News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले डा. मोहन कार्कीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ।
- नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थालाई सशक्त नेटवर्किङ प्लेटफर्मका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
- नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले ईसीसीआईले भारतमा प्रवासी नेपालीहरूको लगानी नेपाल लैजान भूमिका खेल्नुपर्ने बताए।
२२ वैशाख, नयाँ दिल्ली । भारतमा रहेका प्रवासी नेपाली उद्योगी–व्यवसायीहरूको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ईसीसीआई) ले डा. मोहन कार्कीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ ।
आइतबार नयाँ दिल्लीमा सम्पन्न पाँचौं वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा कार्की नेतृत्वको नयाँ कार्यकारिणी समिति चयन गरेको हो। योग विषयमा विद्यावारिधि हासिल गरेका कार्की द योग गुरु इन्स्टिच्युटका संस्थापक हुन् ।
संस्थाले सदस्य विस्तार भएका राज्यहरूलाई ६ क्षेत्र (जोन) मा विभाजन गरी उपाध्यक्षहरू चयन गरेको छ। जसअनुसार केन्द्रबाट राजकुमार श्रेष्ठ, राम नेपाल र प्रमोद खरेल चयन भएका छन् । महाराष्ट्रबाट मनोज कोटाल, नेपालबाट दुर्गा सुवेदी, मध्यप्रदेशबाट गणेश पाण्डे, पश्चिम बंगालबाट खेमराज बराल चयन भएका छन् ।
त्यसैगरी महासचिवमा चन्द्र लामिछाने, उपमहासचिवमा एलपी पाण्डे, कोषाध्यक्षमा सीए सन्दीप कौशल चयन भएका छन् । अन्य सदस्यसहित २७ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्कीलाई निवर्तमान अध्यक्ष युवराज बरालले पदभार हस्तान्तरण गरेका थिए। नवगठित कार्यसमितिले सोही दिन पहिलो बैठक सम्पन्न गर्दै तीन महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ।
नियुक्तिपछि अध्यक्ष कार्कीले संस्थालाई सशक्त नेटवर्किङ प्लेटफर्मका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकता दिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारतमा प्रवासी नेपाली व्यवसायीहरूको संगठनप्रति गर्व व्यक्त गर्दै दूतावासले विगतको जसरी नै नयाँ कार्यसमितिसँग सहकार्य गर्ने आश्वासन दिए ।
उनले जलविद्युत, होटल, आतिथ्य, आयुर्वेद तथा वेलनेस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आयूर्वेद तथा योगका विज्ञ कार्की नेतृत्व सक्रिय हुनसक्ने उल्लेख गरे । नेपाललाई व्यापार, पर्यटन र लगानीको आकर्षक गन्तव्यका रूपमा भारतमा प्रवद्र्धन गर्न संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै थापाले भने ‘ईसीसीआईले भारतीय तथा प्रवासी नेपालीहरुको लगानी समेत नेपाल लैजान भूमिका खेल्नुपर्छ ।’
सन् २००८ मा स्थापना भएको ईसीसीआईका संस्थापक अध्यक्ष चिरञ्जीवी मरासिनी थिए भने दोस्रो अध्यक्षका रूपमा युवराज बरालले नेतृत्व गरेका थिए। स्थापना भएको करिब १८ वर्षपछि तेस्रो अध्यक्षका रूपमा डा. कार्की चयन भएका हुन्।
हाल ईसीसीआईमा भारतका विभिन्न ६ राज्यमा रहेका ५ सय भन्दा बढी नेपाली मूलका उद्योगी–व्यवसायी आबद्ध छन् । संस्थाले विशुद्ध व्यवसायिक संगठनको रूपमा अघि बढ्दै भन्दै यसपटक युवा उद्यमीहरूलाई पनि कार्यसमितिमा समेटेको छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
प्रतिक्रिया 4