News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो मित्रता थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
- उनले शिक्षा, सिप विकास र आर्थिक सहकार्यलाई दुई देशबीचको सम्बन्धको मुख्य आधार भएको बताइन्।
- मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरेकी थिइन्।
१० जेठ, काठमाडौं । बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सिप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् ।
आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गराइन् ।
मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एकअर्कासँग अभिन्न रूपमा जोडिएको बताइन् ।
नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उनको भनाइ छ ।
बेलायतले आफ्नै देशमा लागु गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इंग्ल्यान्ड’ को अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारी गर्न सकिने उनले बताइन् ।
नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेसनल एजुकेसन’ को महत्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न मद्दत गर्ने बताइन् ।
हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको जानकारी उनले दिइन् ।
मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबीच ‘लिभिङ ब्रिज’ को काम गरिरहेको बताइन् ।
बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुसी व्यक्त गर्दै उनले बेलायत पढ्न जाने नेपाली विद्यार्थी छैटौँ ठूलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको बताइन् ।
भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरेकी थिइन् ।
मन्त्री मल्होत्राले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सदैव भरपर्दो साझेदार रहने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4