+
+
Shares

पुस्तौंदेखि काकाकुल खैराबाङ, नगरपालिकाले ल्यायो २५ करोडको आयोजना

पानीकै अभावका कारण यस क्षेत्रका धेरैजसो नागरिक बसाइँसराइ गर्नसमेत बाध्य भएका छन् । अहिले खानेपानी आयोजना सुरु भएपछि भने यहाँका नागरिक आशावादी भएका छन् ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ वैशाख २६ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शारदा नगरपालिकाले २५ करोड ४३ लाख रुपैयाँ लागतमा खैराबाङमा बृहत सामुदायिक खानेपानी आयोजना सुरु गरेको छ।
  • यो आयोजनाले वडा नम्बर १, ११ र १२ का करिब १ हजार २ सय घरधुरी र ५ हजार ५ सय नागरिकलाई घरमै पानी पुर्‍याउने छ।
  • खानेपानी अभावले बालबालिका र ज्येष्ठ नागरिकलाई असर गरेको थियो, अब १८ महिनाभित्र आयोजना सम्पन्न हुने अपेक्षा छ।

२६ वैशाख, काठमाडौं । सुन्दर पहाड, हरियाली जंगल र धार्मिक महत्व बोकेको ठाउँ हो, खैराबाङ । तर, यहाँका नागरिकले पुस्तौंदेखि एउटै समस्या भोग्दै आएका छन् ।

नागरिकहरूलाई घण्टौं हिँडेर पँधेरो पुग्नुपर्ने बाध्यता छ । गर्मीयाममा पानीका मुहान सुक्ने, पानी कम हुने भएकाले पालो कुर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

शारदा नगरपालिका-११, खैराबाङका सुकलाल थापाले पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएको बताउँछन् । पानीकै लागि घण्टौं हिँडेर भिरको बाटो हुँदै पँधेरो जानुपर्ने बाध्यता रहेको उनको गुनासो छ । वैशाख, जेठमा झन् पानीका मुहान सुक्ने र पानी कम हुने भएकाले पालो कुर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

‘हामीले पुस्तौंदेखि खानेपानीकै समस्या भोग्दै आएका छौं । मैले थाहा पाउने भएदेखि पानी बोक्न थालेको, अहिलेसम्म पनि बोक्दै खानु परेको छ । घण्टौं हिँडेर भिरको बाटो हुँदै पँधेरो जानुपर्छ’, उनले भने, ‘त्यही पनि वैशाख, जेठमा मुहान सुक्ने भएकाले पालो कुर्दैमा घण्टौं बित्छ । सरसफाइ र सिँचाइ त हाम्रो लागि सपना जस्तै हो ।’

सुकलाल जस्तै यस क्षेत्रका सबै नागरिकको समस्या साझा छ । खानेपानी अभावको सबैभन्दा ठूलो मार बालबालिका र ज्येष्ठ नागरिकमा परेको छ । घण्टौं समय पानीकै लागि खर्च गर्नुपर्दा दैनिक जीवन मात्रै होइन, शिक्षा र स्वास्थ्यमा समेत असर परेको छ ।

पानीकै अभावका कारण यस क्षेत्रका धेरैजसो नागरिक बसाइँसराइ गर्नसमेत बाध्य भएको स्थानीय वीरेन्द्र बस्नेत बताउँछन् । अब भने यस समस्याको अन्त्य हुनेमा आफूहरू आशावादी रहेको उनले बताए । शारदा नगरपालिकाले सुरु गरेको बृहत खैराबाङ सामुदायिक खानेपानी आयोजनाले केही आशा पलाएको हो  ।

‘धेरैजसो मानिस पानीकै समस्याका कारण बसाइँसराइ गरेर जाने गरेका छन्, वृद्ध तथा बालबालिकालाई झन् समस्या भएको छ’, उनले भने , ‘स्वास्थ्यमा समस्या आउने, बालबालिकाको पढाइमा असर पर्ने गरेको छ, अहिले नगरपालिकाले नयाँ आयोजना सुरु गरेको छ, छिट्टै घरघरमा खानेपानी आउँछ भन्ने विश्वास लागेको छ ।

२५ करोडको खानेपानी आयोजना

शारदा नगरपालिकाले बस्तीदेखि करिब २ किलोमिटर तल शारदा खोलाको किनारबाट लिफ्ट प्रविधिमार्फत काकाकुल बस्तीमा पानी पुर्‍याउन बृहत खैराबाङ सामुदायिक खानेपानी आयोजना सुरु गरेको छ ।

नगरपालिकाका अनुसार कुल २५ करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको ठेक्का रकम भ्याटसहित १७ करोड ८५ लाख ४९ हजार ८७५ रुपैयाँ रहेको छ । एम कन्स्ट्रक्सन, ललितपुरले मिति २०८४ भदौ ७ गतेभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यस सहित निर्माण कार्यको जिम्मा लिएको छ ।

यो आयोजना सम्पन्न भएपछि वडा नम्बर १, ११ र १२ का एक हजार दुई सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने नगर प्रमुख प्रकाश भण्डारीले बताए ।नागरिकलाई खानेपानीकै कारण सास्ती नहोस् भन्ने उद्देश्यले खानेपानिको क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

‘घर घरमा स्वच्छ पानी सहितको धारा पुर्‍याउने अभियानअन्तर्गत २५ करोड ४३ लाख लागतमा यो योजना सुरु गरिएको हो । यो बृहत योजना सम्पन्न भए नगरपालिका १, ११ र १२ का १२ सय घरधुरीका ५ हजार ५ सय नागरिकले घरमै धारा खोलेर पानी उपभोग गर्न पाउनेछन’, उनले भने ।

१८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको निर्माण व्यवसायी राम्रो भएकाले समयअघि नै सम्पन्न हुन सक्ने अपेक्षा गरिएको छ ।

शारदा नगरपालिकाका तीन वटा वडाका करिब १ हजार २ सय घरधुरीले दशकौंदेखि भोग्दै आएको खानेपानी संकट अब निर्माणाधीन आयोजनासँगै अन्त्य हुने विश्वास लिएका छन् । योजना समयमै सम्पन्न भए यहाँका नागरिकले पहिलोपटक सहज र सुरक्षित रूपमा घरमै खानेपानी उपयोग गर्न पाउनेछन् ।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?