News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला बजारको सुकुमवासी बस्तीमा अतिक्रमण हटाउन कमला सिँचाइ व्यवस्थापन कार्यालयले सूचना जारी गरेको छ।
- सूचनाले करिब ४५ घरपरिवारका सुकुमवासीहरू चिन्तित भएका छन् र उनीहरूले व्यवस्थापन गरेर मात्र बस्ती खाली गर्न सरकारसँग आग्रह गरेका छन्।
- कमला सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख रंधीरकुमार साहले अतिक्रमित जग्गा पहिचान गरी संरक्षण गर्ने संघीय सरकारको निर्देशन अनुसार सूचना जारी गरिएको बताउनुभयो।
१६ वैशाख, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला बजारको सुकुमवासी बस्तीकी ६७ वर्षीया पुनमदेवी पजियार मंगलबार निकै चिन्तित देखिन्थिन् । बसिरहेको स्थानबाट विस्थापित हुनुपर्ने त्रास उनको मनमा थियो ।
बस्तीको बीचमा रहेको मन्दिरको पिलरमा ३ वैशाखमा टाँसिएको सूचनाले उनलाई त्रसित बनाएको छ । बस्तीको पूर्वपट्टि रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जारी गरेको उक्त सूचनामा अतिक्रमण गरिएको जग्गा खाली गराउने उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘नहर प्रणालीको ‘राइट अफ वे’ तथा क्याम्पहरूको नापी–नक्सा बमोजिमको जग्गामा अतिक्रमण नगर्न र विगतमा गरिएको अतिक्रमण १५ दिनभित्र हटाउन अनुरोध गराइन्छ । म्यादभित्र अतिक्रमण नहटाइएमा कानुनबमोजिम कारबाही गरिने छ ।’

यो सूचना देखेपछि पुनमदेवीको चिन्ता झन् बढेको छ । चिन्ताले उनलाई खाना पनि रुच्न छाडेको छ । एक दशकअघि जनकपुरमा भोग्नुपरेको विस्थापनको पीडा फेरि दोहोरिने हो कि भन्ने डरले उनलाई सताएको छ ।
‘सूचना टाँसेको दिनदेखि म राम्ररी निदाउन सकेको छैन । राति नै आएर घर भत्काइदिन्छन् कि दिउँसो भत्काउँछन्, केही थाहा छैन,’ उनले भनिन् ।
एक दशकअघिसम्म उनको घर जनकपुरधाम उपमहानगरपालिका–१ सीताचोकस्थित रेल्वे स्टेसनको जग्गामा थियो । रेल्वे विस्तारका क्रममा घर भत्काइएपछि उनी सुरक्षित स्थानको खोजीमा कमला बजारको सुकुमवासी बस्तीमा परिवारसहित पुगिन् । हाल उनको सात जनाको परिवार छ । अब फेरि घर भत्काइएपछि कहाँ जाने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

उनी जस्तै चिन्तित छन् बस्तीका प्रमोद साह । पलदारी गरेर पाँच जनाको परिवार पाल्दै आएका साह ९ वर्षदेखि यस बस्तीमा फुसको घर बनाएर बस्दै आएका छन् । यसअघि उनी १८ वर्ष वीरगञ्जमा भाडामा बसेर मजदुरी गर्थे । छोरी लक्ष्मीको विवाह यतैतिर भएपछि सार्वजनिक जग्गा रहेको जानकारी पाएर यहाँ आएर बस्न थालेको उनको भनाइ छ ।
प्रमोदको पुर्ख्यौली घर महोत्तरीको पिपरा गाउँपालिका–७ रतौली हो । रोजगारीको खोजीमा दुई पटक विदेश (मलेसिया र कतार) जाँदा पनि उनलाई भाग्यले साथ दिएन । कतारमा कम्पनी बन्द भएपछि तीन महिनामै फर्किनुपर्यो भने मलेसियामा काम गर्ने क्रममा घाइते भएपछि फर्किन बाध्य भए । वैदेशिक रोजगारीको ऋण तिर्नकै लागि आफ्नो भागमा परेको पाँच कठ्ठा जग्गा र घडेरी बेच्नुपरेको उनले बताए ।

‘दुई पटक विदेश जाँदा भाग्यले साथ दिएन । त्यसै कारण भएको घर–घडेरी बेच्नुपर्यो । १८ वर्ष वीरगञ्ज गएर बसें । यहाँ बस्न पाइन्छ भनेर आएर बस्न थाल्यौं,’ उनले भने, ‘अब कमला सिंचाइले बस्ती खाली गर्न उर्दी जारी गरेको छ । हामी कहाँ जाने, कसरी बाँच्ने ?’
घर भत्काउनुअघि आफूहरूको उचित व्यवस्थापन गरिदिन उनले सरकारसँग आग्रह गरेका छन् ।
यसै बस्तीका देवु रावलको दिमागमा काठमाडौंका सुकुमवासी बस्तीहरू डोजरले भत्काइरहेको दृश्य दिमागमा घुमिरहन्छ । ‘उता डोजरले घर भत्काएको छ । हाम्रो पनि त्यसरी नै भत्काउने हो कि भन्ने शंका लागिरहेको छ,’ देवुले भने ।
सर्लाहीको सागरनाथ वन विकास परियोजनाको जंगल छेउबाट उनी यो बस्तीमा सरेको ११ वर्ष भयो । ‘यहाँ जग्गा खाली छ, बस्न दिन्छ भन्ने थाहा पाएपछि हामी सपरिवार आएका हौं । अब खाली गराउने भन्दै छन् । व्यवस्थापन गरेर भत्काए हुन्थ्यो । त्यसो भएन भने के गर्ने,’ रावल भन्छन् । उनी घर बनाउने काम गरेर ७ जनाको परिवार पाल्दै आएका छन् ।

बस्ती खाली गर्ने सूचनाले ६५ वर्षीय रामनाथ साह पनि डराएका छन् । ‘केही दिन अघि सूचना टाँसिएको थियो । अब हाम्रो के हुन्छ ? कहाँ जाने ?,’ उनको चिन्ता छ ।
उनी यो बस्तीमा आएको ११ वर्ष भयो । सिरहा मिर्चैयाको भगवतपुरमा उनको एक कठ्ठा जग्गा थियो । दुई वटा सडक गएपछि उनको जग्गा १० धुर बाँकी बस्यो । त्यो पनि ऋणमा बिक्यो । अनि सुकुमवासी भए । यहाँ बस्ती बस्न दिने कुरा चल्दै थियो, अनि यहाँ आएर बस्न थालेका हुन् ।
पुनमदेवी पजियार, प्रमोद साह, देवु रावल र रामनाथ साह मात्र होइन, यहाँ बस्नेहरू कुनै न कुनै नियतिले सुकुमवासी भए । अनि, सुरक्षित र बस्ने थातथलो खोज्दै यहाँ आइपुगे । यहाँ करिब ४५ घरपरिवार सुकुमवासी छन् । अहिले बस्ती खाली गर्ने सूचना टाँसले सिंगो सुकुमवासी बस्तीमा त्रासमा छ । कतिपय रातभर सुत्न सकेका छैनन् ।

पूर्व–पश्चिम राजमार्गसँगै यो बस्ती टाँसिएको छ । कमला नदीस्थित पोर्ताहामा पर्ने यो बस्तीमा कमला सिंचाई व्यवस्थापन कार्यालयको करिब दुई बिघा जग्गामा बसोबास छ । एक दर्जनभन्दा बढी जातजातिको बसोबास छ ।
कतिबेला आएर घरमा डोजर लगाइदिने हो भन्ने उनीहरूको चिन्ता छ । काठमाडौंमा सुकुम्बासी बस्ती डोजर र सुरक्षाकर्मी लगाएर खाली गराएको भिडियो, समाचार उनीहरूले मोबाइलमा प्रसस्तै देखेका छन् । उजारेपछि यहाँका बासिन्दा कहाँ जाने, कहाँ बस्ने भन्ने चिन्ताले सबैलाई पिरोलेको बस्तीका अग्रज रामनाथ साहको भनाइ छ ।
‘हामी वास्तविक सुकुम्बासी हौं । विभिन्न ठाउँबाट आएर यहाँ बसिरहेका छौं । कसैको यहाँको झोपडी बाहेक केही छैन । व्यवस्थापन नगरी उजारेपछि हामी कहाँ जाने भन्ने सबैलाई चिन्ता छ,’ उनले सुनाए ।

हुन त प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेको शासकीय सुधारको १०० वटा बुँदामा अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर व्यवस्थित गर्ने र सुकुमवासीहरूको पहिचान गरी व्यवस्थापन गर्ने उल्लेख छ ।
बस्तीकी जुमनी खातुनले पहिला आफूहरूलाई व्यवस्थापन गरिदिन आग्रह गरिन् । ‘हामी सुकुमवासी यहाँबाट हटेपछि कहाँ जाने ? पहिला कति दुई–चार धुर जग्गा व्यवस्थापन गरिदेओस् अनि मात्र घर भत्काओस्,’ उनी गुहार लगाउँछिन् ।

किसुन बस्तीका किसुन पासवन पनि पहिला सुकुमवासीको व्यवस्थापन गरेर मात्र बस्ती उठाउनुपर्ने पक्षमा छन् । ‘पहिले घर नै भत्कायो भने हाम्रा बालबच्चा कहाँ बस्छन् ? त्यसकारण पहिले घर बनाइदेओस् । अनि भत्काओस्,’ उनको भनाइ छ ।
कमला सिंचाइ तथा व्यवस्थापन कार्यालयका प्रमुख रंधीरकुमार साहले सुकुमवासी बस्ती खाली गराउन सूचना जारी गरेको स्वीकारे । ‘सूचना यो कार्यालयले टाँसेको हो । आफ्नो कार्यालय मातहत पर्ने जग्गाको पहिचान गर्ने काम भइरहेको छ र अतिक्रमित जग्गालाई कसरी व्यवस्थित गर्ने कुरामा कार्यालय अगाडि बढेको छ,’ उनले भने । संघीय सरकारले नै परिपत्र गरेपछि आफ्नो जग्गा संरक्षण गर्न यो कदम चालेको उनको भनाइ छ ।

प्रतिक्रिया 4