News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सले अत्यधिक मोटोपन भएका बिरामीका लागि चिकित्सकको सिफारिसमा प्रयोग हुने औषधिको खर्च ब्यहोर्ने घोषणा गरेको छ ।
- स्वास्थ्यमन्त्री स्टेफानी रिस्टले आगामी जुनको मध्यदेखि लागू हुने गरी सरकारले औषधिको ६५ देखि १०० प्रतिशतसम्म खर्च ब्यहोर्ने बताए ।
- यो सुविधा कम्तीमा ३५ बडी मास इन्डेक्स भई अन्य स्वास्थ्य समस्या भएका वा कम्तीमा ४० बीएमआई भएका बिरामीले पाउनेछन् ।
१५ जेठ, काठमाडौं । फ्रान्सले अत्यधिक मोटोपन भएका बिरामीहरूका लागि चिकित्सकको सिफारिसमा प्रयोग हुने मोटोपन घटाउने औषधिको खर्च सरकारले नै ब्यहोर्ने घोषणा गरेको छ।
युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमध्ये यस्तो सुविधा दिने फ्रान्स पहिलो देश बनेको फ्रान्सेली स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले जानकारी दिएका छन् । यो व्यवस्था आगामी जुनको मध्यदेखि लागू हुनेछ।
विश्वभर तीव्र रूपमा बढिरहेको मोटोपनको समस्यालाई सम्बोधन गर्न नोभो नोर्डिस्क कम्पनीको ‘वेगोभी’ र एली लिली कम्पनीको ‘माउन्जारो’ जस्ता सिरिन्जमार्फत दिइने औषधिहरू निकै प्रभावकारी मानिएका छन्। हाल फ्रान्समा यी औषधिका लागि बिरामीहरूले प्रतिमहिना औसत ३०० युरो खर्च गरिरहेका छन्।
स्वास्थ्य मन्त्री रिस्टका अनुसार यो नयाँ प्याकेज पूर्ण रूपमा लागू हुँदा फ्रान्स सरकारलाई वार्षिक करिब १० करोड युरो बराबरको आर्थिक भार पर्ने अनुमान गरिएको छ।
सरकारको सामाजिक सुरक्षा प्रणाली अन्तर्गत यो सुविधा कम्तीमा ३५ बडी मास इन्डेक्स भई मोटोपन सम्बन्धी अन्य कुनै रोग भएका वा कुनै रोग नभए पनि कम्तीमा ४० बीएमआई भएका अत्यधिक मोटोपनका बिरामीहरूले पाउनेछन्।
फ्रान्समा यसको लक्षित जनसङ्ख्या करिब १० लाख भए पनि चिकित्सकको विशिष्ट सिफारिसका आधारमा मात्र यो उपलब्ध गराइनेछ। सरकारले यी औषधिमा ६५ प्रतिशत खर्च ब्यहोर्ने भए तापनि मोटोपनका कारण अन्य स्वास्थ्य समस्या झेलिरहेका अधिकांश बिरामीहरूले शतप्रतिशत नै कभरेज पाउने मन्त्री रिस्टले स्पष्ट पारे ।
फ्रान्समा सन् २०२४ देखि नै चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा मोटोपन घटाउने औषधिहरू उपलब्ध हुँदै आएका छन्। औषधि उत्पादक कम्पनी नोभो नोर्डिस्कका फ्रान्स प्रमुख एटिएन टिचिटले सरकारको यस कदमले जनस्वास्थ्यको बढ्दो चुनौती र उचित उपचारको आवश्यकतालाई सम्बोधन गरेको भन्दै स्वागत गरेका छन्।
यसैबीच, युरोपेली मेडिसिन एजेन्सीले गत हप्ता मात्रै नोभो नोर्डिस्कको ‘वेगोभी’ पिललाई पनि प्रयोगका लागि सिफारिस गरेको छ । जसले युरोपमा खाने चक्कीका रूपमा मोटोपन घटाउने पहिलो औषधिका लागि बाटो खोलेको छ।
प्रतिक्रिया 4