+
+
Shares

छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्गमा र्‍याली, सांसद पनि सडकमा

सुरेश राय सुरेश राय
२०८३ वैशाख २६ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी, व्यापारी र राजनीतिक दलले आन्दोलन सुरु गरेका छन्।
  • मधेश प्रदेशका सांसद संजय यादवले सरकारको निर्णयलाई 'राजनीतिक प्रतिशोध र गलत नीति' भनेका छन् र आन्दोलनलाई सशक्त बनाउन आग्रह गरेका छन्।
  • आन्दोलनका क्रममा हुलाकी मार्ग अवरुद्ध भई पूर्व-पश्चिम आवागमन प्रभावित भएको छ र वैशाख २७ गते बजार बन्द तथा मसाल जुलुस गरिनेछ।

२६ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको तेस्रो दिन हुलाकी मार्गमा र्‍याली तथा कोणसभा गरिएको छ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो । स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन् ।

तेस्रो दिनको आन्दोलनअन्तर्गत बजार परिक्रमा र्यालीसहित कोणसभा आयोजना गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै मधेश प्रदेशका सांसद एवं पूर्वमन्त्री संजय यादवले देशको प्रमुख आम्दानीको स्रोत राजस्व संकलन भएको उल्लेख गर्दै कानुनअनुसार राजस्व संकलन गर्नु राज्यको दायित्व भएको बताए।

उनले जनतालाई आवश्यकताअनुसार सेवा सुविधा उपलब्ध गराउनु पनि राज्यको जिम्मेवारी रहेको धारणा राखे ।

बरियारपट्टी जनसंख्या र व्यापारिक गतिविधिका हिसाबले तीव्र रूपमा अगाडि बढिरहेको क्षेत्र भएको भन्दै व्यवस्थित रूपमा सञ्चालन गरिएको भए यो नाका अन्य सीमावर्ती नाकाभन्दा ठूलो तथा राजस्व संकलनमा समेत अग्रणी बन्न सक्ने उनको भनाइ छ ।

 सरकारको निर्णयलाई उनले ‘राजनीतिक प्रतिशोध र गलत नीति’ को संज्ञा दिएका छन् ।

सांसद यादवले अहिले राज्यले सेवा विस्तार गर्नुपर्ने समयमा उल्टै जनतालाई सेवा कटौती गरेर दण्ड दिने काम गरेको आरोप लगाए ।

उनले सिरहावासीले यस्तो कदम कहिल्यै स्वीकार नगर्ने चेतावनी दिँदै सरकारले भन्सार कार्यालय बन्द गरेर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोपसमेत लगाए । साथै आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउन आन्दोलनकारीहरूलाई आग्रह गरे।

आन्दोलनकारीहरूले र्‍यालीका क्रममा ‘छोटी भन्सार फिर्ता गर’, ‘अर्थमन्त्री होसियार’, ‘हाम्रो माग पूरा गर’ लगायतका नाराबाजी गरेका थिए ।

यसअघि आन्दोलनकारीहरूले बिहीबार बिहान करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै दिउँसो करिब २ बजे जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका थिए ।

त्यसैगरी शुक्रबार सडक जाम तथा बजार बन्द गरेर आन्दोलन जारी राखिएको स्थानीय तथा विद्यार्थी नेता दिपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार घोषित कार्यक्रमअनुसार वैशाख २७ गते दिनभर बजार बन्द तथा मसाल जुलुस गरिनेछ भने वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिनेछ ।

शनिबार बिहानदेखि नै बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम आवागमन प्रभावित बनेको छ भने भारतबाट नेपालतर्फ आउने तथा नेपालबाट भारततर्फ जाने यात्रुहरूले सास्ती खेप्नु परेको छ ।

 

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?