनाउने लक्ष्य राखिएको छ ।

उनका अनुसार महोत्सवमा करिब २५० वटा व्यापारिक स्टल रहनेछन्, जसमा घरेलु उत्पादन, कृषि सामग्री, हस्तकला, लघु उद्योगका वस्तुहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

उपाध्यक्ष ताराप्रसाद भुसालले स्टल व्यवसायीहरूलाई उपभोक्तामैत्री मूल्यमा सामान बिक्री गर्न आग्रह गरिएको जानकारी दिए । कम नाफामा धेरै बिक्री को अवधारणाले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने विश्वास गरिएको उनले बताए ।

महोत्सवमा जलपरी, विभिन्न प्रकारका मनोरञ्जनात्मक पिङ, खेलकुद सामग्री तथा बालबालिकादेखि सबै उमेर समूहका लागि आकर्षक मनोरञ्जनका साधनहरू राखिने भएको छ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रचारप्रसार समिति संयोजक कृष्ण खनालका अनुसार यस वर्ष करिब १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।  महोत्सवमा झन्डै ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

तम्घासको चिदीचौर निर्माणधीन भएकाले तम्घासको नुनथला स्थित झन्डै ८ जना व्यक्तिको जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?