News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ ।
- बडिमालिका नगरपालिका–६ को बुढीगंगा नदीबाट सारिएको उक्त बेलिब्रिजले बाजुराका चार स्थानीय तहसहित हुम्ला र मुगुका नागरिकलाई आवतजावतमा सहज बनाएको छ ।
- सडक डिभिजन कार्यालय अछामका अनुसार २ करोड १ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न उक्त पुलले बर्खायामको यातायात समस्या समाधान गरेको छ ।
१६ असार, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–२ दानसाँघु खोेलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ । लामो समयदेखि बडिमालिका नगरपालिकाको बुढीगंगा नदीमा थन्किएको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।
बडीमालिका नगरपालिका–६ जडाङ्गास्थित बुढीगंगा नदीमा रहेको उक्त बेलिब्रिज दानसाँघु खोलामा सारेर सञ्चालनमा ल्याइएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले जानकारी दिए ।
दानसाँघु खोलामा पुल नहुँदा समस्या भोग्दै आएका स्थानीयवासीलाई बेलिब्रिज सञ्चालनमा आएपछि बर्खायाममा आवतजावत गर्न सहज भएको उनले बताए ।
नगर प्रमुख बोहराले उक्त खोलामा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय तहका साथै हुम्ला र मुगुलगायत छिमेकी जिल्लाका नागरिकलाई समेत यातायातमा सहजता भएको बताए ।
उक्त बेलिब्रिज करिब २ करोड रुपैयाँ बढीको लागतमा जडाङ्गाबाट मार्तडी–कोल्टी सडकअन्तर्गत दानसाँघु खोलामा सारिएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
बेलिब्रिज निर्माणको ठेक्का डीएस जनकल्याण जेभी काभ्रेले पाएको थियो । चालु आर्थिक वर्षको असार मसान्तभित्र निर्माण कार्य सक्ने गरी भ्याट बाहेक २ करोड १ लाख १० हजार ८१४ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो ।
जडाङ्गास्थित बुढीगंगा नदीमा पक्की पुल बनेपछि वर्षौंसम्म उक्त बेलिब्रिज प्रयोगविहीन बनेको थियो । स्थानीयवासीले लामो समयदेखि दानसाँघु खोलामा पुल निर्माण गर्न माग गर्दै आएका थिए ।
यसअघि उक्त खोलामा पुल नहुँदा वर्षातमा पानीको बहाव बढेर पूर्ण रूपमा यातायात सेवा अवरुद्ध हुने गरेको थियो भने त्यस क्षेत्रका नागरिकले आवतजावतमा समेत सास्ती भोग्दै आएका थिए । उक्त खोलामा बेलिब्रिज निर्माण भएसँगै सहज रूपमा यातायात सञ्चालन भइरहेको यातायात व्यवसायीहरू बताउँछन् ।
बाजुराको पूर्वी–उत्तरी भेगका चार वटा स्थानीय तह बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका जाने लाइफ लाइनका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डका विभिन्न खोलामा पुल नहुँदा यातायातमा समस्या रहँदै आएको छ ।
सदरमुकाम मार्तडी नजिकै रहेको अनाइ खोला र कोल्टीको दानसाँघु खोलामा पुल निर्माण भएर सञ्चालन भए पनि बडीमालिकाको बाउली खोलामा वर्षौं बितिसक्दा पनि पुल निर्माण अलपत्र अवस्थामा छ भने रजातोली खोलामा निर्माणाधीन छ ।
ती खोलामा पुल नहुँदा वर्षातमा करिब तीन महिना मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदै आएको छ । हाल दानसाँघु र अनाइ खोलामा पुल निर्माण सम्पन्न भएको तथा बाउली र रजातोली खोलामा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न भएपछि बाह्रैमास सडकखण्ड सुचारु हुने विश्वास स्थानीयको छ ।
प्रतिक्रिया 4