+
+
Shares

चीनको पर्यटन बजारमा नेपालको आरोग्य र साहसिक पर्यटन प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली टोलीले चीनको सांघाईमा सम्पन्न ‘आईटीबी चाइना–२०२६’ मा सहभागी भई नेपालको पर्यटन प्रवर्द्धन गरेको छ ।
  • मेलामा नेपालले आगामी वर्षको ‘भिजिट नेपाल वेलनेस टुरिजम् एयर–२०२७’ अभियानलाई प्राथमिकता दिँदै आरोग्य र साहसिक पर्यटनको प्रचारप्रसार गरेको छ ।
  • नेपाली प्रतिनिधिमण्डलले चिनियाँ टुर अपरेटर र अन्तर्राष्ट्रिय साझेदारहरूसँग पर्यटन आगमन वृद्धि तथा व्यावसायिक सहकार्यका लागि छलफल गरेको छ ।

१४ जेठ, काठमाडौं । नेपालले आईटीबी चाइना–२०२६ मार्फत् अन्तर्राष्ट्रिय मञ्‍चमा आरोग्य र साहसिक पर्यटनको प्रवर्द्धन गरेको छ । चीनको आउटबाउन्ड पर्यटन बजार केन्द्रित प्रमुख बीटूबी ट्राभल ट्रेड प्रदर्शनी आईटीबी चाइना–२०२६ मे २६ देखि २८ सम्म सांघाई वर्ल्ड एक्स्पो एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो ।

तीन दिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका पर्यटन बोर्ड, गन्तव्य व्यवस्थापन कम्पनी, ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर, खरिदकर्ता तथा सञ्चारकर्मी सहभागी भए । कार्यक्रमले अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, व्यवसायिक सहकार्य तथा पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘नेचुरल्ली नेपाल : वान्स इन नट इनफ’ भन्ने विश्वव्यापी पर्यटन ब्रान्डसहित सांस्कृतिक महत्व झल्काउने गरी सजाइएको नेपाल प्याभिलियनमार्फत् कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो । नेपाल स्टलले ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर तथा सञ्चारमाध्यमको विशेष ध्यान आकर्षित गरेको बोर्डले जनाएको छ ।

कार्यक्रममा नेपालले आगामी वर्षको ‘भिजट नेपाल वेलनेस टुरिजम् एयर–२०२७’ अभियानलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरेको थियो । नेपाललाई विश्वस्तरीय आरोग्य, योग, ध्यान, प्राकृतिक उपचार तथा समग्र स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहितको उक्त राष्ट्रिय अभियान चिनियाँ पर्यटन बजारमा केन्द्रित गरी प्रस्तुत गरिएको थियो ।

नेपालको हिमाली शान्त वातावरण, आध्यात्मिक सम्पदा, परम्परागत उपचार पद्धति तथा प्राकृतिक सौन्दर्य आरोग्य पर्यटनका लागि उपयुक्त रहेको सन्देश चिनियाँ ट्राभल ट्रेड साझेदारहरूबीच प्रवाह गरिएको थियो ।

यसका साथै नेपालले साहसिक पर्यटन, ट्रेकिङ तथा पर्वतारोहण, सांस्कृतिक सम्पदा भ्रमण, धार्मिक यात्रा, वन्यजन्तु पर्यटन तथा लक्जरी अनुभवात्मक पर्यटन प्रवर्द्धन गरिएको थियो । नेपाल प्याभिलियनले नेपाललाई वर्षभर भ्रमण गर्न सकिने विविधतायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको बोर्डले जनाएको छ ।

कार्यक्रमका क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ आउटबाउन्ड टुर अपरेटर, ट्राभल एजेन्सी, माइस योजनाकार तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग व्यवसायिक भेटघाट तथा छलफल गरेको थियो । छलफलमा पर्यटक आगमन वृद्धि, संयुक्त प्रवर्द्धन तथा दीर्घकालीन सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो ।

नेपालको प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पर्यटन बोर्डले गरेका थिए । सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले चिनियाँ खरिदकर्ताबाट प्राप्त सकारात्मक चासो र प्रदर्शनीमार्फत स्थापित व्यवसायिक सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् । आईटीबी चाइनाले चीनको विस्तारोन्मुख आउटबाउन्ड पर्यटन बजारसँग विश्वका विभिन्न गन्तव्यलाई जोड्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा आफ्नो भूमिका निरन्तर सुदृढ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?