News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षाका कारण वीपी राजमार्ग मंगलटारमा अवरुद्ध हुँदा ६ सय २७ यात्रु आइतबार उद्धार गरिएको छ।
- रोशी खोलामा आएको बाढीले राजमार्गको विभिन्न डाइभर्सन बगाएपछि यात्रुहरू झोलुङ्गे पुल तारेर भकुण्डेसम्म पुर्याइएको छ।
- स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीले फसेका यात्रुलाई फलफूल, चाउचाउ, फ्रुटी र पानी वितरण गरेको छ।
१३ वैशाख, काभ्रेपलाञ्चोक । वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका ६ सय २७ यात्रुको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि वीपी राजमार्ग अन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टले रोशी खोलामा आएको बाढीले वीपी राजमार्गको विभिन्न स्थानको अस्थायी डाइभर्सन बगाएपछि शनिबार साँझदेखि मंगलटारमा अलपत्र परेका ६ सय २७ यात्रुको आइतबार बिहान उद्धार गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार राजमार्गमा अलपत्र परेका यात्रुलाई मंगलटारबाट झोलुङ्गे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको हो।
बाढीका कारण डाइभर्सन बगाएका कारण मंगलटारमा रोकिएका सवारी साधनहरू काठमाडौँ र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
डाइर्भसन बगाएर अलपत्र परेका सवारी साधनलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ । रोशी ९ मंगलटारमा रोकिएका करिब ८० सवारीका यात्रुलाई उद्धार गरिए पनि त्यसका सवारीचालक र सह चालक गरेर १२०-१२५ जना आफ्ना सवारी कुरेर बसेको प्रहरीले जानकारी दिएको छ ।

वीपी राजमार्गको रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल पसल ब्यवसायी तथा नेपाल प्रहरीको सहयोगमा भकुण्डेमा फलफूल, चाउचाउ, फ्रुटी, पानी वितरण समेत गरिएको छ ।
वर्षा कम भएसँगै बाढीले बगाएको डाइभर्सन बनाउने काम सुरु भएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
उनका अनुसार रोशी खोलाले बगाएका चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा तथा माम्तीमा गरि आठ स्थानबाट डाइभर्सन बनाउन सुरु भएको छ ।

प्रतिक्रिया 4