एक प्रतिष्ठित अन्तर्राष्ट्रिय रक्षा अध्ययन संस्थाले ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच युद्ध भए त्यसले आणविक विनाशको रूप लिनसक्ने चेतावनी दिएको छ ।
बेलायतको लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर र्स्ट्याटेजिक स्टडिज (आइआइएसएस) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दुवै देशका सेनाले एकअर्काका मुख्य कमान्ड र सञ्चार केन्द्रहरूलाई निसाना बनाउने र त्यसले आणविक युद्ध निम्त्याउन सक्ने उल्लेख छ ।
सिंगापुरमा यसै साता सुरु हुन लागेको एसियाकै सबैभन्दा ठूलो वार्षिक रक्षा सम्मेलन ‘साङ्ग्री–ला डायलग’ को पूर्वसन्ध्यामा यो प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन अनुसार विश्व यतिबेला नयाँ आणविक हतियारको होडबाजीको सङ्घारमा छ र यसको केन्द्रमा एसिया–प्रशान्त क्षेत्र रहेको छ ।
चीनले अन्य आणविक शक्तिको तुलनामा आणविक हतियारको क्षमता तीव्र रूपमा विस्तार गरिरहेको अमेरिकी अधिकारीहरूले बताउँदैआएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा चीनसँग एक हजार वटा आणविक हतियार (वारहेड) पुग्ने अनुमान छ ।
हाल अमेरिकासँग ३ हजार ७०० र रुससँग ४ हजार ४०० सक्रिय आणविक हतियार हुँदा चीनसँग ६२० वटा रहेको तथ्याङ्क छ ।
‘आइआइएसएस’ का वरिष्ठ फेलो डेनियल सालिसबरीका अनुसार शीतयुद्धका बेला अमेरिका र सोभियत सङ्घबीच हतियार नियन्त्रणका विषयमा लामो संवाद हुने गरेको भएपनि वर्तमान अवस्थामा अमेरिका र चीनबीच त्यस्तो कुनै ठोस छलफल हुन सकेको छैन ।
यसै महिनाको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर वार्ता भएको थियो । तर पनि त्यहाँ आणविक सुरक्षाका विषयमा कुनै कुरा नभएको प्रतिवेदनमा जनाइएको छ ।
यस प्रतिवेदनप्रति चीनले असन्तुष्टि व्यक्त गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले आइआइएसएसको प्रतिवेदन वास्तविक स्थिति भन्दा फरक रहेको टिप्पणी गरेका छन् । उनले ताइवानको मामिला चीनको आन्तरिक विषय भएको र यसमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।
त्यस्तै, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अमेरिकालाई ताइवानको विषयमा अत्यन्तै सावधानीपूर्वक कदम चाल्न भनेकी छन् । मे २९ देखि ३१ सम्म सिंगापुरमा चल्ने रक्षा सम्मेलनमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ सहभागी हुँदै छन् । चीनका रक्षा मन्त्री डोङ जुनको सहभागिताका बारेमा अझै पुष्टि भइसकेको छैन ।
प्रतिक्रिया 4