+
+
Shares

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्।
  • विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशमा कांग्रेस, एमाले र नेकपाको तीन दलीय गठबन्धन बनेको छ ।
  • जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरी एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ।

८ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए ।

विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशको सत्ता समीकरण पनि परिवर्तन भएको छ । जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई इन्ट्री गराइएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

यससँगै मधेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठबन्धन बनेको छ ।  तीन दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका थिए ।

जनमतबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका थिए । तर जसपाका तीनजना मन्त्रीले राजिनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको छ । जसपाबाट मन्त्री रहेका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन बर्खास्तीमा परेका हुन् ।

तीन दलीय गठबन्धनको मधेश प्रदेशमा स्पष्ट बहुमत पुग्छ । १०७ सदस्य प्रदेश सभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक पर्छ । मधेशमा लोसपा जसपा नेपालमा एकीकरण भएर समाहित भएपछि उसको २६ सिट छ । दुईजना सांसद हाल निलम्बनमा छन् ।

एमालेको २४, कांग्रेस २२, नेकपाको १५ सिट छ । यसरी बनेको नवगठबन्धनको ६१ सिट पुग्छ ।

जनमतको १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?