+
+
Shares

निकुञ्जले रोकेका जलविद्युत् आयोजनाको काम सुरु गराउन मन्त्रीलाई ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इप्पानले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रोकिएका पाँच जलविद्युत् आयोजनाको काम शुरू गराउन वन मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ ।
  • इप्पानका अध्यक्ष गणेश कार्कीले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि पनि आयोजना निर्माण रोकिंदा निजी क्षेत्र निरुत्साहित भएको बताउनुभयो ।
  • मन्त्री चौधरीले जलविद्युत् आयोजनाको काम शुरू गराउन आवश्यक सहजीकरण गर्ने र नीतिगत सुधार गर्न लागेको जानकारी दिनुभयो ।

१३, जेठ काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा निर्माण रोकिएका ५ जलविद्युत् आयोजनाको काम सुरु गराउन माग गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ ।

इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुधबार मन्त्री चौधरीलाई भेट्दै राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाको काम यथाशीघ्र सुरु हुने वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

मन्त्री चौधरीलाई मागपत्र बुझाउँदै अध्यक्ष कार्कीले निकुञ्जभित्र धेरै आयोजना निर्माणको सम्भावना रहेको तर निकुञ्ज क्षेत्रका आयोजनाहरुको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति भएपछि पनि आयोजना निर्माणमा रोक लगाउनुले निजी क्षेत्र निरुत्साहित भएको बताए । यसमा सहजीकरण गर्न उनले मन्त्रीलाई आग्रह गरेका थिए ।

‘ऊर्जा मन्त्रालयले करोडौं रुपैयाँ राजस्व लिएर आयोजना विकास गर्न अनुमति दिँदै जाने, अर्कोतर्फ वन मन्त्रालयको एउटा निकायले वातावरण प्रभाव मूल्यांकन पारित गर्ने अनि अर्को निकायले फेरि आयोजना अघि बढाउन अनुमति नदिई आयोजना निर्माण रोक्नु गलत छ, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी मन्त्रालयबाट सहजीकरण हुन जरुरी छ,’ उनले भने ।

सकेसम्म ४/५ वर्षसम्म रुख कटान र जग्गा भोगाधिकारको अनुमति दिँदै नदिने, अन्य निकायबाट अनुमति लिएर काम गर्दा पनि आयोजनाको काम रोकिदिएको अध्यक्ष कार्कीको भनाइ थियो। सरकारले १० वर्षमा ३० हजार मेगावाट उत्पादन पुर्‍याउने लक्ष्य अघि सारिरहेको बेला यस्ता गतिविधि बढ्दा उक्त लक्ष्य पूरा हुन नसक्ने उनको भनाइ छ।

उनले सरकारले सनसेट ल ल्याउने तयारी गरिरहेको बेला आयोजनालाई सहजीकरण गर्न मन्त्रालयले पहल गर्नुपर्ने पनि बताए । मन्त्री चौधरीले जलविद्युत आयोजनाको काम सुरु गराउन मन्त्रालयको तर्फबाट आवश्यक सहजिकरण हुने बताइन् । उनले केही समयभित्रै विकास आयोजनाहरुमा देखिएको समस्या समाधान गर्ने गरी नीतिगत सुधार गर्न लागेको जानकारी दिइन् ।

पछिल्ला समयमा सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट निर्माणाधीन ३६.५ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना, २०.५२ मेगावाटको माथिल्लो ब्रह्मायणी जलविद्युत् आयोजना, ९.७ मेगावाटको ब्रह्मायणी ए जलविद्युत आयोजना, ४० मेगावाटको बलेफी खोला जलविद्युत् आयोजना र ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजना गरी १५३ मेगावाट जडित क्षमताका पाँच जलविद्युत् आयोजनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले पत्र लेख्दै काम रोक्न निर्देशन दिएको छ ।

नेपाल सरकारका विभिन्न निकायबाट आयोजना विकास गर्न दिएको अनुमतिपत्र र वन मन्त्रालयले नै स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट अनुसार निर्माण कार्य अघि बढाइरहेको अवस्थामा निकुञ्ज प्रशासनले काम रोक्नुको सट्टा सहजीकरण गर्नुपर्ने बताउँदै मुलुकको विकासका लागि सरकारसँग निजी क्षेत्र सहकार्य गरी अघि बढ्ने इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए ।

आजै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेललाई भेटेर इप्पानले राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण रोक्ने गरी दिएको निर्देशनलाई सुधार गरेर वन मन्त्रालयले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन पारित गरिसकेकोले सोही अनुसार काम गर्ने वातावरण बनाउनुपर्ने पनि माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?