+
+
Shares

गुल्मी महोत्सव : पुराना सिप जोगाउँदै, स्थानीय बजार बढाउँदै

काठबाट बनाइने परम्परागत ठेकी निर्माण प्रक्रिया महोत्सवको मुख्य आकर्षण बनेको छ ।

अनिल खत्री अनिल खत्री
२०८३ वैशाख १५ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा जारी पाँचौं गुल्मी महोत्सवले स्थानीय उत्पादन, परम्परागत सिप र औद्योगिक वस्तुहरूको प्रवद्र्धनमा विशेष ध्यान दिएको छ।
  • महोत्सवमा काठबाट बनाइने परम्परागत ठेकी निर्माण प्रक्रिया प्रत्यक्ष देखाउने व्यवस्था गरिएको छ।
  • महोत्सव वैशाख ११ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ र यसले स्थानीय उत्पादन, उद्यमशिलता विकास र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

१५ वैशाख, गुल्मी । गुल्मीमा जारी पाँचौं गुल्मी महोत्सवले स्थानीय उत्पादन, परम्परागत सिप र औद्योगिक वस्तुहरूको प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । महोत्सवमा विशेषगरी घरायसी प्रयोजनका सामग्रीहरूलाई प्रदर्शनमा राखिएको छ ।

महोत्सवमा आएकाहरूलाई सामग्री हेर्न मात्र नभई कसरी तयार गरिन्छ भन्ने प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले विभिन्न स्टलहरूमा उत्पादन प्रक्रिया नै देखाइने व्यवस्था गरिएको छ ।

काठबाट बनाइने परम्परागत ठेकी निर्माण प्रक्रिया महोत्सवको मुख्य आकर्षण बनेको छ । गुल्मीको छत्रकोट गाउँपालिका–१, हुँगाका स्थानीय कारिगर यमन सुनारले महोत्सवस्थलमै बसेर ठेकी तयार गरिरहेका छन् ।

उनले प्रयोग गर्ने काठको छनोटदेखि लिएर आकार दिने, खोक्रो पार्ने र अन्तिम रूप दिने सम्पूर्ण प्रक्रिया दर्शकहरूले प्रत्यक्ष रूपमा हेर्न पाउने व्यवस्था मिलाइएको छ । यसले नयाँ पुस्तालाई परम्परागत सिपबारे जानकारी दिने र पुराना सिपको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सुनारले पुर्ख्यौलीरूपमा गिठीको काठबाट उत्पादित सामग्री बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । उनले ५०० देखि १२ हजारसम्मका ठेकी तयार गरेका छन् ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठका अनुसार, महोत्सवमा आउने दर्शकहरूलाई केवल उत्पादन देखाउने मात्र नभई त्यसको निर्माण प्रक्रिया बुझाउने उद्देश्य रहेको बताए ।

यसले स्थानीय कारिगरहरूको सिपलाई सम्मान दिनुका साथै बजार विस्तारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै, महोत्सवमा धातुबाट बनाइने घरायसी तथा घरेलु प्रयोजनका सामग्रीहरू पनि आकर्षणको केन्द्र बनेका छन् ।

स्याङ्जाको वालिङ–८ बाट आएका सन्तोष विश्वकर्माले फलामबाट उत्पादन गरेका विभिन्न सामग्रीहरू प्रदर्शनमा राखेका छन् । विशेषगरी २० किलो तौल भएको करिब ५५ हजार रुपैयाँ मूल्यको ठूलो खुकुरीले दर्शकहरूको ध्यान खिचिरहेको छ । उक्त खुकुरी सजावटी सामग्री मात्र नभई स्थानीय धातु सिपको उत्कृष्ट नमुना मानिएको छ ।

उनि पनि पुख्र्यौली रूपमा सामग्री उत्पादन गर्दै आएका छन् । यसैबाट ६ जनाको परिवारको खर्चसमेत जुटाउँदै आएको विश्वकर्माले बताए ।

महोत्सव वैशाख ११ गतेदेखि सुरु भई २३ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा कृषिजन्य उत्पादनहरू, हस्तकला सामग्री, घरेलु उद्योगका वस्तुहरू तथा विभिन्न औद्योगिक उत्पादनसमेत प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूको प्रबद्र्धन, उद्यमशिलता विकास तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । महोत्सवले जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको भुसालले बताए ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?