+
+
Shares

यश अभिनित ‘टक्सिक’ को प्रदर्शन पुनः स्थगित, ४ जुनमा नआउने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय अभिनेता यशको फिल्म 'टक्सिक : अ फेरी टेल फर ग्रोन-अप्स' को प्रदर्शन मिति पुनः धकेलिएको छ।
  • यशले सामाजिक सञ्जालमार्फत अब यो फिल्म ४ जुनमा रिलिज नहुने जानकारी दिएका छन्।
  • 'टक्सिक' को नयाँ प्रदर्शन मिति अहिलेसम्म सार्वजनिक गरिएको छैन र यसले फ्यानहरूमा अन्योल सिर्जना गरेको छ।

मुम्बई । ‘केजीएफ’ फेम्ड दक्षिण भारतीय अभिनेता यशको प्रतिक्षित फिल्म ‘टक्सिक : अ फेरी टेल फर ग्रोन-अप्स’ को प्रदर्शन मिति पुनः धकेलिएको छ । सह-निर्माता समेत रहेका यशले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अब यो फिल्म ४ जुनमा रिलिज नहुने जानकारी दिएका छन् ।

उनले वक्तव्य दिँदै फिल्मको काम पूरा भइसकेको र यसलाई विश्वव्यापी रूपमा भव्य रिलिज गर्ने तयारीमा आफू रहेको बताएका छन् । गीतु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’ यसअघि २०२६ मार्च १९ मा प्रदर्शन हुने तय थियो ।

त्यस बेला बक्सअफिसमा ‘धुरन्धर २’ सँग जुध्ने अवस्था थियो । तर, त्यसअघि नै निर्माण टिमले फिल्मलाई जुनमा सार्ने निर्णय गरेको थियो । यसपटक चासोको विषय के छ भने, नयाँ मिति कहिले हुने भन्नेबारे कुनै जानकारी दिइएको छैन । यो खबरले यशका फ्यानलाई निराश बनाएको छ ।

‘टक्सिक’ एक पिरियड ग्याङ्स्टर कथामा आधारित फिल्म हो, जसमा यश दोहोरो भूमिकामा देखिनेछन् । फिल्ममा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसंत लगायतका कलाकारको अभिनय छ ।

झण्डै ७०० देखि ८०० करोड भारुको बजेटमा निर्माण भएको यो फिल्मलाई अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय फिल्मका रूपमा हेरिएको छ ।

यशले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा लेखेका छन्, ‘केही फिल्म हामी आफैं बनाउँछौं, तर केही फिल्मले हामीलाई किन सिनेमासँग प्रेम भयो भन्ने कुरा फेरि सम्झाइदिन्छन् । ‘टक्सिक’ पनि त्यस्तै यात्रा रह्यो ।’

उनले अगाडि भनेका छन्, ‘सिनेमाकनमा आफ्नो फिल्म प्रस्तुत गर्नु र विश्वभरबाट आएको जबरदस्त प्रतिक्रिया देख्दा हामीले सधैं विश्वास गर्दै आएको कुरा अझ मजबुत भएको छ । यो फिल्म विश्वभर आफ्नो पूर्ण क्षमतासम्म पुग्न योग्य छ भन्नेमा हामी विश्वस्त छौं ।’

यसअघि पनि यशले ‘टक्सिक’को १९ मार्चको रिलिज सार्दा यस्तै खालको वक्तव्य सार्वजनिक गरेका थिए । त्यतिबेला ईरान-इजरायल युद्ध का कारण खाडी मुलुकको अवस्थालाई ध्यानमा राख्दै रिलिज सारिएको बताइएको थियो ।

निर्माण टिमले खाडी क्षेत्र भारतीय फिल्मको ठूलो बजार भएको भन्दै त्यसको प्रभावलाई ध्यानमा राखेर फिल्मलाई ४ जुनमा सार्ने निर्णय गरेको थियो । तर, यसपटक फेरि रिलिज सर्दा भने कुनै स्पष्ट कारण सार्वजनिक गरिएको छैन । यसले फिल्मको नयाँ मितिबारे थप अन्योल सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?