News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा हरेक वर्ष विषालु जङ्गली च्याउ सेवनका कारण सरदर ५० जनाको मृत्यु हुने गरेको छ।
नेपालमा वर्षायाम सुरु भएसँगै जंगल, खेतबारी, घाँसे मैदान तथा कुहिएको काठ वरिपरि विभिन्न प्रकारका च्याउ उम्रिन थाल्छन् । गाउँघरमा जंगली च्याउ टिपेर खाने चलन पुरानै हो । धेरै मानिसले स्वाद, परम्परा, तथा आर्थिक कारणले जंगली च्याउ संकलन गर्ने गर्दछन् ।
हरेक वर्ष नेपालमा विषालु च्याउ सेवनका कारण मानिस बिरामी पर्ने, अस्पताल भर्ना हुने, र कतिपय अवस्थामा मृत्यु समेत हुने घटना दोहोरिरहन्छ । सरदर ५० जनाले बार्षिक ज्यान गुमाएका समाचार हामीले सुन्दै आइरहेका छौं । त्यसैले वर्षायाममा च्याउ सेवन गर्दा विशेष सावधानी आवश्यक छ ।
च्याउ प्रकृतिको महत्त्वपूर्ण जीव भए पनि सबै च्याउ खान योग्य हुँदैनन् । नेपालमा जमिन बाहिर पाइने झण्डै १३०० प्रजातिका च्याउमध्ये १०० प्रजाति विषालु प्रमाणित छन् भने १०० बढी च्याउ खानयोग्य मानिन्छ । केही च्याउमा यस्ता विषालु तत्व हुन्छन् जसले कलेजो, मिर्गौला, स्नायु प्रणाली तथा मुटुमा गम्भीर असर पुर्याउन सक्छ । विशेषगरी एमानिटा, ग्यालेरिना लगायतका केही जातका च्याउ अत्यन्त घातक मानिन्छन् ।
नेपालमा पाइने सबैभन्दा खतरनाक विषालु च्याउहरू मध्ये केही यस्ता छन्:
डेथ क्याप – एमानिटा फ्यालोइड्स

यो संसारकै सबैभन्दा घातक च्याउमध्ये एक हो । कलेजो र मिर्गौला नष्ट गर्ने विष एमाटोक्सिन हुन्छ ।
डिस्ट्रोइङ एन्जेल : एमानिटा भाइरोसा

यो सेतो र आकर्षक देखिने तर अत्यन्त विषालु च्याउ हो । खान मिल्ने च्याउसँग झुक्किन सकिने हुदाँ हामीलाई बढी झुक्याउँछ ।
फ्लाइ एगारिक : एमानिटा मस्कारिया

रातो टोपीमा सेता थोप्ला भएको आकर्षक च्याउ । नेपालका उच्च पहाडी वन क्षेत्रमा पनि पाइन्छ । यसमा स्नायु प्रणालीमा असर पार्ने विष हुन्छ ।
फ्युनरल बेल – गालेरिना मार्जिनाटा

यिनीहरू साना खालका खैरो च्याउ हुन् । काठ कुहिएको ठाउँमा उम्रिन्छ । धेरैजसो मानिसले खाने च्याउ ठानेर गल्ती गर्छन् ।
विषालु च्याउ कसरी चिन्ने ?
ल्याब परिक्षण बिना विषालु च्याउ चिन्ने काम सजिलो छैन । धेरै विषालु च्याउ खान मिल्ने च्याउसँग निकै मिल्दोजुल्दो देखिन्छन् । तथापि केही सामान्य संकेत तथा गुणहरूमा ध्यान दिन सकिन्छ:
१. अत्यधिक चम्किलो वा आकर्षक रंङ
रातो, चम्किलो पहेंलो, सुन्तलाजस्ता रङ भएका केही च्याउहरू बढी मात्रामा विषालु हुन सक्छन् । उदाहरणका लागि एमानिटा मस्कारिया रातो टोपी र सेता थोप्ला भएको विषालु च्याउ हो । तर सबै चम्किला च्याउ विषालु र सबै फिका वा सादा च्याउ सुरक्षित भने हुँदैनन् ।
२. सेतो गिल्स र फेदमा थैलीजस्तो भाग
धेरै घातक एमानिटा समूहका च्याउमा टोपीको तलपट्टि सेता गिल्स हुन्छन् र डाँठको फेदमा थैली वा कपजस्तो भाग देखिन्छ । यस्ता च्याउ अत्यन्त सावधानीपूर्वक हेर्नुपर्छ।
३. कुहिएको काठ वा ओसिलो ठाउँमा उम्रिने
कतिपय विषालु च्याउ कुहिएको काठ, ठुटा तथा घना वन क्षेत्रमा उम्रिन्छन् । विशेषगरी वर्षायाममा यस्तो वातावरणमा धेरै च्याउ उम्रिने भएकाले जोखिम बढ्छ।
४. स्थानीय नाममा मात्र भर नपर्नु
एउटै च्याउलाई फरक ठाउँमा फरक–फरक नामले चिनिन्छ। कतिपय खाद्न हुने र विषालु च्याउको स्थानीय नाम उस्तै हुन सक्छ । त्यसैले नाम वा पुरानो वा पुस्तौदेखिको अनुभव मात्र भरपर्दो नहुन सक्छ ।
५. घरेलु परीक्षण गलत हुन सक्छ
‘कीराले खाएको च्याउ सुरक्षित हुन्छ’, ‘चाँदी कालो भए विषालु हुन्छ’, ‘प्याजसँग पकाउँदा थाहा हुन्छ’, टिमुरले, अमिलोले च्याउको विष मार्छ जस्ता धारणा वैज्ञानिक रूपमा प्रमाणित छैनन् । विषालु च्याउ कीराले पनि खान सक्छन् ।
च्याउ सेवन गर्दा अपनाउनुपर्ने सावधानी
१. चिनेको च्याउ मात्र खाने
पूर्णरूपमा पहिचान गरिएको च्याउ मात्र सेवन गर्नुपर्छ । शंका लागेको च्याउ कहिल्यै खानु हुँदैन।
२. बालबालिका र वृद्धलाई विशेष ध्यान
बालबालिका, गर्भवती महिला तथा वृद्धहरूमा विषको असर छिटो र गम्भीर हुन सक्छ । उनीहरूलाई जंगली च्याउ नखुवाउनु नै उत्तम हुन्छ ।
३. काँचो च्याउ नखाने
कतिपय सामान्य च्याउ पनि काँचो अवस्थामा अपच वा विषाक्त हुन सक्छन् । राम्ररी पकाएर मात्र सेवन गर्नुपर्छ । तर पकाउँदा पनि विषालु च्याउको विष नष्ट नहुन सक्छ भन्ने कुरा सम्झनुपर्छ।
४. अपरिचित च्याउ संकलन नगर्ने
जंगल वा बाटोमा भेटिएको च्याउ टिपेर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । सामाजिक सञ्जाल वा फोटो हेरेर मात्र पहिचान गर्न खोज्नु पनि खतरनाक हुन सक्छ ।
५. एउटै टोकरीमा नराख्ने
खान मिल्ने र नचिनेका च्याउ एउटै भाँडो वा टोकरीमा राख्दा विषालु च्याउको अंश मिसिन सक्छ।
६. च्याउ रातिमा नखाने
कतिपय अवस्थामा रातीमा च्याउ पकाएर खाएर सुत्दा अस्पताल समेत पुग्न नपाइ ज्यान गएका घटना धेरै भएकोले च्याउ रातिमा खाएर सुत्नु हुँदैन ।
विषालु च्याउ खाँदा देखिने लक्षण
विषालु च्याउ सेवनपछि लक्षण तुरुन्त वा केही घण्टापछि देखिन सक्छ ।
-वान्ता हुने
-पेट दुख्ने
-पखाला लाग्ने
-कालो पिसाब आउने
-चक्कर लाग्ने
-पसिना धेरै आउने
-दृष्टि धमिलो हुने
-अत्यधिक कमजोरी
-बेहोस हुने
-सास फेर्न गाह्रो हुने
कतिपय घातक च्याउमा सुरुआती लक्षण हराएजस्तो देखिए पनि भित्रभित्रै कलेजो र मिर्गौलामा गम्भीर क्षति भइरहेको हुन सक्छ र विषालु च्याउको असर 6, १२ वा २४ घण्टासम्म पनि देखिन सक्ने भएकोले सचेत रहनुपर्दछ ।
प्राथामिक उपचार के गर्ने ?
१. तुरुन्त स्वास्थ्य संस्थामा लैजाने
विषालु च्याउ सेवनको शंका लाग्नेबित्तिकै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानुपर्छ । समयमै उपचार पाए ज्यान बचाउन सकिन्छ।
२. बाँकी च्याउ सुरक्षित राख्ने
सेवन गरिएको च्याउको नमूना, पकाएको भाग, वा फोटो सुरक्षित राखे चिकित्सकलाई पहिचान गर्न सहयोग हुन्छ ।
३. बिरामीलाई आराम गराउने
बिरामीलाई सुरक्षित ठाउँमा राखी आराम गराउनुपर्छ । धेरै पानी पिउन दिन सकिन्छ, तर बेहोस व्यक्तिलाई जबरजस्ती केही खुवाउनु हुँदैन।
४. घरेलु औषधिमा भर नपर्ने
झारफुक, घरेलु जडीबुटी, वा अनावश्यक औषधि प्रयोग गर्दा अवस्था झन् बिग्रन सक्छ । चिकित्सकको सल्लाह अत्यावश्यक हुन्छ ।
५. बान्ता गराउन जबर्जस्ती नगर्ने
पहिले जस्तो नुनपानी खुवाएर बान्ता गराउने अभ्यास सबै अवस्थामा सुरक्षित हुँदैन । चिकित्सकको सल्लाहबिना यस्तो नगर्नु राम्रो हुन्छ ।
अरूलाई कसरी सचेत बनाउने ?
१. गाउँघरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने
वर्षायाम सुरु हुनुअघि विद्यालय, आमा समूह, सामुदायिक वन तथा किसान समूहमा विषालु च्याउबारे जानकारी दिनुपर्छ । आफूले जानेका कुरा सबैमा शेयर गर्ने।
२. पोस्टर र सूचना सामग्री प्रयोग गर्ने
विषालु च्याउका तस्वीरसहित चेतनामूलक पोस्टर स्वास्थ्य संस्था, विद्यालय, तथा सार्वजनिक स्थानमा राख्न सकिन्छ । वडा पालिका वा अन्य सम्बन्धित निकायले सचेतनाका कार्यक्रमलाई जनता समक्ष पुर्याउन ढिला गर्नु हुँदैन ।
३. सामाजिक सञ्जालको प्रयोग
आजभोलिका चलेका सञ्जाल मार्फत फेसबुक, टिकटक, युट्युब तथा मेसेन्जरमार्फत सचेतनामूलक सन्देश फैलाउन सकिन्छ ।
४. बालबालिकालाई सिकाउने
बालबालिकाले जंगल वा खेतमा भेटिएका च्याउ खेल्ने वा खाने सम्भावना हुन्छ। त्यसैले ‘नचिनेको च्याउ नछुने, नखाने’ बानी सिकाउनुपर्छ ।
५. स्थानीय विज्ञसँग समन्वय
वनस्पति विज्ञ, कृषि प्राविधिक तथा स्वास्थ्यकर्मीको सहयोगमा सही जानकारी फैलाउनु प्रभावकारी हुन्छ।
( डा. मित्र पाठक कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागको वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख हुन् । विषालु च्याउबाट बच्नका लागि सचेतना अभियान चलाउँदै आएका छन् )
प्रतिक्रिया 4