News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मनसुन ऋतुमा कम वर्षा हुने सम्भावनाका कारण किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
- मन्त्रालयले कम पानीमा राम्रो उत्पादन दिने सुख्खा–१ देखि सुख्खा–६ जातका धानहरू प्रयोग गर्न सिफारिस गरेको छ।
- मन्त्रालयले आकाशे पानी संकलन, पोखरी निर्माण र जलवायुमैत्री संरक्षित कृषि प्रविधि अपनाउन किसानलाई सुझाव दिएको छ।
२५ वैशाख, काठमाडौं । यो वर्ष मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विशेष सतर्कता अपनाउन र उपयुक्त प्रविधि अपनाउन किसानलाई आग्रह गरेको छ ।
मन्त्रालयले जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल र सम्भावित खडेरीको जोखिमलाई मध्यनजर गर्दै धान खेतीका लागि आवश्यक रणनीति तय गर्न किसानहरूलाई आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार यस वर्ष नियमित वर्षाको अभाव हुन सक्ने प्रक्षेपण गरिएकाले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहने क्षमता भएका धानका जात लगाउनु पर्नेछ ।
यसका लागि मन्त्रालयले विशेष गरी सुख्खा–१, सुख्खा–२, सुख्खा–३, सुख्खा–४, सुख्खा–५ र सुख्खा–६ जस्ता जातका धानहरू छनौट गर्न सिफारिस गरेको छ ।
यी जातहरूले पानीको अभावमा पनि आफ्नो उत्पादन क्षमता नगुमाउने भएकाले खडेरीको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
वर्षाको अनियमिततालाई सम्बोधन गर्न मन्त्रालयले किसानहरूलाई परम्परागत विधिमा मात्र भर नपरी वैकल्पिक उपायहरू अपनाउन सुझाव दिएको छ । आकाशे पानी संकलन गर्ने र खेतबारी नजिकै पोखरीहरू निर्माण गरी वर्षाको पानी जम्मा गर्न मन्त्रालयले आग्रह गरेको छ ।
कम पानीमा बढी लाभ लिनका लागि मन्त्रालयले आधुनिक र जलवायुमैत्री संरक्षित कृषि प्रविधिहरू अपनाउन जोड दिएको छ । ‘विशेष गरी सुख्खा तथा हिले छरुवा धान खेती, पालैपालो भिजाउने र सुकाउने प्रविधि तथा सघन धान खेती जस्ता विधि प्रयोग गर्दा कम सिँचाइमा पनि धानको उत्पादकत्व वृद्धि गर्न सकिन्छ’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । यी प्रविधिहरूले पानीको मितव्ययिता मात्र नभई लागत समेत कम गर्ने मन्त्रालयको दाबी छ ।
बाली लगाउनुपूर्व जमिनको तयारीमा विशेष ध्यान दिनुपर्ने मन्त्रालयको सुझाव छ । माटोको चिस्यान लामो समयसम्म कायम राख्न उपलब्ध भएसम्म ‘छापो’को प्रयोग गर्न भनिएको छ । यसका साथै खेती सुरु गर्नुअघि जमिनलाई राम्रोसँग सम्याउन र पानी निकासको उचित प्रबन्ध मिलाउन, जमिन सम्याउँदा पानीको समान वितरण हुने र थोरै पानीले पनि धेरै क्षेत्र सिँचाइ गर्न सहज हुनेगरी व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।
मन्त्रालयले मौसमको प्रतिकूलतालाई दृष्टिगत गर्दै कृषि प्राविधिकहरूसँगको समन्वयमा मात्र बीउ बिजन र प्रविधिको छनोट गर्न देशभरिका किसानहरूलाई अनुरोध गरेको छ । जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा प्रत्यक्ष देखिन थालेकाले समयमै यस्ता सावधानी अपनाउनु पर्ने भएको छ ।
प्रतिक्रिया 4