८ जेठ, डोल्पा । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन् ।
जिल्लाका सामुदायिक विद्यालयहरूमा जेठ सुरु भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकहरूले बताएका छन् । केही विद्यालयमा त विद्यार्थी संख्या शून्यजस्तै भएपछि पठनपाठन नै रोक्नुपरेको अवस्था आएको छ ।
स्थानीयका अनुसार डोल्पामा यार्सागुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत हो । वर्षभरको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यार्सागुम्बाबाट हुने आम्दानीमा धेरै परिवार निर्भर रहने गरेका छन् । यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन् ।
यो वर्ष जिल्लाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गतेदेखि खुला हुँदैछन् । यार्सागुम्बा संकलनको समय नजिकिएसँगै विद्यार्थीहरू विद्यालय छाडेर पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–३ सुँको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थी नै विद्यालय आउन छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताए । उनले भने, ‘विद्यार्थी जति सबै यार्सागुम्बा टिप्न जान थाले । अहिले विद्यालयमा विद्यार्थी नै आउँदैनन् । त्यसैले विद्यालय बन्द गर्नु परेको हो ।’
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङस्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि यार्सागुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताए । उनका अनुसार जेठ लागेसँगै अधिकांश विद्यार्थी पाटनतर्फ गइसकेका छन् । ‘विद्यालयमा विद्यार्थी संख्या अत्यन्त कम भएपछि जेठ २५ गतेसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय बन्द भएपछि म पनि यार्सागुम्बा संकलन गर्न जाने तयारी गरिरहेको छु,’ उनले भने ।
यी दुई विद्यालय मात्र होइन, जिल्लाभरका अधिकांश सामुदायिक विद्यालय अहिले बन्द अवस्थामा रहेका छन् । कतिपय विद्यालयले औपचारिक रूपमा बिदा घोषणा गरेका छन् भने केही विद्यालयमा शिक्षक उपस्थित भए पनि विद्यार्थी नआउँदा कक्षा सञ्चालन हुन सकेको छैन ।
काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले पालिकाले विद्यालय बन्द नगर्ने योजना बनाए पनि अन्तत: विद्यार्थीको उपस्थिति शून्यजस्तै भएपछि विद्यालय बन्द गर्नु परेको बताए । उनले भने, ‘हामीले विद्यालय खुला राख्ने प्रयास गरेका थियौं । तर विद्यार्थी नै नआएपछि अन्तिममा विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो ।’
घर्तीले हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा यही समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।
उनले यार्सागुम्बा संकलन अवधिलाई लक्षित गरेर विशेष शैक्षिक क्यालेन्डर, वैकल्पिक कक्षा सञ्चालन वा विशेष बिदा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको जानकारी दिए । ‘विद्यार्थीको पढाइ निरन्तरता दिन वैकल्पिक शैक्षिक कार्यक्रम आवश्यक छ,’ उनले भने ।
डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म १ महिना सम्म यार्सागुम्बा संकलन हुने गर्दछ । यस अवधिमा हजारौं स्थानीय बासिन्दा हिमाली पाटनतर्फ जाने गरेका छन् । गाउँघर नै खालीजस्तै हुने भएकाले विद्यालय, बजार तथा सरकारी सेवा प्रवाह समेत प्रभावित हुने गरेको स्थानीयहरू बताउँछन् ।
शिक्षकहरूका अनुसार यार्सागुम्बा संकलनबाट हुने आम्दानीले धेरै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुगे पनि यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा परेको छ । लामो समय विद्यालय बन्द हुँदा पाठ्यक्रम पूरा गर्न कठिन हुने, विद्यार्थीको पढाइमा निरन्तरता नहुने तथा सिकाइ उपलब्धि कमजोर हुने समस्या दोहोरिने गरेको उनीहरूको भनाइ छ ।
स्थानीय तह र विद्यालयले यार्सागुम्बा संकलन र शिक्षाबीच सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको बताइरहेका बेला डोल्पाका अधिकांश विद्यालय अहिले सुनसान बनेका छन् भने विद्यार्थीहरू हिमाली पाटनतर्फ लागेका छन् ।
प्रतिक्रिया 4