+
+
Shares

कुपिण्डे दहमा ‘कर्णाली चलचित्र महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको कुपिण्डे दहमा तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कार्यक्रम सम्पन्न भयो।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको सुटिङ हब बनाउन सरोकारवालाको एकीकृत प्रयास आवश्यक भने।
  • प्रदेश सरकारले सुटिङका लागि आउने निर्मातालाई विशेष सहुलियत र प्रोत्साहन दिने नीति अघि सारेको छ।

काठमाडौं । सल्यानको मनोरम पर्यटकीय गन्तव्य कुपिण्डे दह प्राकृतिक सौन्दर्यमा मात्र सीमित रहेन, यतिबेला यो थलो कर्णालीलाई विश्वसामु चिनाउने सिनेमाको पर्दा बन्न तम्सिएको छ ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने नारासहित आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन उक्त दहको किनारमा कार्यक्रम गरियो ।

केही दिनअघि सुर्खेतबाट महोत्सव सुरु भएको थियो । कर्णाली प्रदेशलाई छायांकन गन्तव्यका रूपमा विकास गर्ने र सम्भावित छायांकन स्थलको खोजी गर्ने उद्देश्य आयोजकको छ ।

सल्यानबाट प्रतिनिधिसभा सदस्य रमेश मल्लको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, वन वातावरण तथा उद्योग पर्यटनमन्त्री सुरेश अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सो अवसरमा सहभागी थिए ।

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष डीसीले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको सुटिङ हबका रूपमा उभ्याउन सरोकारवालाको एकीकृत र घनिभूत प्रयास अपरिहार्य रहेको औंल्याए ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले आफ्नो क्षेत्रमा छायांकनका लागि आउने जोकोही चलचित्रकर्मी तथा प्राविधिक टोलीलाई स्थानीय सरकारले पूर्ण संरक्षण, समन्वय र सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारले समेत कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत यस क्षेत्रमा सुटिङका लागि आउने निर्मातालाई विशेष सहुलियत र प्रोत्साहन दिने नीति अघि सारिसकेको जानकारी दिइएको छ ।

महोत्सवमा सहभागी चलचित्र निर्माता, लेखक तथा निर्देशकले कर्णालीको प्राकृतिक छटा र यहाँको मौलिक जनजीवन सिनेमाको कथावस्तुका लागि अत्यन्तै उर्वर भूमि भएको निष्कर्ष निकालेका छन् ।

फिल्म निर्माता सन्तोष सेन, विकास सुवेदी र प्रेम पुरीलगायतको उपस्थिति रहेको महोत्सवमा पूर्वरजिष्ट्रार महेन्द्रकुमार मल्लले सल्लाहकारको भूमिका निर्वाह गरे । स्थानीय कलाकार सपना शाही र संगीता बढुवाल लगायतले पस्किएको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले महोत्सवको माहोललाई रोमाञ्चक तुल्याएको थियो ।

महोत्सवले फिल्मको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने मात्र नभई स्थानीयस्तरमा प्रत्यक्ष रोजगारी सिर्जना गर्ने र विश्वव्यापी चासोको विषय बनेको जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने दीर्घकालीन लक्ष्यसमेत तय गरेको उल्लेख छ ।

रेडचेरी मिडियाको मूल आयोजना, नेपाल पर्यटन बोर्ड र स्थानीय तहको सहकार्य तथा चलचित्र विकास बोर्डको ऐक्यबद्धतामा महोत्सव आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?