+
+
Shares

अध्यागमन विभागले भन्यो- निषेधित क्षेत्रमा अनुमति लिएर मात्रै विदेशी पर्यटकलाई पदयात्रामा लैजानू

विदेशी नागरिकहरूका लागि १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न अध्यागमन विभागबाट अनिवार्य पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १७:२७

२३ वैशाख, काठमाडौं । अध्यागमन विभागले निषेधित क्षेत्रमा विदेशी पर्यटकलाई अनुमति लिएर मात्रै पदयात्रामा लैजान आग्रह गरेको छ । विभागका प्रवक्ता टीकाराम ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रमा अनुमति नलिएर विदेशी पर्यटकलाई पदयात्रामा लैजानेजस्ता गैह्रकानुनी गतिविधि नगर्न ट्रेकिङ एजेन्सीसँग आग्रह गरेका छन् ।

‘केही ट्रेकिङ एजेन्सीहरूले पदयात्री रेस्क्युको बहानामा जुनसुकै बेला पनि फोन गरी कर्मचारीलाई दबाब दिने, अनुमति नलिई पदयात्रामा लैजाने र स्थानीय प्रशासनले पहिचान गरेपश्चात् मात्र अनुमतिको लागि आवेदन दिने गरेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट निर्दोष पदयात्रीहरू समेत कारबाहीमा पर्ने सम्भावना हुन्छ ।’

यसले नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयास र अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पारिरहेको विज्ञप्तिमा उल्लेख छ । ‘तसर्थ: पदयात्रा अनुमति लिएर मात्र विदेशीहरुलाई पदयात्रामा लैजान विभागले पुन: अनुरोध गर्दछ । आगामी दिनमा यस प्रकारका गैरकानुनी गतिविधि भए/गरेको पाइएमा विद्यमान अध्यागमन कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बद्ध सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विदेशी नागरिकहरूका लागि १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न अध्यागमन विभागबाट अनिवार्य पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । विज्ञप्तिमा निषेधित क्षेत्रमा समूहगत रूपमा ट्रेकिङ एजेन्सीमार्फत जाने विदेशी पदयात्रीलाई पदयात्रा अनुमति जारी गर्ने सेवालाई झन्झटमुक्त, छरितो र  प्रविधिमैत्री बनाउन अनलाइनबाटै काम भइरहेको पनि उल्लेख छ ।

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि शनिबारबाहेकका सार्वजनिक बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म गरी २ घण्टा पदयात्रा अनुमतिको काम जारी राख्ने निर्णय भएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?