+
+
Shares

गुडिया र अचार बनाएर आर्जन गर्दै दाङका महिला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते ६:२५

२८ वैशाख, तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन् ।

घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उनले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । ‘पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु’, उनले भनिन् ।

त्यस्तै तुलसीपुर-६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त छन् । घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेच्ने गरेकी छन् । उनीहरु यसरी उद्यममा जोडिएका हुन् ।

आयआर्जनमा जोडिएपछि घर खर्च चलाउन पनि घरका अन्य सदस्यसँग माग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘पहिले केही खर्च चाहियो भने पनि घरमा माग्नु पर्थ्यो’, लामिछानेले भने, ‘अब त हामी आफैँ कमाउने भइसकेका छौं ।’

उनीहरू उदाहरणमात्रै हुन् । अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयआर्जनमा जोडिएका छन् । सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीमार्फत आम्दानीमा जोडिएका हुन् । तुलसीपुर ६, ७ र ९ नं वडाका महिलालाई तालिम दिइएको थियो ।

जसमा २५ जना अचार बनाउने, ४७ जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयआर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले बताए ।

उनका अनुसार महिलाहरूले ११ प्रकारका अचार बनाउन सिकेका छन् भने नौ प्रकारका गुडिया बनाउन सिकेका छन् । खरायो, पाण्डा, गणेश, टायर कुसन, लभकुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन् ।

त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भागो छोप, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?