+
+
Shares

संगठन व्यक्ति नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गर्छु : नवननियुक्त आईजीपी पौडेल

नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने पौडेलले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

२१ वैशाख, काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिह्न प्राप्त गरेपछि मन्तव्य दिने क्रममा नवनियुक्त आईजीपी पौडेलले उक्त कुरा बताएका हुन् ।

‘सकल दर्जाको कल्याण र वृत्ति–विकासमा जोड दिइनेछ । मानव संसाधनको विकास, आधुनिक प्रविधिको प्रयोग गरी नतिजामुखी कार्यशैली अपनाउँदै सुशासन र विकासमैत्री वातावरण निर्माण गरिन्छ । संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिवद्धता समेत व्यक्त गर्दछु’ पौडेलले भने ।

त्यस्तै उनले सीमा सुरक्षा थप बलियो बनाउने बताएका छन् । ‘सीमा सुरक्षालाई सबलीकरण (थप बलियो) बनाउँदै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरिएकाले यो कार्यान्वयनको चरणमा छ । गृह मन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छु’ पौडेलले भने ।

आईजीपी जस्तो गरिमामय पदमा पदोन्नती गरेकोमा पौडेलले नेपाल सरकार र गृह मन्त्रालयप्रति आभार व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक पद केवल संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीउधन र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन तथा नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीहरुको प्रभावकारी कार्यान्वयन गर्नु रहेको उल्लेख गरे ।

नयाँ जनभावना बमोजिमको कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व रहेको उल्लेख गर्दै संविधान, कानून, राष्ट्रिय हित, संगठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पकासाथ जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने पौडेलले बताए ।

सशस्त्र प्रहरी बल नेपालको विभिन्न नयाँ ऐन, नियम तथा कार्य क्षेत्रभित्र पर्ने ३१ वटा विभिन्न संघीय ऐनहरुमा काम कर्तव्य र अधिकारसहितको स्पष्ट कानूनी व्यवस्था, संगठनको आधुनिकीकरणमा सहयोग एवं आवश्यक स्रोतसाधनको उपलब्धता तथा समयसापेक्ष मार्ग निर्देशनको लागि सकारात्मक एवं रचनात्मक सहयोगको लागि नेपाल सरकार एवं गृह मन्त्रालयसँग आपेक्षा समेत व्यक्त गरे ।

गृहसचिव राजकुमार श्रेष्ठले भने संगठनभित्र पेशागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन अग्रसर रहन निर्देशन दिए । सरुवा प्रणाली र बृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टी र गुनासो कम हुने विश्वास व्यक्त गरे ।

मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्व तयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?