+
+
Shares

छिमेकीलाई कूटनीतिक नोट– बालेन सरकारको बलशाली अडान

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालापछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लिखित रूपमै दुवै छिमेकीलाई आफ्नो अडान राखेको हो । यो अडानसँगै नेपाल सीमा विवाद संवादबाटै समाधान चाहन्छ भन्ने सन्देश पनि हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते २२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले नेपाली भूमि लिपुलेक प्रयोग गर्ने विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ।
  • भारतले मानसरोवर यात्राका लागि २० समूह तोकेको र १० समूह लिपुलेक पास हुँदै जाने घोषणा गरेको छ।
  • नेपालले ऐतिहासिक सन्धी, तथ्य र नक्साको आधारमा सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट गर्ने प्रतिबद्धता जनाएको छ।

२० वैशाख, काठमाडौं । नेपालको अनुमति बेगर नेपाली भूमि लिपुलेक प्रयोग गर्न लागेको विरोधमा नेपाल सरकारले दुवै छिमेकी (भारत र चीन) लाई कूटनीतिक नोट पठाएको जनाएको छ । सन् २०१५ मा पनि नेपालले यही विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालापछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लिखित रूपमै दुवै छिमेकीलाई आफ्नो अडान राखेको हो । यो अडानसँगै नेपाल सीमा विवाद संवादबाटै समाधान चाहन्छ भन्ने सन्देश पनि हो ।

कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराई यो सरकारले सकारात्मक कदम चालेको बताउँछन् । भट्टराई भन्छन्, ‘त्यतिबेला हामीले पठाएको पत्रको जवाफ आएन । तर सरकारले अहिले पुन: पत्र पठाएर हाम्रो अडान कायम रहेको सन्देश दिएको छ, यो सकारात्मक छ ।’

भारतको विदेश मन्त्रालयले यसैसाता मानसरोवर यात्रा खुला गरेको घोषणा गरेको थियो । अप्रिल ३० मा जारी विज्ञप्ति अनुसार, यसवर्ष यात्राका लागि कूल २० समूह हुने र तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्ने उल्लेख छ ।

नेपाली भू–भागमा छिमेकीले एकतर्फी निर्णय गरेपछि नेपाल सरकारले आफ्नो स्पष्ट अडान राखेको हो । परराष्ट्र मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा भनेको छ, ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुन: अवगत गराएको छ ।’

यसअघिको चुनावी सरकार भने यो विषयमा मौन बसेको थियो । गत चैतमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार गर्ने तयारी गरेको सार्वजनिक भएको थियो ।

समाचार एजेन्सी प्रेस ‘ट्रस्ट अफ इन्डिया’ले गत चैत ६ गते भारतका विदेश सचिव विक्रम मिश्रीले उत्तराखण्डका मुख्यसचिव अनन्द बर्धनलाई पत्र लेखेर लिपुलेक पासबाट व्यापार पुन:स्थापित गर्न भनेको सार्वजनिक गरेको थियो ।

तर अन्तरिम सरकारले आफ्नो धारणा सार्वजनिक गरेन ।

नेपाल र ब्रिटिश भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धीले  काली (महाकाली) पूर्वका सम्पूर्ण भू–भागलाई नेपालको भू–भाग भनेको छ । उक्त सन्धी लगायतका अन्य तथ्य र प्रमाणको आधारमा नेपालले महाकाली पूर्वका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भू–भाग आफ्नो मान्दै आएको छ ।

नेपालले लिम्पियाधुरासम्म नेपाली भूभाग रहेको नक्सा जारी गरिसकेको छ । छिमेकीहरूले भने पटक पटक लिम्पियाधुरालाई समेत आफ्नो हिसाबले प्रयोग गर्न खोजेका देखिन्छन् ।

सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्ने बेलामा उनका चिनियाँ समकक्षी ली खछ्याङबीच नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सहमति गरेका थिए ।

मोदीको भ्रमणपछि जारी ४१ बुँदे संयुक्त वक्तव्यको २८ औं बुँदामा मोदी र  लिपुलेक पासलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवत जावत गर्ने केन्द्र बनाउने सहमति भएको भनिएको छ ।

२०२४ डिसेम्बरमा भारत र चीनले कोभिड–१९ का कारण सन् २०२० देखि रोकिएको कैलाश–मानसरोवर तीर्थालु आवतजावतलाई निरन्तरता दिने सहमति गरेका थिए । त्यतिबेला भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका विदेशमन्त्री वाङ वी सहभागी बैठकले दुई देशबीचको तीर्थयात्री आउजाउ केन्द्र बनाउने सहमति गरेको लिपुलेक नेपाली भूमि हो ।

त्यो विषयमा नेपाल सरकारले प्रतिक्रिया जनाएन ।

गत अगस्टमा चीनका विदेशमन्त्री वाङ वी र भारतका विदेशमन्त्री एस. जयशंकर बीचको भेटवार्तामा दुई देशबीच सीमा व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए ।

यसपटक सरकारले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धी–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

पूर्वराजदुत दीपकुमार उपाध्याय नेपालले पटक पटक संवादका लागि आग्रह गर्दा पनि छिमेकीहरुले यो विषयलाई घुमाइ फिराइ महत्त्व नदिएको बताउँछन् । उनी भन्छन्, ‘नयाँ सरकारको यो प्रयास राम्रो छ,  शान्त कूटनीतिमार्फत समाधानको पहल गर्नुपर्दछ । हाम्रो प्राथमिकता एजेण्डा हो भन्न सक्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?