+
+
Shares

प्रदेश सरकारले दिएको एम्बुलेन्स तीन वर्षदेखि अलपत्र

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते बैतडीको डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्त्रण गरेको थियो । पञ्चेश्वरले २०७९ मा नै फिर्ता पठाइसकेको थियो ।

कृष्ण विष्ट कृष्ण विष्ट
२०८३ वैशाख २३ गते १६:५६

२३ वैशाख, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको डिलाशैनी गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स तीन वर्षदेखि अलपत्र छाडिएको छ । सो एम्बुलेन्स हाल डिलासैनी गाउँपालिका–३ को पसेरामा अलपत्र अवस्थामा छ ।

बेलाबेलामा बिग्रने र मर्मत खर्च धेरै आउने समस्या आउनथालेपछि २०७९ देखि त्यो एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ । मर्मत खर्च धेरै आउने र पहाडको कच्ची सडकमा सहज ढंगले चल्न पनि नसकिने भएपछि त्यो एम्बुलेन्स चलाउन नसकेर थन्काइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गणेशसिंह बोहराले जानकारी दिए ।

गाउँपालिकाले २०७९ मा कार्यपालिका बैठकबाटै प्रदेश सरकारलाई फिर्ता पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । ‘प्रदेश सरकारलाई उपलब्ध गराउन धनगढीसम्म लैजाने विषयमा कुरा भएको थियो । ट्रेलरसँग भाडाको कुरा मिलेन,’ अध्यक्ष जोशीले भने, ‘बिग्रिएको एम्बुलेन्स गुडाएर लैजान सकिने कुरा पनि भएन । त्यसैले त्यहीँ थन्किएर बसेको छ ।’ अहिले डिलाशैनीमा अर्को एउटा पनि एम्बुलेन्स छैन ।

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते बैतडीको डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्त्रण गरेको थियो । पञ्चेश्वरले २०७९ मा नै फिर्ता पठाइसकेको थियो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स ग्रामीण सडकमा सञ्चालनमा समस्या आएको भन्दै पञ्चेश्वर जस्तै अन्य पालिकाले पनि फिर्ता पठाइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?