+
+
Shares

सगरमाथा आधार शिविरको रोमाञ्चक यात्रा

सगरमाथाको काखमा बिताएका ती दिनले हामीलाई केवल आधार शिविरसम्म पुग्न मात्र सिकाएनन्, कठिनाइसँग जुध्न, मित्रतालाई बलियो बनाउन र सपनामाथि विश्वास राख्न पनि सिकाए।

कृष्ण सिंजाली कृष्ण सिंजाली
२०८३ जेठ १६ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाका दुई यात्रीले चोला पास पार गर्दै गोक्यो री र सगरमाथा आधार शिविरको कठिन पैदल यात्रा सफलतापूर्वक पूरा गरेका छन् ।
  • जोङ्लाका होटल सञ्चालक पासाङ शेर्पा लामाले कोभिड लकडाउनपछि नेपाली र विदेशी पर्यटकलाई समान किसिमको सुविधा दिन थालिएको बताएका छन् ।
  • गोक्योमा स्थानीय व्यवसायी तेन्जिङ शेर्पाले आफ्नै लगानीमा स्थापना गरेको स्वास्थ्य केन्द्रले स्वदेशी तथा विदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

म र साथी जसु लिम्बूको सगरमाथा आधार शिविर पुग्ने सपना एक वर्ष अघिदेखिको हो।

२०८२ सालको दशैंअघि नै यात्रा गर्ने योजना, टिकट र सबै तयारी पूरा भइसकेको थियो। तर अचानक भएको जेनजी आन्दोलनले हाम्रो यात्रा रोक्यो । केही समयका लागि सपना अधुरो बने जस्तो लाग्यो । तर हिमालको आकर्षण कहिल्यै कम भएन। अन्ततः केही महिनापछि फेरि यात्रा तय भयो।

झापाको काँकडभिट्टाबाट हामी काठमाडौंको ठमेल पुग्यौं। ठमेलका गल्लीहरू ट्रेकिङ सामग्री किन्ने मानिसहरूले भरिएका थिए। डाउन ज्याकेट, ट्रेकिङ बुट, ग्लोभ्स, स्लिपिङ ब्याग र आवश्यक सामानहरू किनेर हामी रामेछापतर्फ लाग्यौं। बिहानको चिसो हावासँगै रामेछाप विमानस्थल पुगेपछि हिमाली यात्राको वास्तविक अनुभूति सुरु भयो।

भोलिपल्ट बिहान हामी समिट एयरको विमान चढेर लुक्लातर्फ उड्यौं। बादल र हिमालबीच उडिरहेको जहाजको झ्यालबाट तल देखिने गाउँ, खोला र हरिया पहाडहरू अद्भूत देखिन्थे। केही समयपछि जहाज तेन्जिङ–हिलारी विमानस्थलमा अवतरण भयो। चिसो हावा र हिमाली वातावरणले मन उत्साहित बनायो।

लुक्लाबाट पैदल यात्रा सुरु भयो। दूधकोशी नदीमाथिका झोलुङ्गे पुलहरू पार गर्दै हामी फाक्डिङ हुँदै मोन्जो पुग्यौं। सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट अनुमति लिएर हामी खुम्बु क्षेत्रभित्र प्रवेश गरेका थियौं। जंगल, खोला, चराचुरुङ्गी, जङ्गली जनावर, विभिन्न प्रजातिका लालीगुराँस, प्रार्थना झन्डा (लुङ्दर) र हिमाली बाटोले यात्रालाई झन् रमाइलो बनाइरहेको थियो ।

अर्को दिन नाम्चेबजार पुग्ने उकालो निकै कठिन थियो। शरीर थाक्दै गइरहेको थियो, तर हिलारी झोलुङ्गे पुलको दृश्यले मन आकर्षित गरिरहेको थियो। जब नाम्चे बजार देखियो, लाग्यो- हामीलाई नै पर्खेर बसेको कुनै हिमाली शहर हो। चारैतिर हिमश्रृङ्खला अनि बीचमा फैलिएको बजार र उपत्यकाले हाम्रा सबै दुःख बिर्साइदियो।

हामी शरीरलाई उचाइसँग अनुकूलन गराउनका लागि दुई दिन नमस्ते होटलमा बस्यौं। होटल सञ्चालक बहिनीले गरेको आत्मीय स्वागत र सहयोग अत्यन्त प्रशंसनीय थियो।

त्यही क्रममा होटल एभरेस्ट भ्यू, खुम्जुङ गाउँ, त्यहाँ रहेको १०० वर्षभन्दा पुरानो सेम्तेन छोलिङ गुम्बा तथा सगरमाथा नेक्स्ट पुगेका थियौं। भर्चुअल रियालिटी (भीआर) प्रविधिमार्फत सगरमाथा आरोहणको अनुभव हेर्नु र हिमालबाट संकलित फोहोरबाट बनाइएका सामग्रीहरू अवलोकन गर्नु अविस्मरणीय अनुभव बन्यो।

साथै, नाम्चे बजारस्थित शेर्पा बरिस्ता क्याफेमा नेपाली पर्यटकलाई कफी तथा नास्तामा ५० प्रतिशत छुट दिइएको थियो, जसले हामीलाई निकै खुसी बनाएको थियो। खुम्जुङबाट फर्किने क्रममा परेको हिमपातले स्वास्थ्यको परीक्षा लिनुका साथै यात्रालाई अझ रोमाञ्चक बनाएको थियो।

त्यसपछि हाम्रो यात्रा डोले, माछेरमो हुँदै गोक्यो तालतर्फ अघि बढ्यो। डोलेबाट यात्रामा दुई जना फ्रेन्च नागरिक र गाइड पासाङ छिरिङ शेर्पा पनि केही दिनसम्म सँगै थिए। करिब ६० वर्ष उमेरका ती दुवै पर्यटक फ्रेन्च भाषा मात्र बोल्थे । तर उनीहरूको व्यवहार अत्यन्त दयालु र मित्रवत थियो। भाषा फरक भए पनि यात्राको क्रममा उनीहरूसँगको आत्मीयता झन् गाढा हुँदै गयो।

उचाइ बढ्दै जाँदा सास फेर्न कठिन भइरहेको थियो। राति पानीसमेत बरफ बन्थ्यो। तर गोक्यो तालको निलो पानी, शान्त वातावरण र वरिपरिका हिमालहरूले सबै पीडा भुलायो ।

गोक्यो पुगेपछि हामी दुई भाइले त्यहाँ रहेको अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरायौं। अक्सिजन लेभल जाँच गरियो र आवश्यक औषधि पनि लिइयो। खुम्बु होम्सका सञ्चालक तेन्जिङ शेर्पाले आफ्नै लगानीमा स्थापना गरेको स्वास्थ्य केन्द्रले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिँदै आएको रहेछ। नेपाली पर्यटकप्रति उनले देखाएको आत्मीय स्वागत र सहयोगले मन छोयो।

भोलिपल्ट बिहान हामी गोक्यो री चढ्यौं। माथिबाट देखिएको सगरमाथा, ल्होत्से, मकालु र चो ओयुको दृश्य साँच्चै वर्णन गर्न लायक थियो। सेता हिमालमाथि परिरहेको घामको उज्यालोले प्रकृतिको अनुपम सौन्दर्य झल्काइरहेको थियो। त्यो दृश्यले केही समयका लागि सबै थकान र कठिनाइ बिर्साइदियो।

त्यसपछि हामी थाङ्नाक हुँदै यात्राको सबैभन्दा कठिन भाग-चो ला पास पार गर्न लाग्यौं। हिउँ, चिप्लो बाटो र चिसो हावाबीच कतिपय स्थानमा फलामको डोरी समात्दै कठिन आरोहण गर्दै अघि बढिरहेका थियौं। कठिनाइका बाबजुद हामीले साहसका साथ पास पार गर्‍यौं। त्यो क्षण जीवनकै ठूलो उपलब्धि जस्तो महसुस भयो।

जोङ्लामा हामी माउन्टेन होममा बसेका थियौं। होमका सञ्चालक पासाङ शेर्पा लामाले भने, ‘कोभिड लकडाउनअघि नेपाली पर्यटकहरूलाई धेरै होटलले खान र बस्नका लागि प्राथमिकता दिँदैनथे। तर अहिले नेपाली र विदेशी पर्यटकलाई समान किसिमको सुविधा दिन थालिएको छ।’ उनका शब्दहरूले हिमाली पर्यटनमा आएको परिवर्तनको अनुभूति गराइरहेका थिए।

जोङ्लाबाट लोबुचे हुँदै गोरक्षेप पुग्यौं। साँझ कालापत्थर चढ्दा सुनौलो घाममा चम्किरहेको सगरमाथाको दृश्यले सबैलाई मन्त्रमुग्ध बनायो। कालापत्थरबाट तल झर्दै गर्दा बाटोमा हामीले तिब्बती स्नोकक देख्यौं। त्यसैगरी, फर्किंदै गर्दा विशाल तथा सुन्दर पाङ्बोचे गुम्बा अवलोकन गर्ने अवसर पनि मिल्यो। नाम्चेतर्फ फर्किने क्रममा बाटोमा राष्ट्रिय चरा डाँफेलाई नजिकैबाट हेर्ने मौका पायौं।

गोरक्षेपको स्नोल्यान्ड इनमा राति बास बसेपछि भोलिपल्ट बिहान अन्तिम लक्ष्य- सगरमाथा आधार शिविरतर्फ लाग्यौं। खुम्बु क्षेत्रको यात्रा सोचेभन्दा धेरै महँगो रहेछ। आवश्यक खानपिन र सरसामानहरू बढी खर्चिलो महसुस भयो।

यात्राका क्रममा यति धेरै कठिन बाटो पार गर्दै जब हामी आधार शिविर पुग्यौं, त्यो क्षण शब्दमा बयान गर्न सकिने खालको थिएन। खुम्बु हिमनदी, आरोहीहरूको पाल र विशाल हिमालहरूको बीच उभिँदा लाग्थ्यो- सपना आखिर पूरा भएको छ।

सगरमाथाको काखमा बिताएका ती दिनहरूले हामीलाई केवल आधार शिविरसम्म पुग्न मात्र सिकाएनन्, कठिनाइसँग जुध्न, मित्रतालाई अझ बलियो बनाउन र सपनामाथि विश्वास राख्न पनि सिकाए। हिमालको त्यो यात्रा हाम्रो जीवनको अमूल्य अध्याय बनेर सधैं स्मृतिमा जीवित रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?