News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको गौशाला नगरपालिका–१२ पडरियामा आज इनार खन्ने क्रममा निस्सासिएर सर्लाहीका २२ वर्षीय मजदुर वसन्तकुमार महतोको मृत्यु भएको छ ।
- जमीनमुनि करिब ३६ फिट तल काठको ठूटो काट्न छिरेका महतोको निस्सासिएर बेहोस भएपछि अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
१७ जेठ, जलेश्वर (महोत्तरी) । महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि ईनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेले बताए ।
इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबासमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया 4