+
+
Shares

आवश्यकता पक्की पुलको, ठेक्का खुल्यो बेलिब्रिजको

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते ८:०६
दिक्तेलबाट लप्से (पंखु) खोला पार गरेर भोजपुरतर्फ जाँदै गरेको जिप ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयले खोटाङको लप्से खोलामा बेलिब्रिज जडान गर्न १ करोड ६३ लाख ६४ हजार ९३४ रुपैयाँको ठेक्का आह्वान गरेको छ ।
  • ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण २०७३ सालमा सुरु भएको पक्की पुल निर्माण अलपत्र परेपछि बेलिब्रिज राख्ने निर्णय गरिएको छ ।
  • वर्षायाममा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा स्थानीयवासी र सवारी साधनले भोग्दै आएको सास्ती अन्त्य गर्न यो योजना अघि सारिएको हो ।

२ असार, खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको लप्से (पंखु) खोलामा बेलिब्रिज सञ्चालन गर्ने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से खोलामा बेलिब्रिज जडानका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले असार ३२ गते ठेक्का आव्हान गरेको छ ।

लप्से खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको अवस्थामा बेलिब्रिज राख्ने तयारी गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठले बताए । बेलिब्रिज जडानका लागि भ्याट र कन्टिन्जेन्सी वाहेक १ करोड ६३ लाख ६४ हजार ९३४ रुपैयाँको ठेक्का खुलाइएको हो ।

चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने लप्से खोलामा २०७३ सालमा सक्नेगरि १५ मिटर लम्बाई भएको पक्की पुल निर्माण सुरु गरिएको थियो तर ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण २०७९ सालमा ठेक्का तोडिएको थियो ।

ठेक्का लागेको ७ वर्ष बित्दा समेत पुल बन्ने छाँटकाँट नदेखिएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले ठेक्का तोड्नका लागि २०७९ मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेको थियो । ठेक्का तोडिएको तीन वर्ष विते पनि सरकारले हालसम्म नयाँ ठेक्का खुलाउन सकेको छैन । पुलको अर्को ठेक्का खुल्ने आशाकाबीचमा बेलिब्रिज जडान गर्ने योजना अघि बढेको हो ।

सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ७ गते ठेक्का सम्झौता गरेको थियो तर निर्माण व्यवसायीले खोलाको दुई किनारामा पिलर ठड्याउने बाहेकका प्रगती देखाउन सकेनन् । पुलको तेश्रोपल्ट थप भएको म्याद २०७७ असोज ३० गते नाघेको थियो । ठडिएका पिलर समेत झाडीले ढाकिसकेको छ भने रडमा खिया परेको देखिन्छ । खोलामा पुल नहुँदा वर्षाको समयमा पैदलयात्री, मालवाहक तथा यात्रुवाहक गाडी, एम्बुलेन्स र बाईक घण्टौं रोकिने गरेका छन् ।

वर्षा याममा बाढी र पहिरो खसेकोबेला लप्से खोलामा बेला–बेला सडक अवरुद्ध हुने गरेको छ । गत जेठ २७ गते राति पहिरोले बाढीको रुप लिएर झरेपछि हप्ता दिनसम्म सडक अवरुद्ध भएको थियो । हाल ह्युमपाइप राखेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, जेठ २३ गते बिहान झरेको बाढीले सडक बगाएपछि सवारी आवागमन नौ घण्टा ठप्प भएको थियो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत लप्से (पंखु) खोलामा अलपत्र पुलको पिलर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?