२३ वैशाख, काठमाडौं । मनोहरा सुकुमवासी क्षेत्र खाली भइसकेको छ । अब यहाँ कतै पनि सग्ला भवन, घर र टहरा छैनन् । भएका संरचना भग्नावशेषमा परिणत भएका छन् । सोही भग्नावशेषमा आफ्ना केही सामान भेटिन्छ कि भन्ने झिनो आशामा पहिले यहाँ बस्नेहरू बेलाबेला आइरहन्छन् । भग्नावशेषको थुप्रो खोतलिरहन्छन् ।
हामी पुग्दा मनोहराको पूर्वी किनारा, बस्तीको मध्य भागतिर चन्द्रकुमारी मगर भेटिइन् । पहिले आफ्नै घर रहेको ठाउँमा थिइन्, उनी । डोजरले टुक्राटुक्रा बनाएका पर्खालका स-साना भग्नावशेषमा उनी हथौडा हान्दै थिइन् । सँगै रहेका श्रीमान् रामबहादुर गुरुङ यताउता अन्य चाँजो मिलाउँदै थिए ।
उनीहरूको उद्देश्य सकेसम्म धेरै वटा सग्ला इँटा निकाल्नु थियो । यसबाट उनीहरूका दुई अपेक्षा थिए-एक, नयाँ जग्गामा टहरा बनाए, त्यो इँटा प्रयोग गर्ने,
दुई, एक नम्बर योजना सफल नभए त्यही इँटा बेचेर केही पैसा जुटाउने ।

उनीहरूले केही सग्ला इँटा निकालेर छेवैमा राखेका थिए । अझै धरै इँटा निकाल्न ६० दशक पार गरिसकेका बुढ्यौली हात लागिरहे । हामीसँग कुराकानी गर्दै चन्द्रकुमारी हथौडा हान्दै गइन् ।
०००
चन्द्रकुमारी ओखलढुङ्गाकी हुन् । तर उनलाई माइतीतिरको केही कुरा याद छैन । बा उनी सानै हुँदा बिते । आमाको अवस्था थाहा छैन । एउटा भाइ थियो, सोलुखुम्बुमा काम गर्न गएको बेला रुखमा च्यापिएर ज्यान गुमायो । आफ्नो उमेर पनि ६० दशक पार गरेको त भन्छिन् तर ठ्याक्कै कति पुगिन् मेसो छैन । श्रीमान्को उमेरको ख्याल हुने कुरै भएन ।
गाउँमा सहाराविहीन भएपछि जीविका चलाउन शहर छिर्नुको विकल्प देखिनन् । काठमाडौंमा काम पाइन्छ भन्ने उनलाई लाग्यो । त्यसबेला चन्द्रकुमारीको उमेर २४/२५ थियो ।
काठमाडौं छिरेपछि उनी गलैंचा बुन्ने फ्याक्ट्रीमा काम गर्न थालिन् । त्यसै क्रममा रामबहादुर गुरुङसँग भेट भयो ।
रामबहादुर पनि पूर्वकै हुन् । तर ६/७ वर्षको हुँदा काठमाडौं आएका उनलाई आफ्नो विगत याद छैन । गुजाराका लागि उनी काठमाडौंमा ज्यामी काम गर्थे । कामको सिलसिलामै चन्द्रकुमारी र रामबहादुरबीच माया बस्यो । उनीहरूले विवाह गरे ।
विवाहपछि उनीहरू कौशलटारमा बस्न थालेका थिए, कोठा भाडामा लिएर । पहिलो सन्तान सपना गुरुङको जन्म पनि त्यही कोठामा बस्दा भएको थियो । विस्तारै आर्थिक अवस्थाले च्याप्दै ल्यायो । भाडा तिरेर धेरै यो शहरमा अडिने अवस्था थिएन । छाडेर जान गाउँको कुनै नासो बाँकी थिएन ।
त्यसैबीचमा चन्द्रकुमारीको चिनजानकी एक जनाले मनोहरामा घर बनाउन जग्गा पाइने कुरा सुनाइन् । ‘जग्गा पनि पाइने, घर पनि बनाउन पाइने,’ यो कुराले चन्द्रकुमारीको मन लोभियो । त्यसमाथि त्यहाँ बसे कोठा भाडा पनि तिर्नु पर्थेन । सबै हिसाबले अनुकूल हुने भएपछि सहज जीवनयापनको लागि सपरिवार अहिलेको सुकुमबासी बस्तीमा आइन् ।
यहीँ नै उनीहरूका थप दुई सन्तान भए, विपना र कल्पना । सन्तानहरूले यही बस्तीमा भएको सरस्वती आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढे । विपना र कल्पनाले एसएलसी उत्तीर्ण गरे ।
मनोहरा किनारको बस्तीमा आएपछि पनि चन्द्रकुमारी र रामबहादुरले ज्यामी काम छाडेनन् । उनीहरूलाई यो कामभन्दा अर्थोक आउँदैनथ्यो । बरु कमाएको पैसा जम्मा गर्दै उनीहरूले आफ्नो टहरालाई राम्रो लगाउँदै लगे ।
जेठी छोरी वैदेशिक रोजगारीका लागि कतार गएपछि त उनले पठाएको पैसाले पक्की टहरा नै बनाए ।

उनीहरू रहेको बस्ती निरन्तर बढिरहेको थियो । नयाँ मान्छेहरू आएर घर बनाइरहेका थिए । किराना, खाजा, मासु पसलहरू खुलिरहेका थिए । घरहरूका तला पनि बढिरहेका थिए । यसरी मनोहरामा बस्ती फैलिरहँदा स्थानीय र संघीय सरकार कसैले केही भनेनन् । जसले गर्दा उनीहरूले कहिल्यै पनि यो नियतिबारे कल्पेका थिएनन् ।
उनीहरूले कहिल्यै यो नियतिबारे कल्पेका थिएनन् । आजको अवस्था उनीहरूको सपना र कल्पनाभन्दा बाहिरको कुरो थियो । यहाँसम्म कि, उनीहरूलाई लामो समयसम्म आफूहरू बसिरहेको जग्गा सार्वजनिक भएकोसमेत थाहा थिएन ।
सामुहिक रूपमा बस्ती ठूलो भइसकेकाले काठमाडौंका अन्य बस्ती सरह हो भन्ने उनीहरूलाई लागेको थियो । आफू सुकुमवासी भएकाले त्यसरी कतै ओत लाग्नु अधिकारकै विषय पनि ठाने ।
०००
जब काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भए, सुकुमवासीको विषय सतहमा आयो । पटकपटक सुकुमवासीका झुपडीमा डोजरले कोपर्ने प्रयत्न गरे । सुकुमवासी बस्ती हटाउने प्रयास बालेनको अधुरो कार्यकालभर जारी रह्यो । त्यसपछि भने उनीहरूलाई आफू बसेको बस्ती जहिल्यै पनि खाली हुन सक्ने आभाष भयो । आफूहरू सार्वजनिक जग्गामा बसेको थाहा भयो ।
तर, बाक्लो बस्तीका सयौं बासिन्दाको प्रतिरोध, नेताहरूले सुकुमवासीको पक्षमा दिएका भाषणले जब बालेनको प्रयास असफल भयो, त्यसपछि चन्द्र कुमारीको परिवारमा उठिबास नलाग्ने विश्वास पलायो ।
भर्खरै सम्पन्न निर्वाचनमा चन्द्रकुमारीको परिवारले बालेन शाहको पार्टीलाई नै भोट हाल्यो । एकातिर रास्वपा सभापति रवि लामिछानेले ‘छाती थाप्न आउँछु’ भन्दै सुकुमवासीको पक्षमा दिएको भाषण, अर्कोतिर झापा पुगेर लालपुर्जा बाँड्ने बालेनको आश्वासन । यी कुरालाई उनीहरूले विश्वास गरे ।
निर्वाचनको दिन सम्झिँदै चन्द्रकुमारीले लोकन्थली स्कुलमा गएर लाइन बसेर घण्टी चिह्नमा भोट हालेको सुनाइन् ।
तर, अहिले आफ्नो भोट खेर गएको भन्न उनलाई अप्ठ्यारो लाग्दैन । आफूले भोट हालेको पार्टीका नेतालाई गाली गर्न गाह्रो हुन्न । ‘रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चले छाती थाप्छु भन्थ्यो । मैले घन्टीमै भोट हालेको थिएँ,’ उनले भनिन्, ‘अहिले मेरो घरमा डोजर चलिसक्यो । खै आएन त छाती थाप्न !’

महानगरमा रहँदा नै सुकुमवासी बस्तीमा डोजर पठाएका व्यक्तिलाई विश्वास किन त ? उनलेसुनाइन्, ‘हाम्रो बुद्धि नै यस्तो हो बाबु । पहिले मेयर हुँदा बालेनले बेहोरा त देखाएकै थियो नि । भोट हाल्ने बेला बिर्सिहाल्यौं– घण्टी, घण्टी भनेर ।’
उनका अनुसार आफ्नो उठिबास यो हविगतमा हुन्छ भन्ने कल्पनासम्म थिएन । विगत २५ वर्षदेखि बस्दै आएको बस्ती, दु:खले जम्मा गरेको पैसाले बनाएको घर भत्किएकोमा उनलाई अवश्य दु:ख छ । तर त्योभन्दा बढी दु:ख सरकारले गरेको व्यवहारप्रति छ । अपमानजनक व्यवहारमा दु:ख छ । आफ्नो अपेक्षामा लात हानेकोप्रति दु:ख छ ।
घर भत्काउनुअघि सरकारले ३-४ दिन मात्र सामान निकाल्न, कोठा खोज्न समय दिएको भए अहिलेको जति दु:ख नलाग्ने उनको भनाइ थियो ।
कारण- बाहिर जति नै हल्ला भए पनि व्यक्तिगत रूपमा उनीहरूले बस्ती हट्दैछ भन्ने कुरा ढिला थाहा पाए । सरकारले पर्याप्त सूचना पनि दिएन । ‘बस्ती हटाउने रे’ भन्ने सूचना उनीहरूले ११ वैशाख शुक्रबार मात्र थाहा पाए । तर यो हल्लाको भरमा उनीहरूको कानमा परेको थियो ।

यता, बस्ती भित्र ‘हटाउँदैन रे’ भन्ने खालको खबर पनि उत्तिकै फैलिरहेको थियो । कसैकसैले सामान निकालिरहेका थिए । कोही भने ढुक्क भएर बसिरहेका थिए । चन्द्रकुमारीलाई कसको सूचना सही हो ? कसको झुटो हो ? विश्वास गर्न गाह्रो भइरहेको थियो । त्यसैले सरकारी पक्षबाट गम्भीर भएर सही सूचना नदिइएको पनि उनको आरोप छ ।
त्यही हल्लाबीच चन्द्रकुमारी शुक्रबार साँझ पर्नै लाग्दा आफ्नी माइली छोरीको कोठामा गइन् । शुक्रबार दिउँसो बित्न लाग्दासमेत केही छनक नपाएपछि उनी बस्तीबाट हिँडेकी थिइन् । माइली छोरी यो बस्तीभन्दा अलि पर कोठा लिएर बस्छिन् । त्यो दिन उनी अलि बिसञ्चो भएर छोरीकोमा गएकी थिइन् ।
त्यसमाथि उनी तत्कालै बस्ती हटाउँदैन, हटाए पनि सामानहरू झिक्न सरकारले केही समय दिन्छ भन्नेमा ढुक्क थिइन् ।
तर, भोलिपल्ट आइतबार एकाबिहानै डोजरले निमेषभरमै बस्ती उजाड बनाइदियो । डोजरले घर भत्काइरहेको समयमा नै श्रीमान् रामबहादुरले केही सामान झिक्न भ्याए । तर धेरैजसो सामान घरसँगै पुरियो ।
सामानसँगै तत्काल आवश्यक पर्ने केही औषधि पनि पुरियो । श्रीमान्–श्रीमती दुवै जना उच्च रक्तचाप, मधुमेहका बिरामी छन् । औषधि खाइरहनुपर्छ । अझ त्यस साँझ पानी परेकाले उनीहरूले औषधि सहितका कुनै पनि पुरिएका सामान खोज्न सकेनन् ।
आफ्नो सानो घरमा पुरिएका सामानको समेत एकएक याद उनलाई छ । चन्द्रकुमारीका अनुसार डोजरले घर भत्काइदिँदा सात वटा चरेसका थाल हराए । छोरीले कतारबाट पठाएका १० थान तन्ना हराए । लुङ्गी, चोलो, ओड्ने जस्ता दैनिक जीवनमा आवश्यक सामान हराए ।
अहिले उनीहरूसँग केही थान लुगा मात्र छन् । प्रहरीले सामान निकाल्न सघाउने भनेको थियो रे ! तर, कोही प्रहरीले पनि सघाएनन् । जे–जे सामान रामकुमारले झिक्न भ्याए, अहिले त्यसकै भरमा छन् ।
सोमबार दिउँसोसम्ममा त भग्नावशेषबाट सामान निकाल्ने आशासमेत भताभुंग भयो । उनीहरूको कुनै सामान त्यहाँ थिएनन् । कवाडवालाले सबै लगिसकेका थिए ।
०००
थोरबहुत दु:ख गरेर उठाउँदै गएको उनीहरूको जीवन अब फेरि पिँधमा पुगेको छ । यसअघि त तन्दुरुस्त थिए । तर यसपटक त यसबाट माथि उक्सन उनीहरूलाई शरीरले पनि साथ दिनेवाला छैन । नियमित औषधि सेवन गरेन भने गाह्रो भइहाल्छ ।

त्यसमाथि घर भत्काइएको आलो पीडा छ । त्योभन्दा बढी भविष्यको पिर छ । दुई जना छोरीको विवाह गरिदिन बाँकी नै छ । मुख्य त अब यसपछि कहाँ बस्ने ? कहाँ जाने ? सबैभन्दा ठूलो चिन्ता छ ।
‘छोरीहरू त बिहे गरेपछि गइहाल्छन् । कतारमा भएकी छोरीको पनि तीन महिना तलब आएको छैन अरे, युद्धले गर्दा,’ चन्द्रकुमारीले भनिन्, ‘यिनीहरू पनि गएपछि हामी कसको भरमा कसरी अडिने ? यो बुढेसकालमा बालेनले बिजोग बनाइदियो ।’
तर, जे-जस्तो भए पनि उनीहरू दुवै जना अब सरकारको होल्डिङ सेन्टरमा जाने सोचमा छैनन् । आफ्नो गरिबीलाई लिएर राज्यबाटै प्रहार भएको आत्मसम्मानको हेक्का उनीहरूलाई छ । अपमानको बोध छ । त्यसैले जति बाँचिन्छ, आफ्नै पौरखमा जिउने सोच उनीहरूमा देखिन्छ । बरु कुनै जग्गा भेटेको खण्डमा भाडामा लिएर नयाँ टहरा बनाउने सोचमा छन् । त्यो नमिले कतै कोठा खोजेर बस्ने सोचमा छन् ।
‘छोरीहरू केही गरेर खालान् । हामी बुढाबुढी जति बाच्छौँ, त्यतिन्जेल दु:ख गर्छौँ । तर त्यो धनीहरूका ट्वाइलेट जत्रो पनि नभएको कोठामा कुच्चिन जान्नँ,’ उनी पोखिइन्, ‘हामीलाई केही छैन भनेर हेपेको होला ।’
प्रतिक्रिया 4