१८ वैशाख, भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।
चालु आवको नौ महिनामा पाँच हजार २९५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको उनले जानकारी दिए ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात भने २६.७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्यबराबरको चिया निर्यात भएको छ ।
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा तीन अर्ब २७ करोड २० लाख ७२ हजार रुपैयाँबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।
कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता एक हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशत र सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ ।
मेची भन्साबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । –रासस
प्रतिक्रिया 4