News Summary
Generated by OK AI. Editorially reviewed.- चैत र वैशाख महिनामा लगातार २ खर्बभन्दा बढीको वस्तु आयात भएको छ, जसले चालु आर्थिक वर्षमा कुल आयात १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ।
- वैशाखसम्मको कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड पुगेको छ, जुन गत आवको तुलनामा १४.७५ प्रतिशत बढी हो।
- नेपालले १० महिनामा डेढ सय देशसँग व्यापार गरेको छ, जसमा भारत र चीन प्रमुख साझेदार रहेका छन्।
८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको पछिल्ला दुई महिना लगातार २ खर्बभन्दा बढीको वस्तु आयात भएको छ ।
खासगरी अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य अत्यधिक वृद्धि हुनु र नेपाली मुद्रा कमजोर हुँदा त्यसको चाप अन्तर्राष्ट्रिय व्यापारमा परेको हो ।
शुक्रबारको तथ्यांक अनुसार अमेरिकी डलर १ बराबर १५४ रुपैयाँ बराबर छ । भन्सार विभागका अनुसार चैत र वैशाखमा लगातार २ खर्बमाथिको वस्तु आयात भएको छ । फागुनसम्म १२ खर्ब ८९ अर्ब २५ करोडको वस्तु आयात भएको थियो ।
चैतमा आयात २ खर्ब १ अर्बले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड पुग्यो । वस्तु आयात वैशाखमा २ खर्ब २ अर्बले बढेर वैशाख मसान्तसम्म १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकको चैत महिनासम्मको तथ्यांक अनुसार बृहत आर्थिक वर्गीकरण मापनमा आयातित वस्तुमध्ये उपभोग्य वस्तु ३७.५ प्रतिशत हाराहारी छन् । मध्यवर्ती वस्तु ५३.३ प्रतिशत छन् । पूँजीगत वस्तुको हिस्सा भने ९.२ प्रतिशतमात्र छ ।

भन्सार विभागका अनुसार यस वर्ष वैशाखसम्मको आयात गत आव सोही अवधिको तुलनामा १४.८२ प्रतिशत धेरै हो । गत वर्ष वैशाखसम्म १४ खर्ब ७४ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको थियो ।
यस वर्ष वैशाखसम्म वस्तु निर्यात २ खर्ब ४८ अर्ब ९६ करोड बराबर भएको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १४.२५ प्रतिशत धेरै हो । विभागका अनुसार यस अवधिमा कुल वैदेशिक व्यापार आकार १९ खर्ब ४१ अर्ब ६० करोड पुगेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १४.७५ प्रतिशत धेरै हो ।
व्यापार घाटासमेत अघिल्लो आव सोही अवधिको तुलनामा १४.९२ प्रतिशत बढेर १४ खर्ब ४३ अर्ब कायम भएको छ । गत आव वैशाखसम्म १२ खर्ब ५६ अर्ब बराबर व्यापार घाटा थियो । चैतसम्म कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा बढेको देखिएको थियो ।
वैशाखसम्म निर्यात हिस्सा केही कम भएर १२.८२ प्रतिशत कायम भएको छ । आयात हिस्सा ८७.१७ प्रतिशत छ । जसमा झिनो सुधार भएको छ ।
चालु आव १० महिनाको तथ्यांक हेर्दा कुल आयातमा २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ इन्धन आयातमा खर्च भएको छ । गत आव सोही अवधिमा इन्धन आयातमा २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँमात्र खर्च भएको थियो ।
यस वर्ष पश्चिम एसिया युद्धले इन्धनको हरेक वस्तुमा मूल्यवृद्धि भएको छ । जसका कारण वैदेशिक मुद्रा अधिक खपत हुँदा आयात आकार समेत बढ्न पुगेको छ । यस वर्ष वनस्पति तथा जनावरको घिउ र तेल आयातमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबर विदेशिएको छ ।
गत आव सोही अवधिमा त्यस्ता वस्तु आयात १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी मात्र थियो । गत वर्ष १० महिनामा फलाम र स्टिल आयात १ खर्ब १७ अर्ब रुपैयाँको थियो । अहिले त्यस्ता वस्तुको आयात १ खर्ब १८ अर्ब रुपैयाँ बराबर भएको छ ।
यस वर्ष सवारीसाधन आयातमा ९६ अर्ब ७९ करोड खर्च भएको छ । गत वर्ष सोही अवधिमा ८२ अर्ब २४ करोडको सवारीसाधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
डिजेल आयात मात्रा घट्यो, मूल्य बढ्यो
भन्सार विभागको तथ्यांक अनुसार गत आव १० महिनाको तुलनामा चालु आव १० महिना (वैशाख) सम्म डिजेल आयात मात्रा घटेको छ । २०८२ वैशाखसम्म ११ लाख ४७ हजार ६ सय ५७ किलोलिटर डिजेल आयात भएको थियो । २०८३ वैशाखसम्म ११ लाख ४४ हजार ३ सय ४६ किलोलिटर मात्र डिजेल आयात भएको छ । तर, मूल्य भने अत्यधिक बढेको छ ।
चालु आव वैशाखसम्म डिजेल आयातमा १ खर्ब ३० अर्ब ९३ करोड विदेशिएको छ । गत वर्ष सोही अवधिमा अहिलेभन्दा धेरै डिजेल आयात गर्दा पनि मात्र १ खर्ब २ अर्ब ३८ करोडमात्र विदेशिएको थियो ।

यस वर्ष धेरै आयात भएका वस्तुमध्ये दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ । जुन ६५ करोड ५६ लाख लिटर आयात हुँदा १ खर्ब ६ अर्ब रुपैयाँ विदेशिएको छ । गत आव सोही अवधिमा कच्चा सोयाबिन तेल ५३ करोड ९५ लाख लिटर आयात भएकोमा ८१ अर्ब ८९ करोडमात्र विदेशिएको थियो ।
तेस्रो स्थानमा पेट्रोल छ । यस वर्ष ६ लाख २१ हजार ९ सय ५१ किलोलिटर पेट्रोल आयात भएको छ । जसका लागि ५८ अर्ब ६३ करोड मुद्रा विदेशिएको छ । गत आव सोही अवधिमा पेट्रोल ६ लाख १२ हजार १२ किलोलिटर आयात हुँदा ५३ अर्ब ५ करोड रुपैयाँ विदेशिएको थियो ।
त्यस्तै खाना पकाउने एलपी ग्यास यस वर्ष ४४ करोड ३१ लाख किलो बराबर आयात हुँदा ४६ अर्ब १३ करोड विदेशिएको छ । गत वर्ष सोही अवधिमा ४५ करोड ६८ लाख किलो खाना ग्यास आयातमा ५१ अर्ब ८१ करोड खर्च भएको भन्सार विभागको तथ्यांक छ ।
यस वर्ष १० महिनामा ३९ अर्ब ३९ करोडको स्मार्ट फोन र २५ अर्ब ७८ करोडको सुन भित्रिएको छ । गत आव सोही अवधिमा स्मार्टफोन २८ अर्ब ७६ करोड र सुन १७ अर्ब १२ करोडको भित्रिएको भन्सार विभागले जनाएको छ । स्पन्ज आइरन आयात समेत उच्च स्थानमा छ ।
निर्यातमा पनि अन्तिम उपभोग्य वस्तुकै बाहुल्य
नेपालले १० महिना अधिमा साढे २ खर्ब हाराहारीको वस्तु निर्यात गरेको छ । जसमा अन्तिम उपभोग्य वस्तुको बाहुल्य देखिन्छ । वैशाखसम्म सोयाबिन तेल निर्यात १ खर्ब १ अर्ब हाराहारी भएको छ ।
दोस्रो स्थानमा अलैँची छ । जुन ११ अर्ब ४२ करोड बराबरको निर्यात भएको छ । कार्पेट निर्यात ८ अर्ब ४८ करोड, सूर्यमुखी तेल ७ अर्ब ४१ करोड र पाम तेल निर्यात ५ अर्ब ५६ करोडको भएको छ ।
गत आव सोही अवधिमा सोयाबिन तेल ७८ अर्ब ७५ करोड, सूर्यमुखी तेल १० अर्ब ९ करोड, कार्पेट ८ अर्ब ८४ करोड र अलैँची आयात ६ अर्ब ६७ करोडको मात्र भएको थियो ।
राष्ट्र बैंकको चैतसम्मको तथ्यांक अनुसार यस वर्ष नेपालले निर्यात गरेका कुल वस्तुमध्ये अन्तिम उपभोग्य ६९.४ प्रतिशत, मध्यवर्ती २९.८ र पूँजीगत वस्तु हिस्सा ०.८ प्रतिशत बराबर मात्र छ ।
डेढ सय देशसँग वैशिक व्यापार, भारत र चीन प्रमुख साझेदार
नेपालको वैदेशिक व्यापारको तथ्यांक केलाउँदा डेढ सय देशबाट आयात/निर्यात भएको देखिन्छ । तर, प्रमुख व्यापारिक साझेदार भने भारत र चीन नै हुन् ।
१० महिनामा भारतबाट ९ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारतमा २ खर्ब ४ अर्ब बराबरको वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब ३६ अर्बको वस्तु आयात भएको छ । नेपालबाट चीनतर्फ १ अर्ब ३९ करोडको मात्र निर्यात भएको छ ।
दक्षिण अमेरिकी देश अर्जेन्टिना तेस्रो व्यापार साझेदार मुलुक बनेको छ । त्यहाँबाट ९५ अर्ब २७ करोडको वस्तु आयात भएको छ । यूनाइटेड अरब इमिरेट्स (यूएई) बाट ४९ अर्ब ७४ करोडको आयात भएको छ । त्यहाँबाट १ अर्ब ५७ करोड बराबर निर्यात भएको छ । अमेरिकाबाट २५ अर्ब ९१ करोडको वस्तु आयात भएको छ । नेपालबाट यूएईमा १६ अर्ब ५८ करोडको सामान निर्यात भएको छ ।
प्रतिक्रिया 4