+
+
Shares

घातक ढुसी र परजीवीका कारण र्‍याटल स्नेक संकटमा

अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रमा पाइने जङ्गली सर्पहरू कडा किसिमको ढुसी (फङ्गस) र परजीवी सङ्क्रमणका कारण गम्भीर सङ्कटमा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २०:५२

अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रमा पाइने जङ्गली सर्पहरू कडा किसिमको ढुसी (फङ्गस) र परजीवी सङ्क्रमणका कारण गम्भीर सङ्कटमा परेका छन् । ‘फ्रन्टियर्स इन भेटेरिनरी साइन्स’ जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान अनुसार त्यहाँका रैथाने सर्पहरू एकै पटक धेरै वटा रोगबाट सङ्क्रमित भइरहेका छन् ।

यसमध्ये ‘ओफिडिओमाइकोसिस’ भनिने एउटा घातक ढुसी जन्य रोग सर्पहरूका लागि  ठूलो खतरा बनेको छ ।

वैज्ञानिकहरूले दक्षिण–पूर्वी अमेरिकाका विभिन्न आरक्षण क्षेत्रबाट २९ प्रजातिका ५०० भन्दा बढी जङ्गली सर्पहरूको नमुना सङ्कलन गरेर परीक्षण गरेका थिए ।

युनिभर्सिटी अफ जर्जियाकी अनुसन्धानकर्ता डा. कोरिना मिसिनका अनुसार परीक्षण गरिएका सर्पहरूमध्ये ८० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पाइएको छ ।

यस क्षेत्रमा ‘पिग्मी र्‍याटलस्नेक’ (एक प्रकारको विषालु सर्प) प्रजाति यो महामारीबाट सबैभन्दा बढी प्रभावित भएको पाइएको छ ।

यो सर्प घातक ढुसी र फोक्सोमा लाग्ने ‘स्नेक लङवोर्म’ नामक परजीवी दुवैबाट सङ्क्रमित भएको भेटिएको छ ।

अनुसन्धानका क्रममा ४४ प्रतिशत सर्पहरूमा एकै साथ दुई वा सोभन्दा बढी रोगका कीटाणुहरू पाइएका छन् । ६३ प्रतिशत सर्पमा ‘साल्मोनेला’ ब्याक्टेरिया र ५३ प्रतिशतमा सङ्क्रामक परजीवी पाइएको छ ।

त्यसैगरी १८ प्रतिशत सर्पमा एन्टिबायोटिक औषधीले समेत काम नगर्ने ‘माइकोप्लाज्मा’ ब्याक्टेरिया भेटिएको छ, जसले सर्पको श्वासप्रश्वास प्रणालीमा असर गर्छ । अमेरिकाका जङ्गली सर्पहरूमा यस्तो ब्याक्टेरिया भेटिएको यो पहिलो पटक हो ।

वैज्ञानिकहरूका अनुसार एउटा रोगले गर्दा सर्पको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र त्यसपछि अन्य रोगहरूले सजिलै आक्रमण गर्ने गर्छन् ।

पिग्मी र्‍याटलस्नेकले मुख्यतया छेपारो र भ्यागुता खाने गर्छन्, जसका कारण उनीहरूमा फोक्सोको परजीवी सजिलै सर्ने गरेको हो। अमेरिकामा रैथाने सर्पहरूको वासस्थान विनाश भइरहेका बेला फैलिएको यो आन्तरिक स्वास्थ्य सङ्कटले उनीहरूलाई लोप हुने अवस्थामा पुर्‍याउन सक्ने भन्दै वन्यजन्तु संरक्षणवादीहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?