News Summary
Generated by OK AI. Editorially reviewed.- अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तोले कपिलवस्तु र लुम्बिनीको पृष्ठभूमिमा आधारित आफ्नो नयाँ पुस्तक 'क्र्याक्स इन द विन्ड' सार्वजनिक गरेका छन्।
- यो कृति केवल आत्मसंस्मरण मात्र नभई तथ्य र काल्पनिकताको सम्मिश्रण रहेको र यसमा तराई-मधेसको बहुसांस्कृतिक समाजको जीवन्त चित्रण गरिएको लेखकले बताएका छन्।
- प्राध्यापक गुप्तोले आफ्नो आगामी योजना अन्तर्गत फ्लोरेन्स र काठमाडौंको कला तथा प्यालेस्टाइनको विषयमा आधारित दुईवटा नयाँ पुस्तकमा काम गरिरहेको जानकारी दिएका छन्।
विगत लामो समयदेखि अंग्रेजी साहित्य, समालोचना र सांस्कृतिक सिद्धान्त अध्यापन गराउँदै आएका प्राध्यापक अरुण गुप्तोको बौद्धिक पहिचान फरक छ ।
राउटलेज र रुपा जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट उनका संस्कृति र समालोचना सिद्धान्त सम्बन्धी पुस्तकहरू प्रकाशित भइसकेका छन् । तर, यसपटक प्रा. गुप्तो अलि फरक रूपमा प्रस्तुत भएका छन् ।
रुपा पब्लिकेसनबाट भर्खरै बजारमा आएको उनको नयाँ पुस्तक ‘क्र्याक्स इन द विन्ड: मेमोआर्स फ्रम लुम्बिनी’ सिद्धान्तको ओजिलो गफ होइन, बल्की उनको बाल्यकाल, किशोरावस्था र तराई-मधेसको एउटा सिमान्त समाजको जीवन्त चित्र हो ।
कपिलवस्तुको बहादुरगन्ज, लुम्बिनी क्षेत्रको पृष्ठभूमिमा बुनिएको यो कृति केवल आत्मसंस्मरण मात्र होइन, यसमा तथ्य र काल्पनिकताको सम्मिश्रण भेटिन्छ । पुस्तक र यसका अनौठा पात्रहरूका विषयमा केन्द्रित रहेर लेखक गुप्तोसँग अनलाइनखबरका लागि प्रसुन सांग्रौलाले गरेको कुराकानी:
तपाईंको नयाँ पुस्तक ‘क्र्याक्स इन द विन्ड: मेमोआर्स फ्रम लुम्बिनी’ भर्खरै बजारमा आएको छ । एउटा प्राज्ञिक व्यक्तिले आफ्नो मेमोआर लेख्दा यो विधालाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो पुस्तक केवल आत्मवृत्तान्त मात्र होइन । अंग्रेजी साहित्यको विधागत हिसाबले भन्दा यो ‘मेमोआर’ नै हो । मेरो विचारमा अटोबायोग्राफी र मेमोआरमा अलिकति फरक हुन्छ । अटोबायोग्राफीमा केवल तथ्यहरू हुन्छन्, तर मेमोआरमा केही हदसम्म काल्पनिकता पनि थपिन्छ । यो मेरो कपिलवस्तु र लुम्बिनी क्षेत्रको बाल्यकाल तथा किशोरावस्थाको कथा हो । तर, यो खाली मेरो व्यक्तिगत कथा मात्र होइन, त्यो बेलाको परिवर्तन भइरहेको समाजको कथा हो ।

भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले त्यहाँ अवधि, भोजपुरी र पहाडी समुदाय छन्; हिन्दी र नेपाली दुवै भाषा बोल्नेहरू छन् । यो एउटा बहुसांस्कृतिक ठाउँ र त्यहाँका मान्छेहरूको कथा हो ।
तपाईंले तथ्यमा काल्पनिकता मिसाए ‘फ्याक्ट अर फिक्सन’ लेख्दा कतै यथार्थ हराउने वा पाठकले नपत्याउने कथा बन्ला कि भन्ने चिन्ता भएन ?
एकदमै चिन्ता भयो । तर यो कथा बहादुरगन्ज, कपिलवस्तु अर्थात् बुद्धको स्थलको पृष्ठभूमिमा अवस्थित छ । मैले बुद्धको चरित्र त निर्माण गरिनँ, तर बुद्धकै विचार जस्तो एकदमै पवित्र, गैर-राजनीतिक र सफा सोच्ने मान्छेहरूको निर्माण गर्नु थियो । त्यसैले बीच-बीचमा मैले म्याजिकल रियलिज्मको प्रयोग गरेको छु । बुद्धत्व जस्तो केही सिर्जना गर्नु छ भने अलिकति फिक्सनतिर जानु नै पर्छ, तर म तथ्यमा आधारित फिक्सनतिर गएँ ।
जस्तै, बुद्धकी एउटी भिक्षुणी चेली थिइन्, खेमा । मैले पुस्तकमा ‘खेमा’ पात्र सिर्जना गरेँ, जसलाई भारतका एकजना भिक्षुले हाम्रो गाउँको हाईस्कुलमा छोडेर तीर्थतिर गएका हुन्छन् । खेमा मेरै क्लासमा हुर्किएकी थिइन् । तर त्यो पुरुषसत्तात्मक समाजमा आफ्ना साथीहरूलाई पढ्न र खेलकुदमा भाग लिन नदिएको देखेर असन्तुष्ट हुँदै उनी जङ्गल जान्छिन् । त्यहाँ मलाई बुद्धको एउटा ‘इमेज’ क्रिएट गर्नु पर्ने भएकाले म्याजिक वा फिक्सनको सहारा लिनै पर्यो ।
यसअघि तपाईंले साहित्य समालोचना, सिद्धान्त, आर्ट-कल्चर र आर्केओलोजी जस्ता प्राज्ञिक विषयमा मात्र कलम चलाउनुभयो । यो मोडमा आएर किन आफ्नो विगत र समाजतिर फर्किएर हेर्न मन लाग्यो ?
यसका दुईवटा कारण छन् । पहिलो, मेरा वरिपरि गाउँका थुप्रै अनौठा पात्रहरू थिए, जसको बारेमा लेख्न मलाई कल्पनाशीलतामा जानु नै थियो । दोस्रो कुरा, मेरो यो पुस्तकका बारेमा वरिष्ठ प्राध्यापक श्रीधर लोहनी सरले एउटा गज्जबको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “तिमीले सधैं सिद्धान्त पढाउँथ्यौ, तर यो किताबमा तिमीले सिद्धान्तलाई ‘फ्लेस’ (मूर्त रूप) दिएका छौ ।”
मलाई पनि के लाग्छ भने, सैद्धान्तिक कुरा लेख्दालेख्दै सिर्जनात्मक कुरा लेख्न बाधा पुग्दैन, तर त्यसलाई मूर्त रूप कसरी दिने भन्ने कुरा लेखकमा निर्भर हुन्छ ।

मैले जब भारतको बजारमा यो पुस्तक लिएर गएँ, त्यहाँका प्रकाशकहरूलाई पत्याउन गाह्रो भयो । उनीहरू भन्थे, तपाईं त सिद्धान्त पढाउने मान्छे, तपाईंका किताब विचारमा आधारित छन्, यो उपन्यास जस्तो पुस्तक कसरी लेख्नुभयो ?’ तर जब उनीहरूले पाण्डुलिपि पढे, तीन-चार महिनाभित्रै यसलाई पब्लिस गरिहाले ।
एउटा उपन्यास वा मेमोआर लेख्न १२ वर्ष लाग्नुको कारण के हो ?
म जहिले पनि के भन्छु भने, उपन्यास वा सिर्जनात्मक पुस्तक लेख्न समय लगाउनै पर्छ । किरण देसाईले पनि ‘द इनहेरिटेन्स अफ लस’ लेख्न ९-१० वर्ष लगाइन् । हतारमा पात्रहरूको निर्माण राम्रो हुँदैन । सैद्धान्तिक किताबहरू त म एक-दुई वर्षमै लेखिहाल्छु ।
यो मेमोआर लेख्दालेख्दै मैले राउटलेज र रुपाबाट सिद्धान्तका तीनवटा किताब छापेँ । तर यसलाई १२ वर्ष लाग्यो । समय दिँदा पात्रको विस्तृत रूप मात्र होइन, उसको ‘इन्टेरियर मोनोलोग’ (आन्तरिक संलाप) सम्म पुग्न सकिन्छ । हेमिंग्वेले ‘द ओल्ड म्यान एन्ड द सी’ मा अरूको भित्र पसेर सोचेका छन् । पात्रले आफैं के सोचिरहेको छ भन्ने कुराको चरित्र गठन गर्न धेरै समय चाहिन्छ।
तपाईं एक पटकमा एउटा मात्र किताब लेख्नुहुन्छ कि एकैसाथ धेरै विधामा हात हाल्नुहुन्छ ?
मलाई रवीन्द्रनाथ टैगोरको एउटा भनाइ याद आउँछ, “चेन्ज अफ प्रफेसन इज रिल्याक्सिङ ।” कहिलेकाहीँ एउटै विधा लेख्दालेख्दै दिक्क लाग्छ, अनि म एक-दुई महिना लेख्दै लेख्दिनँ । धेरै समयपछि फर्किँदा आफ्ना गल्तीहरू देखिन्छन् र एडिट गर्न सजिलो हुन्छ । म उपन्यास लेख्दै-लेख्दै सैद्धान्तिक वा सैद्धान्तिक लेख्दै-लेख्दै उपन्यासमा जान्छु । यसले एउटा समालोचनात्मक दृष्टि विकास गर्छ । त्यसैले म दुई-तीन वटा विधाका किताब सँगसँगै लेखिरहेको हुन्छु ।
तपाईं जहिले पनि फ्याक्ट र फिक्सनको बीचमै सत्य खोजिरहनुहुन्छ, होइन ?
हो, मलाई त्यही मनपर्छ । म सधैं मन्दिर गइरहने धार्मिक मान्छे त होइन, तर काठमाडौंका देवीहरू र मिथकप्रति मेरो ठूलो लगाव छ । काठमाडौं जस्तो सहरमा ज्ञान र पर्फर्मेन्सका १५-२० वटा विभिन्न देवीहरू छन् । यदि हामीले ती देवीहरूलाई केवल धार्मिक नियम-कानूनबाट मात्र हेर्यौं र ‘फिक्सनलाइज’ वा मिथकको पाटोबाट हेरेनौं भने यो हजारौं वर्ष पुरानो उपत्यकाको काल्पनिकतालाई बुझ्नै सकिँदैन । फ्याक्ट र फिक्सन सधैं सँगै आउनुपर्छ । फिक्सनले झुटो बोल्ने होइन, बरु सत्यलाई झन् ग्लोरिफाई बनाउने काम गर्छ । म यी दुवैलाई मिलाउने प्रयास गर्छु ।
तपाईंको आगामी पुस्तक कुन विधामा आउँदैछ?
म अहिले दुईवटा किताबमा काम गरिरहेको छु । एउटा गैर-आख्यान हो । म फ्लोरेन्स (इटाली) जाँदा के देखेँ भने, कला र संस्कृतिका हिसाबले फ्लोरेन्स र काठमाडौंमा धेरै समानता छ । दुवै कलाका सहर हुन् । त्यसैले म मेरी छोरीसँग मिलेर ‘डाइमेन्सन्स अफ आर्ट: फ्रम फ्लोरेन्स टु काठमाडौं’ लेखिरहेको छु ।
अर्को चाहिँ, मलाई प्यालेस्टाइनको युद्ध र त्यहाँ मान्छे मरेको घटनाले एकदमै पीडा दियो । त्यसैले प्यालेस्टाइनका एकजना दिदी-भाइलाई पात्र बनाएर म्याजिकल रियलिस्टिक कथा (आख्यान) लेख्दैछु, जुन ग्याब्रियल गर्सिया मार्खेजको शैलीसँग अलिकति नजिक हुनेछ ।

तस्बिर र भिडियो– शंकर गिरी
प्रतिक्रिया 4