+
+
Shares

चार महिनादेखि शिक्षकले पाएनन् तलब, विद्यालय बन्द गरेर धर्नामा

दशैंअघि नै मन्त्री पुनले शिक्षकले तलब नापाएकोबारे अनुसन्धान सुरु गरेका बताएका थिए । तर अझैसम्म शिक्षकहरूले तलब पाएका छैनन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ कात्तिक २५ गते २०:२६

२५ कात्तिक, काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक बिहानको १० बजे विद्यालय जानुपर्ने हो । तर चार महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर गाउँपालिकाको ढोकामा धर्ना दिन पुग्छन् । कात्तिक १८ गतेदेखि शिक्षकहरू धर्नामा बसेका हुन् ।

‘गाउँपालिकाले तलब दिएको छैन । विद्यालय बन्द गरेर बिहान १० बजे धर्नाको लागि आउँछौं । कार्यालय समय सकिएपछि फर्किन्छौं,’ संघर्ष समितिका संयोजक एवं रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवले भने ।

तलब नपाएपछि शिक्षक-कर्मचारीले गाउँपालिकामा तालाबन्दी गरेका छन् । तर संयोजक यादवका अनुसार अत्यवाश्यक सेवामा भने रोक लगाइएको छैन । ‘खोप लगाउने अभियान चलेको छ । रोकेका छैनौं । अत्यवाश्यक बाहेक सबै सेवा ठप्प छ,’ उनले भने ।

आन्दोलनमा पालिकाका १६ वटा विद्यालयका शिक्षक र कर्मचारीहरू छन् । ‘२०० शिक्षक-कर्मचारी, वडा र स्वास्थ्य संस्थाका कर्मचारी पनि हुनुहुन्छ । सबै गरेर ३०० बढी धर्ना बसेका छौँ,’ यादवले भने ।

शिक्षक-कर्मचारीले दशैंअघिदेखि नै आन्दोलन गरेका हुन् । तर जनप्रतनिधिले दशैं सकिएको हप्ता दिनभित्र उपलब्ध गराउने भनेर सहमति गरेको थियो । पटकपटक सहमति गरेर पनि तलब नआएपछि विद्यालय बन्द गरेर धर्ना बस्नुपरेको शिक्षकहरूको गुनासो छ ।

गत ९ असोजमा मा पनि शिक्षकहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए । ११ गते सहमति भएपछि ताला खोलेका थिए । ‘दशैं सकिएको एक हप्तापछि पनि तलब आएन । चाडपर्वमा पनि खल्लो भयो,’ उनले भने, ‘दशैंपछि पनि ज्ञापनपत्र बुझायौं । तर तिहार र छठमा पनि तलब पाइएन ।’

त्यसपछि तिहारअघि पनि कात्तिक १५ गतेसम्म तलब उपलब्ध गराउने सहमति भयो । तर सहमति कार्यान्वयन भएन ।

‘कहिले सभा नभएको भनेर त कहिले प्रमुख प्रशासकीय अधिकृत नभएको भनेर जनप्रतिनिधिले तलब निकासा गरेको छैन,’ शिक्षक यादवले भने, ‘१५ गतेसम्म पनि तलब नआएपछि १६ गते फेरि ज्ञापनपत्र बुझायौं । तर पनि निकासा भएन ।’

गाउँपालिका प्रमुख, प्रदेश मुख्यमन्त्री र केन्द्रमा शिक्षामन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको तर माग सम्बोधन नभएको दुखेसो शिक्षकहरूको छ । ‘कतैबाट सम्बोधन नभएपछि धर्ना बस्न बाध्य भयौं । हाजिर पनि धर्नामै गरेका छौँ । साउनदेखि तलब आएको छैन । भोको पेट कसरी काम गर्ने ?,’ संयोजक यादवले प्रश्न गर्दै भने, ‘एक/दुई महिना भए भए पनि कुर्न सकिन्थ्यो । साउनदेखि कुरेको कुर्‍यै भयौं ।’

चन्दा संकलन गरी चिया नास्ता खाएर धर्ना बसिरहेको शिक्षकहरूको भनाइ छ ।

गाउँपालिकामा जनप्रतनिधिको विवादले सभा बस्न सकेको छैन । सभा नबसेकाले शिक्षकले तलब नपाएको बताउँछन् गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी ।

‘सभाले बजेट पास गरेको छैन । खाता सञ्चालन भएको छैन । बीचमा प्रमुख प्रशासकीय अधिकृत नभएकाले पनि हो । अहिले अधिकृत तोकिएर आउनुभएको छ । अब छिट्टै शिक्षकले तलब पाउनुहुन्छ,’ अध्यक्ष चौधरीले भने, ‘मिलाउने प्रयास भइरहेको छ ।’

गत ५ असोजमा पालिका अध्यक्ष चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएपछि विवादमा तानिएका थिए । त्यसपछि गत मंगलबार १८ कात्तिकमा अध्यक्ष चौधरीले पदबाट राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक भयो । तर अध्यक्ष चौधरी आफूले राजीनामा नदिएको बताउँछन् ।

पालिकाको किचलोले पनि शिक्षकले तलब पाउन नसकेको बताउँछन् अध्यक्ष चौधरी । ‘मैले राजीनामा दिएको छैन । राजीनामा नै नदिई कसरी स्वीकृत भयो ? म नै अचम्ममा परेको छु । यो कारणले पनि शिक्षकले तलब पाउन नसकेको हो,’ उनले भने ।

शिक्षा मन्त्रीले दिएका थिए निर्देशन

शिक्षकले तलब नपाएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंअघि नै तलब दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । मन्त्री पुनलाई ५०० बढी शिक्षकले तलब नपाएको गुनासो आएको थियो । धेरैजसो पालिकाहरूको सभा नबसेकाले शिक्षकले तलब नपाएको गुनासो मन्त्रालयमा आएको छ ।

मन्त्रालयले पलिकालाई शिक्षकको तलब एकमुष्ट पठाउने गरेको छ । मन्त्रालयका अनुसार महिना महिनामै तलब दिनु भनेर पालिकालाई एकमुष्ट पठाएको हुन्छ । तर कुनै पालिकाले महिना महिनामै दिने गरेको छ । कुनैले नदिने गरेको पाइएको छ ।

दशैंअघि नै मन्त्री पुनले शिक्षकले तलब नापाएकोबारे अनुसन्धान सुरु गरेका बताएका थिए । तर अझैसम्म शिक्षकहरूले तलब पाएका छैनन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?