News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
- सचिव मिश्रले कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने आश्वासन दिए।
- सरकारले कृषि मन्त्रालयका रिक्त दरबन्दी पूर्ति र पुनर्संरचनाका लागि नीतिगत तथा कानुनी काम अघि बढाएको सचिव मिश्रले बताए।
२५ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताएका छन् ।
कृषि क्षेत्रमा बजेटको अभाव भइरहेका बेला उनले सो क्षेत्रका लागि सरकारले अब बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
शुक्रबार ललितपुरमा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै सचिव मिश्रले सरकारले कृषि अनुसन्धानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।
कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने सचिव मिश्रको आश्वासन थियो ।
उनले बजेटको अभावमा रहेको कृषि अनुसन्धान सम्बन्धि कार्यक्रमलाई सरकारले कुनैपनि बेला बजेटको आवश्यक व्यवस्था मिलाउन सक्ने पनि बताए ।
सचिव मिश्रले भने, ‘रिक्त दरबन्दीहरू यो वर्षबाट सुरु हुन थालेका छन् । विनियम आएको छ । पुनर्संरचनाको काम सुरु भएको छ । ऐन संशोधनका लागि कार्यदल गठन भएको छ । र नेपाल सरकारले कृषि अनुसन्धानलाई असाध्यै प्राथमिकतामा राखेको छ ।’
सचिव मिश्रले सरकारले कृषि मन्त्रालय अन्तर्गतका रिक्त दरबन्दी पूर्ति हुनेगरी नीतिगत, कानुनी रूपमा आफना कार्यहरू अघि बढाएकाले जनशक्ति अभावको अवस्था आउन नदिने पनि बताए।
प्रतिक्रिया 4